लोकसारथि, माघ १५ । रामपुर नगरपालिकाले विद्यालय शिक्षालाई प्रभावकारी बनाउन स्थानीय स्रोतसाधनको प्रयोग गरी शैक्षिक सामग्री निर्माणको पहल थालेको छ। नगरभित्रका ६० विद्यालयका शिक्षकहरूलाई शैक्षिक सामग्री निर्माणसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिएपछि यस अभियानको सुरुवात भएको हो।
नगरपालिकाले बाहिरबाट सामग्री खरिद गर्नुभन्दा स्थानीयस्तरमै उपलब्ध स्रोतसाधनको उपयोग गरी शिक्षणका लागि आवश्यक सामग्री निर्माण गर्ने योजना अघि सारेको छ। यसै उद्देश्यका लागि प्राथमिक तहका ३० र माध्यमिक तहका ३० शिक्षकलाई शैक्षिक सामग्री निर्माणसम्बन्धी तालिम दिइएको छ।
नगर शिक्षा अधिकृत विकल काफ्लेका अनुसार शिक्षणमा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक शिक्षणले महत्त्वपूर्ण भूमिका खेल्छ। “विद्यार्थीलाई सरल र प्रभावकारी रूपमा पाठ बुझाउन शिक्षकहरूलाई स्थानीय स्रोतको उपयोग गरेर सामग्री निर्माण गर्ने सीप प्रदान गरिएको हो,” काफ्लेले बताए।
नगर उपप्रमुख बालकुमारी थापाले शैक्षिक सुधारका लागि ‘बुक फ्रि फ्राइडे’ लगायतका रचनात्मक कार्यक्रम सञ्चालन भइरहेको र कक्षाकोठामा हुने शिक्षणलाई अझ प्रभावकारी बनाउन शैक्षिक सामग्री निर्माणको प्रक्रिया थालिएको बताइन्।
तालिममा सहभागी शिक्षकहरूलाई सामग्री बनाउने तरिका, यसको व्यवस्थापन, प्रयोग विधि, स्रोतसाधनको संकलन, र कक्षाकोठामा सामग्री प्रस्तुत गर्ने तरिकाबारे जानकारी दिइएको छ।
थोरै समय र बिनालगानी स्थानीय सामग्री प्रयोग गरी निर्माण गरिएका सामग्रीले शिक्षणलाई रमाइलो, सरल र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। यस कदमले रामपुर नगरपालिकाका विद्यालयहरूमा गुणस्तरीय शिक्षाको नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
