logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

को हुन् राधा, सीता र पार्वतीजीकी आमा? पितृहरूको तीन मानसी छोरीहरूको कथा

को हुन् राधा, सीता र पार्वतीजीकी आमा? पितृहरूको तीन मानसी छोरीहरूको कथा


  • शनिबार, जेष्ठ २४ २०८२
  • 949
    SHARES

    जगदम्बिका माता पार्वती, सीता मैयाराधारानी जीको आपसमा सम्बन्ध छ। हो, सायद तपाईंले पनि पितृहरूको मानसी पुत्रीहरू बारेमा सुन्नु वा पढ्नुभएको होला। आज पितृपक्षको अवसरमा, तपाईंलाई श्री शिवमहापुराण बाट त्यहीँ एक कथा सुनाउँछौं, जुन पितृहरूको मानसी छोरीहरू सँग सम्बन्धित छ। यस कथामा उनीहरूले पाएको श्राप नै पछि उनीहरूका लागि वरदान बन्यो।

    पूर्वकालमा प्रजापति दक्षका साठी छोरीहरू थिए, जसको विवाह उनले ऋषि कश्यप आदि सँग गराइदिए। ती छोरीहरूमध्ये स्वधा नामक छोरीको विवाह दक्षले पितृहरू सँग गराए। केही समयपछि पितृहरूको मनबाट उत्पन्न तीन छोरीहरू स्वधालाई प्राप्त भए। जेठी छोरीको नाम मेना, मझौलीको नाम धन्या, र कान्छी छोरीको नाम कलावती थियो। यी तीनै जना छोरीहरू अति सौभाग्यशाली थिए।

    एक दिन यी तीनै बहिनीहरू, भगवान् विष्णुको दर्शन गर्न श्वेतद्वीप गइन। भगवान् विष्णुको दर्शन गरेर, प्रभुको आज्ञाबाट उनीहरू त्यहीँ रोकिइन्। त्यतिबेला त्यहाँ ठूलो समाज एकत्रित भएको थियो। त्यस समाजमा अरू सबैसँगै ब्रह्माजीका पुत्र सनकादि मुनिहरू पनि उपस्थित थिए।

    सनकादि मुनिहरू त्यहाँ आउँदा सबैले उनलाई नमस्कार गरे र आ-आफ्नो स्थानबाट उठे। तर महादेवको मायाबाट मोहित भएर तीनै बहिनीहरू त्यहीँ आफ्नो स्थानमा बसिरहिन् र मुनिहरूलाई विस्मित भएर हेरिरहिन्। भनिन्छ, शिवजीको माया अत्यन्त प्रबल हुन्छ, जसले सबैलाई आफ्नो अधीनमा राख्दछ, अर्थात् उनको इच्छाबिना केही हुँदैन।

    सनकादिहरूको स्वागत सत्कारमा जब तीन बहिनीहरू उठिनन्, तब ती महान ज्ञानी मुनिहरू रिसाए। सनत्कुमारले उनीहरूलाई दण्ड दिनका लागि श्राप दिए।

    सनत्कुमारले भने, “तिमीहरू तीन बहिनीहरू पितृहरूको छोरी हौं, तर पनि मूर्ख, सत्ज्ञानविहीन र वेदतत्वको ज्ञानबाट खाली छौ। अहंकारका कारण तिमीहरूले हाम्रो अभिवादन गरिनौ, र तिमीहरू नरभावबाट मोहित भयौ। त्यसैले तिमीहरू स्वर्गबाट टाढा भएर, मानव स्त्री बन्नेछौ।”

    जब शिवजीको माया उनीहरूबाट हट्यो, तब ती तीनै बहिनीहरू सनकादिका चरणमा लम्पसार परिन् र भनिन्, “हामी मूर्ख भएर तपाईंको सत्कार गर्न सकेनौं। आफ्नो कर्मको फल हामीलाई स्वीकार छ। कृपया, हामीलाई क्षमा गर्नुहोस्। हे महामुने! कृपया हामीमाथि दया गर्नुहोस् र हामीले फेरि स्वर्ग लोक प्राप्त गर्न सकौं, त्यसको उपाय बताउनुहोस्।”

    ती साध्वी कन्याहरूको विनम्रताबाट प्रसन्न भई सनत्कुमारले भने, “जेठी छोरी विष्णुका अंशभूत हिमालय पर्वतकी पत्नी हुनेछिन्, जसकी पुत्री स्वयं माता पार्वती हुनेछन्।

    धन्या नामक मझौली छोरीको विवाह राजा सीरध्वज जनक सँग हुनेछ, जसकी पुत्री स्वयं लक्ष्मीजीको अंश स्वरूप सीता हुनेछन्।

    तेस्रो र कान्छी छोरी कलावती को विवाह वृषभानु सँग हुनेछ, जसकी पुत्रीको रूपमा श्री राधारानी द्वापर युगको अन्त्यमा प्रकट हुनेछन्।

    यसरी यी तीनै बहिनीहरू, तीन महान देविहरूकी आमा हुने सौभाग्य प्राप्त गर्नेछिन् र समयमा आफ्नो पतिको साथमा स्वर्ग जान पाउनेछिन्।”

    सनत्कुमारले तिनीहरूलाई आशीर्वाद दिंदै भने, “महादेवको भक्तिका फलस्वरूप यी तीनै बहिनीहरू सधैं पूजनीय रहनेछन्।”

    पछि पितृहरूको जेठी छोरी मेना को विवाह हिमालय पर्वत सँग भयो र उनले पुत्रीको रूपमा माता पार्वती प्राप्त गरिन्। पार्वतीले शिवजीलाई पतिरूपमा प्राप्त गर्न कठोर तपस्या गरिन् र छोरीको वरदान स्वरूप मेना र उनका पति हिमालय, त्यसै शरीरमा कैलाश गए।

    त्यस्तै, धन्या को विवाह जनकवंश मा जन्मिएका राजा सीरध्वज सँग भयो, र उनीहरूले सीता जस्ती पुत्री प्राप्त गरे। सीता जीको विवाह विष्णुका अवतार श्रीराम सँग भयो। स्वयं श्री लक्ष्मी जसकी पुत्री भइन्, ती साध्वी माता धन्या आफ्नो पतिको साथ वैकुण्ठलोक पुगे।

    सबैभन्दा कान्छी छोरी कलावती को विवाह वृषभानुजी सँग भयो र उनले श्री राधारानी जस्ती पुत्री पाइन। उनी पनि अन्ततः आफ्नी पुत्री सँगै गोलोक पुगिन्।

    यसरी पितृहरूको मानसी पुत्रीहरूलाई प्राप्त श्राप नै अन्ततः उनीहरूको उद्धारको कारण बन्यो। मानव योनिमा आए पनि, तीनै बहिनीहरूले क्रमशः शिवलोक, वैकुण्ठगोलोक प्राप्त गरे।

    सनक, सनन्दन, सनातन र सनत्कुमार — सनत्कुमार ऋषिहरूको परिचय

    सनक, सनन्दन, सनातन र सनत्कुमार — यी चारजना ऋषिहरूलाई एकै साथ सनत्कुमारगण भनेर चिनिन्छ। हिन्दू धर्मग्रन्थहरूमा यी चारैजना अति प्राचीन ऋषिहरूका रूपमा वर्णित छन्, जो सनातन ज्ञान, योग, वैराग्यभक्ति मार्गका मार्गदर्शक मानिन्छन्।

    उत्पत्ति र स्वरूप

    यी चारै ऋषिहरू भगवान् ब्रह्माका मानसपुत्र हुन्, अर्थात् ब्रह्माजीको मनबाट उत्पन्न भएका पुत्र। ब्रह्माले सृष्टि विस्तारका लागि तिनलाई सन्तानोत्पत्ति गर्ने कार्यमा लगाउन चाहे तर उनीहरू पूर्ण वैराग्ययुक्त रहे। संसारिक मोहबाट पूर्णरूपले रहित भएर तिनले आजीवन ब्रह्मचर्य व्रत पालन गर्ने संकल्प गरे।

    सदाचारका मूर्तिमान प्रतीक

    सनत्कुमार ऋषिहरू नित्य ब्रह्मचारी, योगीज्ञान-भक्तिमा लीन व्यक्तित्व थिए। उनीहरू सबै सृष्टिमा ज्ञानको तेज फैलाउने, योग र आत्मज्ञानका माध्यमबाट जीवात्मालाई परमात्मासँग जोड्ने कार्यमा समर्पित थिए।

    बालक रूपमै चिरजीवी

    हिन्दू पुराणहरू अनुसार यी ऋषिहरूले कहिल्यै बुढ्यौली ग्रहण गरेनन्। बालक रूपमै चिरञ्जीवी रहेर, उनीहरू नित्य ब्रह्मचर्य जीवन बिताइरहेका छन्। त्यसैले, कहिल्यै वृद्ध नहुने, सदा बालकजस्तै रहने तर अत्यन्त ज्ञानी र तपस्वी मुनिहरूको रूपमा सम्मान गरिन्छ। यी ऋषिहरु पाँच वर्षका आयुका छन् । यिनीहरुको आयु कहिल्यै बढ्दैन, सदैव बालक स्वरुपमै रहन्छन् ।

    परमज्ञानका धारक

    सनकादि मुनिहरू वेदान्त, उपनिषद्, संन्यास, वैराग्य र ब्रह्मविद्याका मूर्धन्य ज्ञाता थिए। भगवद्गीता, उपनिषद्, शिवपुराण, भागवतपुराण जस्ता ग्रन्थहरूमा तिनको नाम उच्च सम्मानका साथ उल्लेख गरिएको छ।

    उदाहरणस्वरूप, भागवतपुराण मा उल्लेख छ कि सनकादि मुनिहरू नै पहिले भगवान् विष्णुका दर्शन गर्न वैकुण्ठ लोक गएका थिए, जहाँ जय–विजयले तिनलाई नचिनेर रोकिदिए। यसै कारण जय-विजयलाई श्राप दिइयो र उनीहरू हिरण्याक्ष–हिरण्यकश्यपु, रावण–कुम्भकर्ण आदि राक्षसका रूपमा जन्मिए।

    धर्मको रक्षक र पथप्रदर्शक

    सनकादि मुनिहरूले योगमार्ग, ज्ञानमार्ग र तपस्यामार्फत मोक्ष प्राप्तिको बाटो देखाए। उनीहरू सतत तपस्यामा लीन भई संसारलाई धर्म र आत्मज्ञानको मार्गमा लैजाने गुरुहरू हुन्।

    चारै सनत्कुमारहरू छोटकरीमा:

    नाम विशेषता
    सनक जेठा मानसपुत्र, वैराग्य र ज्ञानका मूर्धन्य
    सनन्दन आत्मज्ञान र तपस्यामा निपुण
    सनातन सनातन धर्म र सृष्टि दर्शनका ज्ञाता
    सनत्कुमार शिष्यवत् व्यवहार र उपदेशका आदर्श गुरु

    सनक, सनन्दन, सनातन र सनत्कुमार केवल ऋषिमात्र होइनन्, ती नित्य ब्रह्मचारी र सनातन धर्मका स्तम्भहरू हुन्। तिनीहरूको जीवनले आत्मा, ज्ञान, वैराग्य र मोक्षको मार्गमा हामीलाई प्रकाश देखाउँछ।

    प्रकाशित : शनिबार, २४ जेष्ठ २०८२ , ०७:२३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend