श्रीमद्भगवद् गीता यथारूप – अध्याय २, श्लोक १९ देखि २१ को सारभाव
श्रीमद्भगवद्गीताका श्लोकहरू केवल धार्मिक उपदेश होइनन्, बरु मानसिक स्वास्थ्य, जीवनदृष्टि र व्यवहारिक दर्शनका अमूल्य सूत्रहरू हुन्, जसको आवश्यकता
आजका युवाहरूलाई झनै बढी छ।
श्लोक १९
य एनं वेत्ति हन्तारं यश्चैनं मन्यते हतम् ।
उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते ।।
शाब्दिक अर्थ
जो यो (आत्मालाई) हन्ता (मार्नेवाला) ठान्दछ र जो यो मारेको (हत) भएको हो भन्छ, ती दुवै अज्ञानी छन्। आत्मा न त कसैलाई मार्दछ, न कसैले आत्मालाई मार्न सक्छ।
तात्पर्य (युवावर्गलाई सन्देश)
युवाहरुले बुझ्नुपर्ने कुरा के हो भने, जीवनको गहिरो सत्य यो हो कि हामी केवल शरीर होइनौं – हाम्रो वास्तविकता आत्मा हो। शरीर नाश हुन्छ, तर आत्मा नाश हुँदैन। आजको समयमा युवाहरु अनावश्यक भय, क्रोध, द्वेष र आत्मघाती सोचले ग्रस्त छन्। तर यदि आत्माको नाश नै हुँदैन भने, कसैले कसैलाई वास्तवमा मारेको हुँदैन, आत्मा केवल शरीर रूपी वस्त्र बदल्दछ।
युवाहरुलाई आग्रह: आत्माको अमरता बुझ, निराशा हटाऊ, र जीवनप्रति सकारात्मक बन।
श्लोक २०
न जायते म्रियते वा कदाचिन् नायं भूत्वा भविता वा न भूयः ।
अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे ।।
शाब्दिक अर्थ
आत्माको कहिल्यै जन्म हुँदैन, मृत्यु पनि हुँदैन। यो न त उत्पन्न हुन्छ, न फेरि कहिल्यै नष्ट हुन्छ। यो अजन्मा, सदा रहने, सनातन, अति पुरातन हो। शरीर नष्ट हुँदा पनि आत्मा नष्ट हुँदैन।
तात्पर्य (युवावर्गलाई सन्देश)
युवावस्थामा हामी जीवनको अस्थायी समस्यालाई स्थायी सम्झेर चिन्तित हुन्छौं। परीक्षा, सम्बन्ध, करियर, प्रतिष्ठा – यिनमा असफल हुँदा आफूलाई समाप्त भएको सम्झिन्छौं।
तर भगवद्गीताले सिकाउँछ –
“तिमी अजन्मा हौ, सनातन हौ, एउटा नाशवान शरीर मात्र होइनौं।”
यो आत्मज्ञानले युवालाई साहसी, धैर्यवान, आत्म-निर्भर र आत्म-नियन्त्रित बनाउँछ।
श्लोक २१
वेदाविनाशिनं नित्यं य एनमजमव्ययम् ।
कथं स पुरुषः पार्थ कं घातयति हन्ति कम् ।।
शाब्दिक अर्थ
हे पार्थ! जो व्यक्ति आत्मालाई नाशरहित, नित्य, अजन्मा र अविनाशी जान्दछ, ऊ कसरी कसैलाई मार्न सक्छ वा कसरी कसैलाई मार्न लगाउँछ?
तात्पर्य (युवावर्गलाई सन्देश)
जब युवा आत्माको अमरता बुझ्दछन्, तब उनीहरूमा करुणा, संयम र विवेक जागृत हुन्छ। हिंसा, द्वेष र प्रतिशोधको भावना एक अज्ञानको लक्षण हो।
यथार्थ बोध भएपछि युवा:
सारांश सन्देश (युवाहरुका लागि)
-जीवन सधैं नै आत्माको यात्रा हो, शरीर त एक साधन मात्र हो।
-परिवर्तनले डराउनु पर्दैन, किनकि सत्य आत्मा कहिल्यै मर्दैन।
-निराशा, हिंसा र कमजोरी आत्मासँग मेल खाँदैन – तिमी नाशवान होइनौं, सनातन हौ।
आजको युवापुस्ता यदि गीता सन्देश आत्मसात गर्छन् भने: मानसिक रोग, डिप्रेसन, हिंसा, आत्महत्या घट्छ । आत्मानुशासन, कर्मयोग, सेवा र सनातन मूल्यले समाज बलियो बन्छ।
– चेतनाको जागरणबाट नै युवाशक्तिको निर्माण सम्भव छ।
🕉 जय श्रीराधाकृष्ण।