logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

श्रीमद्भगवद्गीता यथारूप – अध्याय ३ः कर्मयोग, श्लोक १६–१८ सम्म भावार्थ एवं व्याख्या

श्रीमद्भगवद्गीता यथारूप – अध्याय ३ः कर्मयोग, श्लोक १६–१८ सम्म भावार्थ एवं व्याख्या


  • आइतबार, जेष्ठ १८ २०८२
  • 2.4K
    SHARES

    भूमिका:

    आजको युगमा युवाहरूले बाह्य उपलब्धिलाई मात्र सफलता ठान्ने प्रवृत्ति बढ्दो छ – राम्रो जागिर, ठूलो घर, विलासी जीवनशैली। तर गीता भन्छ, कर्म गर्नुहोस्, कर्तव्यबोधका साथ, फलको मोह बिना। यज्ञचक्रअनुसार कर्म गर्दा मात्र जीवन पूर्ण हुन्छ। आत्मासँगको सम्बन्ध बुझ्नेबित्तिकै बाह्य चाहनाहरू स्वतः क्षीण हुन्छन्।

    श्लोक १६

    एवं प्रवर्तितं चक्रं नानुवर्तयतीह य: ।
    अघायुरिन्द्रियारामो मोघं पार्थ स जीवति ॥१६॥

    भावार्थ:
    हे अर्जुन! जसले यस संसारमा वेदमार्गले निर्धारण गरेको कर्मको चक्र (कर्तव्य–पालनको शृङ्खला) अनुसार आचरण गर्दैन, र केवल इन्द्रियहरूको भोगमै रमाउँछ, उसले व्यर्थ जीवन बिताउँछ। उसको जीवन पापले भरिएको हुन्छ।

    व्याख्या:
    सृष्टिको चक्र – यज्ञ, देवता, वर्षा, अन्न, जीव, कर्म – यो परस्पर जोडिएको छ। जसले आफ्नो स्वार्थमा मात्र रमाएर समाज र प्रकृतिप्रति उत्तरदायित्व वहन गर्दैन, उसले जीवनको सार गुमाउँछ। कर्मबाट विमुख जीवन निष्फल हुन्छ।

    श्लोक १७

    यस्त्वात्मरतिरेव स्यादात्मतृप्तश्च मानव: ।
    आत्मन्येव च सन्तुष्टस्तस्य कार्यं न विद्यते ॥१७॥

    भावार्थ:
    जो व्यक्ति आफैमा रमाउने, आत्मामा सन्तुष्ट रहने र आत्मसाक्षात्कारद्वारा आत्मातृप्त भएको छ, उसको लागि कुनै कर्तव्य बाँकी रहँदैन।

    व्याख्या:
    जो व्यक्ति आत्मज्ञानमा स्थित छ, उसले बाह्य फल वा स्वार्थका लागि कर्म गर्दैन। यद्यपि उसले कर्म त्यागेको हुँदैन, तर ऊ आफ्नो अन्तरात्माको आनन्दमा पूर्ण सन्तुष्ट हुन्छ। उसले समाजका लागि कर्म गर्दा पनि त्यसको मोह बन्धनमा बाँधिदैन ।

    श्लोक १८

    नैव तस्य कृतेनार्थो नाकृतेनेह कश्चन ।
    न चास्य सर्वभूतेषु कश्चिदर्थव्यपाश्रय: ॥१८॥

    भावार्थ:
    आत्मा (पुरुष)लाई न त कुनै निर्धारित कर्तव्य गर्नैपर्ने बाध्यता हुन्छ, न त यस किसिमको कार्य सम्पन्न नगर्नुका पछाडि कुनै कारणा नै हुन्छ । उसलाई कुनै अरु जीवात्मामाथि निर्भर रहने आवश्यकता समेत पर्दैन ।

    व्याख्या:
    आत्मज्ञानी योगीका लागि कर्म बाँध्ने कुरा होइन। उसले कर्म गर्छ तर फलप्राप्तिको आशामा होइन। न त ऊ अरुका सहायतामा निर्भर हुन्छ, न त ऊ अरुलाई आफ्नो उद्देश्य प्राप्तिका लागि प्रयोग गर्छ। उसको जीवन स्वतन्त्र, निःस्वार्थ र समर्पित हुन्छ।

    आधुनिक युवाहरूका लागि विशेष सन्देश:

    -कर्तव्यमा विश्वास राख्नुहोस्: तपाईंको कर्मले नै तपाईंलाई पहिचान दिन्छ, फलप्राप्तिको चिन्ता नगरी कर्म गरिरहनुहोस्।

    -समाजप्रति जिम्मेवारी महसुस गर्नुहोस्: केवल आफ्नो प्रगतिको लागि होइन, समाज, प्रकृति, र सृष्टिको सन्तुलनका लागि पनि योगदान पुर्याउनु आवश्यक छ।

    -भोगभन्दा आत्मानन्द उच्च छ: भौतिक सुख सीमित र क्षणिक छन्। आत्मिक आनन्द स्थायी र सन्तुलित जीवनको आधार हो।

    -स्वाध्याय र आत्ममन्थनको अभ्यास गर्नुहोस्: आत्मसाक्षात्कारतर्फको यात्राले नै तपाईंलाई स्थिरता, सच्चा सुख र सन्तोष दिन्छ।

    -स्वावलम्बी र निःस्वार्थ बन्नुहोस्: गीता सिकाउँछ – अरुको सहारामा होइन, आत्मबलमा जीवन अगाडि बढाउनु सच्चा कर्मयोग हो।

    🕉 जय श्रीराधाकृष्ण! जय सनातन धर्म ! जय सनातन राष्ट्र नेपाल !

    प्रकाशित : आइतबार, १८ जेष्ठ २०८२ , ०६:४१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend