सम्पादकीय
कहिलेकाहीँ प्रकृतिले केही यस्ता प्रतिभाहरू जन्माउँछ, जसले उमेरभन्दा धेरै ठूलो सपना बोकेका हुन्छन्। उनीहरूको रुचि, लगाव र समर्पणले भविष्यका सम्भावनाहरूको संकेत गरिरहेको हुन्छ। बुटवलका सात वर्षीय बालक रियांश घिमिरे यस्तै एक उज्यालो सम्भावनाका वाहक हुन्, जसले सानै उमेरमा संगीतप्रतिको आफ्नो असाधारण रुचि र प्रतिभाबाट धेरैलाई आकर्षित गरिरहेका छन्।
रियांश घिमिरे बुटवलस्थित दीप बोर्डिङ स्कूल मा कक्षा २ मा अध्ययनरत छन्। उनका पिता खुमानन्द घिमिरे खाद्यान्न व्यवसायमा संलग्न छन् भने माता मिना शर्मा गृहिणी हुन्। परिवारमा संगीतसँग सम्बन्धित कुनै पुस्तान्तरित विरासत छैन। न त कुनै प्रसिद्ध गायक, वाद्यवादक वा संगीतकर्मीको पृष्ठभूमि नै छ। तर, प्रतिभा र रुचि सधैँ वंशानुगत आधारमै जन्मन्छ भन्ने मान्यता रियांशले गलत सावित गरिरहेका छन्।
सानै उमेरदेखि नै संगीत सुन्न, नाच्न र वाद्यवादन गर्न मन पराउने रियांशलाई विशेष गरी मादल बजाउने तीव्र चाहना थियो। उनी आफ्नै रुचिले मादल बजाउने प्रयास गर्थे। यही रुचिलाई अझ परिष्कृत र व्यवस्थित बनाउन परिवारले केही समयअघि उनलाई बुटवलस्थित रागश्री संगीतालय मा भर्ना गरायो। मादल सिक्ने उद्देश्यले संगीतालय पुगेका रियांशको रुचि विस्तारै तबलातर्फ पनि आकर्षित भयो। आज उनी तबला वादनमा समेत उल्लेखनीय प्रगति गरिरहेका छन्।
बुटवलमा तीन दशकभन्दा बढी समयदेखि संगीत गुरुका रूपमा स्थापित संगीतज्ञ सुरेश सेन्चुरी को मार्गनिर्देशनमा रहेका रियांशले सिकाइको प्रत्येक दिनलाई उपलब्धिमा रूपान्तरण गरिरहेका छन्। संगीत भनेको केवल सीप मात्र होइन, अनुशासन, धैर्य र साधनाको यात्रा पनि हो। सात वर्षको उमेरमा नै यस्ता गुणहरूको विकास हुनु आफैँमा प्रेरणादायी पक्ष हो।
रियांशको प्रतिभालाई उजागर गर्ने एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चित बनेको छ। “यो सम्झिने मन छ, म बिर्सूँ कसरी, तिमी नै भनिदेऊ ए जाने निठुरी” बोलको सदाबहार गीतमा उनले दिएको तबलाको संगतले धेरै संगीतप्रेमीहरूको ध्यान खिचेको छ। झण्डै तीन मिनेट लामो उक्त भिडियोमा उनको लयबोध, तालप्रतिको संवेदनशीलता र आत्मविश्वासले दर्शकहरूलाई आश्चर्यचकित बनाएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको प्रशंसा गर्दै उज्ज्वल भविष्यको शुभकामना दिएका छन्।
यस सफलताको श्रेय केवल बालकको प्रतिभालाई मात्र दिन मिल्दैन। यसमा परिवार, विद्यालय र संगीत गुरुको संयुक्त योगदान पनि उत्तिकै महत्त्वपूर्ण छ। विशेष गरी दीप बोर्डिङ स्कूल ले विद्यार्थीहरूको शैक्षिक उन्नयनसँगै सर्वाङ्गीण विकासमा जोड दिँदै आएको छ। विद्यालयले सिर्जनात्मक क्षमता विकासका लागि निर्माण गरेको वातावरणले पनि रियांशजस्ता प्रतिभाहरूलाई आत्मविश्वासका साथ अघि बढ्न मद्दत गरेको देखिन्छ।
आजको समाजमा अभिभावकहरू प्रायः आफ्ना सन्तानलाई केवल शैक्षिक उपलब्धिमा केन्द्रित गराउन खोज्ने प्रवृत्ति बढ्दो छ। तर प्रत्येक बालबालिकाभित्र कुनै न कुनै विशेष क्षमता लुकेको हुन्छ। त्यसलाई पहिचान गरी उचित अवसर प्रदान गर्नु अभिभावक, विद्यालय र समाजको साझा दायित्व हो। रियांशका अभिभावकले उनको जन्मजात प्रतिभालाई संरक्षण र प्रवर्द्धन गर्न रागश्री संगीतालयको छनोट गरेर यही जिम्मेवारीको उदाहरण प्रस्तुत गरेका छन्।
प्रकृति आनन्द, सौम्यता, मधुरता र सुन्दरताको सागरले भरिपूर्ण छ। यही सागरांश लिएर जन्मिएका व्यक्तित्व हुन् रियांश भन्न सकिन्छ । संगीत त्यही प्रकृतिको एक सुन्दर अभिव्यक्ति हो। संगीतले मानिसलाई संवेदनशील, अनुशासित र सिर्जनशील बनाउँछ। रियांशभित्र देखिएको सांगीतिक अनुराग केवल व्यक्तिगत रुचि मात्र होइन, भविष्यमा नेपाली संगीत क्षेत्रका लागि आशाको किरण पनि हो।
नेपाली समाजमा एउटा उखान छ—“हुनी बिरुवाको चिल्लो पात।” सात वर्षे रियांशको सांगीतिक यात्रा हेर्दा यो उखानको सार्थकता झल्किन्छ। आज उनले तबलाको तालमा श्रोताको मन जितिरहेका छन् भने भोलि नेपाली संगीत क्षेत्रको पहिचान बन्ने सम्भावना पनि त्यत्तिकै प्रबल देखिन्छ।
बाल प्रतिभाहरूलाई उचित अवसर, प्रोत्साहन र मार्गदर्शन उपलब्ध गराउन सकियो भने उनीहरू केवल आफ्नो परिवारको गौरव मात्र बन्दैनन्, समाज र राष्ट्रको सम्पत्ति बन्न सक्छन्। रियांश घिमिरेको उज्यालो यात्रा त्यसैको एक सुन्दर उदाहरण हो।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
