logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

कनकासुन्दरी माविमा तोडफोड र आगजनी प्रयास, डिजिटल सामग्रीमा ठूलो क्षति

कनकासुन्दरी माविमा तोडफोड र आगजनी प्रयास, डिजिटल सामग्रीमा ठूलो क्षति


  • सोमबार, जेष्ठ २५ २०८३
  • 1.5K
    SHARES

    लोकसारथि संवाददाता, जुम्ला ।

    जुम्लाको कनकासुन्दरी गाउँपालिका–५, लुड्कुस्थित कनकासुन्दरी माध्यमिक विद्यालयमा पहिचान नखुलेको समूहले तोडफोड तथा आगजनीको प्रयास गरेको छ। जेठ २१ गते राति विद्यालय परिसरमा प्रवेश गरेको उक्त समूहले विद्यालयका डिजिटल उपकरण, शैक्षिक सामग्री तथा पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको विद्यालय प्रशासनले जनाएको छ।

    विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेका अनुसार राति करिब ९ बजेपछि विद्यालय परिसरमा प्रवेश गरेको समूहले मुख्य विद्युत लाइनको एमसीबी बन्द गरी विद्युतका तारहरू काटेको थियो। त्यसपछि कार्यालय तथा कक्षाकोठामा रहेका विभिन्न सामग्रीमा तोडफोड गरिएको थियो।

    तोडफोडका क्रममा १० वटा कम्प्युटरका सीपीयू, दुई वटा ल्यापटप, स्मार्ट डिजिटल बोर्डको पावर केबल, ई–हाजिर प्रणाली, तीन वटा सीसीटीभी क्यामेरा, आरजे केबल, पाँच वटा हेड माइक, माइक हर्न तथा दुई वटा प्रोजेक्टरमा क्षति पुगेको विद्यालयले जनाएको छ।

    विद्यालय प्रशासनका अनुसार केही सामग्री विद्यालयबाट करिब १०० मिटर तल खोलाको किनारमा फालिएको अवस्थामा फेला परेको छ। त्यहाँबाट भित्ते घडी, डेस्कटप कम्प्युटर तथा सीसीटीभी क्यामेरा लगायतका सामग्री बरामद गरिएको छ।

    घटनाको सबैभन्दा गम्भीर पक्ष कक्षा ११ का विद्यार्थीहरूको परीक्षाका उत्तरपुस्तिका जलाउने प्रयास रहेको विद्यालयले जनाएको छ। सुरक्षित रूपमा राखिएका उत्तरपुस्तिकामा आगो लगाइएको र केही उत्तरपुस्तिका आंशिक रूपमा जलेको अवस्थामा फेला परेको प्रधानाध्यापक न्यौपानेले जानकारी दिनुभयो।

    घटनाको कारणबारे अनुसन्धान जारी रहे पनि परीक्षा वा विद्यालयसँग सम्बन्धित कुनै रिसइबीका कारण यस्तो घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

    कनकासुन्दरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवन रोकायाले शैक्षिक संस्थामाथि भएको यस्तो आपराधिक गतिविधि अत्यन्त दुःखद र निन्दनीय भएको बताउनुभयो। दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गर्दै उहाँले विद्यालयमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी पुनःस्थापनाका लागि गाउँपालिकाले आवश्यक पहल गर्ने जानकारी दिनुभयो।

    विद्यालयका निमित्त प्रधानाध्यापक मरिचमान काफ्लेद्वारा हस्ताक्षरित पत्रमार्फत प्रहरी चौकी गोठिज्युला, जुम्लालाई घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न अनुरोध गरिएको छ। हाल प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी प्रारम्भिक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

    प्रकाशित : सोमबार, २५ जेष्ठ २०८३ , ०२:३० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend