सम्पादकीय
सन्तान जन्मिएन भनेर मनमा पिर पाल्ने धेरै दम्पतीले, आजका समाजमा आफ्नै सन्तानले आमाबुबामाथि गरेका कुकृत्य सुन्दा, एकछिन त सोच्नेछन्— “हाम्रो सन्तान जन्मिएन, राम्रै भयो।” वास्तवमै, सन्तानको अर्थ केवल रगतको सम्बन्ध होइन— त्यो प्रेम, कर्तव्य, संस्कार र श्रद्धासँग गाँसिएको आत्मीय सूत्र हो।
आमाबुबाले सन्तानको हरेक हाँसोमा संसार देख्छन्। जब पहिलोपटक हातमा सन्तान आउँछ, त्यो क्षणको हर्ष र उल्लास शब्दमा बयान गर्न सकिँदैन। कलिला हातले बुबाको औँला समातेर हिँड्न सिक्दा, आमाको मुहारमा हजारौँ दीप प्रज्वलित हुन्छन्। त्यही सन्तान हुर्काउन ऋण लिने, रातभर जाग्राम बस्ने, आफैं भोका भएर पनि सन्तानको पेट भर्ने अभिभावक— उनीहरूकै श्रम र माया संसारकै महानतम तपस्यासँग तुलना गर्न सकिन्छ।
तर, जब समयको प्रवाहमा सन्तान बढ्छन् र आफ्नै खुट्टामा उभिन्छन्, तब कतिपयका मनमा ‘म’ र ‘मेरो’ को अहंकार पलाउन थाल्छ। सन्तानहरू बिस्तारै मातापिताको सल्लाहलाई अस्विकार गर्छन्, र केही त त्यसभन्दा भयानक बाटोतिर लाग्छन्— जहाँ स्नेह होइन, सम्पत्ति र स्वार्थको भाषा बोलिन्छ।
हालै गुल्मीको मालिका गाउँपालिका–३ मा घटेको हृदयविदारक घटनाले सम्पूर्ण समाजलाई झस्काएको छ। आफ्नै पिता ५० वर्षीय धनबहादुर विकको हत्या गरेको अभियोगमा उनका छोरा २३ वर्षीय भोटबहादुर विक पक्राउ परेका छन्। उनले हँसिया र मुहुरो प्रहार गरेर आफ्नै बुबाको ज्यान लिए। घटनामा उनकी आमासमेत गम्भीर घाइते भएकी छिन्। यो केवल एउटा समाचार होइन, यो मानवीय पतनको संकेत हो— त्यो पतन, जसले संस्कार र मानवीयताको जरा हल्लाइरहेको छ।
वेद–पुराणको सन्देश: मातापिता देवतासमान
ऋग्वेदमा भनिएको छ—
“मातरं पितरं पूज्यं ब्रह्मस्वरूपमित्युच्यते।”
अर्थात्, माता र पिता ब्रह्मस्वरूप हुन्; तिनको सेवा गर्नु नै सर्वोच्च धर्म हो।
महाभारतमा युधिष्ठिरले भीष्म पितामहलाई सोध्छन्— “मानवका लागि सर्वोच्च तीर्थ कुन हो?”
भीष्म उत्तर दिन्छन्—
“पितरं मातरं चैव प्रथमतः पूजयेत्।”
(पहिलो पूजा मातापिता नै हुन्।)
भगवान श्रीरामले पनि वनवासको कठोर निर्णय लिनुभयो— केवल पिताको वचनपालनका लागि। त्यस्तै, श्रवणकुमारले अन्धा मातापिताको सेवा गर्दै तीर्थाटन गरिरहेका बेला, दैवको खेलमा मारिए पनि उनका नाममा सन्तानधर्मको सर्वोच्च उदाहरण संसारमा आज पनि जिउँदो छ।
तर आजको समाजमा ती संस्कारहरू मन्द हुँदै गएका छन्। मोवाइल र भोगप्रधान सोचले पुस्तालाई भावनाहीन बनाइरहेको छ। माया र कर्तव्यको ठाउँमा अब स्वार्थ र विलासीपन बस्न थालेको छ।
नेपाली समाजका दर्पण घटना
नेपालका विभिन्न ठाउँमा हरेक वर्ष वृद्धवृद्धा आश्रममा पुर्याइएका बुबाआमाको कथा पढ्दा मुटु थाम्न गाह्रो हुन्छ। काठमाडौंबाट लिएर रुपन्देही, झापा र पोखरा हुँदै गाउँगाउँका वृद्धाश्रममा भेटिने ती रुन नसक्ने, हाँस्न नसक्ने वृद्धाहरू— ती हाम्रो सामूहिक असंवेदनशीलताको प्रमाण हुन्।
कतिपय सन्तानले सम्पत्तिका लागि बुबाआमामाथि हातपात गर्छन्, धम्की दिन्छन्, घरबाट निकालिदिन्छन्। यी दृश्यहरू सामाजिक पतनका दर्पण हुन्। आफ्नै सन्तानको आक्रमणमा मर्ने त मरेर गए तर वचनको चोटिलो प्रहारले न खुशी भएर जिउन सक्ने, न सन्तोष लिएर मर्न सक्ने अवस्थामा पु र्याइएका मातापिताको असह्य पीडा भरिने मलम सम्भवतः कुनै पनि ब्रह्माण्डमा भेटिदैन ।
समयको नियम र सृष्टिको सन्तुलन
भगवद्गीतामा भगवान श्रीकृष्णले अर्जुनलाई सम्झाउँछन्—
“यद्यदाचरति श्रेष्ठः तत्देवेतरो जनः।”
अर्थात्, श्रेष्ठ जनले जुन आचरण गर्छ, अन्य मानिसले पनि त्यसैको अनुकरण गर्छ।
जब सन्तानले मातापितामाथि दुर्व्यवहार गर्छन्, त्यो केवल अपराध होइन— त्यो सृष्टिको सन्तुलन भंग गर्ने कर्म हो। जसरी भोगेको सुख–दुःख आफ्ना कर्मको फल हुन्छ, त्यस्तै दुर्व्यवहारको प्रतिफल पनि भविष्यले अवश्य चुकाउँछ।
आजको सन्देश
अब यो समाजले एउटा कठोर प्रश्न सामना गर्नुपर्छ— “के हामी आफ्ना सन्तानलाई केवल शिक्षित बनाउँदैछौं, कि संस्कारित पनि?”
विद्यालयहरूले बुद्धि दिन सक्छन्, तर घरले मात्र संस्कार दिन सक्छ। हरेक अभिभावकले अब सन्तानमा ‘श्रवणकुमार’ जस्तो भाव जगाउने जिम्मेवारी लिनुपर्छ।
सन्तान जन्माउनु सहज हो, तर सन्तान संस्कारित बनाउनु तपस्या हो।
यदि हाम्रो समाजमा श्रवण भाव, राधाकृष्णप्रति श्रद्धा, र कर्मयोगको चेतना पुनः जगाइएन भने, कलियुगका यी पाप–भाइरसहरूले साँच्चै मानवता नै “फर्मेट” गरिदिनेछन्।
अब पनि समय छ— सन्तानले सम्झून्,
“माता पिता देवो भव।”
र अभिभावकले सम्झून्,
“संस्कार नै सन्तानको सुरक्षा कवच हो।”
यही पुनर्जागरण आजको नेपालको नैतिक उद्धारको पहिलो पाना बन्नुपर्छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
