logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

सम्झनाको गीत, भाग–१२

सम्झनाको गीत, भाग–१२


  • मंगलबार, फाल्गुन २७ २०८१
  • 3.9K
    SHARES

    याद आउँछ जीवनसाथीको पलपल घरिघरि
    जानेले त याद लैजानूँ, नलैजाने किन फेरि
    जीवन दिएर खोस्नैपर्ने कालको जालले घेरी
    मन रोला पनि नभन्ने नियतिले गर्छ अटेरी

    देखभेट नहुने पारी गइसकेको मान्छेसँग
    मागेर जीवन नफर्किने, हुँदैन नियम भंग
    कस्तो हो यो समयको रेखा
    बदलिँदैन त्यो भाग्यको लेखा
    छोडी जाने मान्छेको तस्वीर घुम्छ आँखाभरि
    जानेले त याद लैजानूँ, नलैजाने किन फेरि

    जुट्ने र छुट्ने मिति कर्मकै त होला फल
    जन्म र मृत्यु अटल, हाल्न पाइँदैन खलल
    बुझ्नसके कुरा हुन्न पीडा मनमा
    जे पनि हुनसक्छ यो जीवनमा
    मनले जसलाई आफ्नो ठान्छ उही जान्छ मरी
    जानेले त याद लैजानूँ, नलैजाने किन फेरि

    सुखीखुशी जीवन हो कर्मकै जोडघटाउ
    सत्कर्म गर्न नसके थपिन्छ घाउमाथि घाउ
    शायद मेरै कर्ममा दोष थियो
    कालले मलाई किन होश दियो
    जानेले त याद लैजानूँ, नलैजाने किन फेरि

    जीवनमा हमसफर बिना यति एक्लो हुनुपर्ने
    हाँस्ने अनुमति छैन सधैँ उदासीमा रुनुपर्ने
    सँगै छँदा लाग्ने रहेछ कति सस्तो
    कसैको जीवन नहोस् मेरो जस्तो
    आँखाको बार्दलीमा आज लाग्यो आँसुको झरी
    जानेले त याद लैजानूँ, नलैजाने किन फेरि

    गीतको भावार्थ;

    यो गीत प्रेम, वियोग, र जीवनका अनिश्चितताहरूको मार्मिक अभिव्यक्ति हो। गीतकारले आफ्नो जीवनसाथी गुमाएको पीडालाई गहिरो भावनात्मक रूपमा प्रस्तुत गरेका छन्। उनले भन्न खोजेका छन् कि गएकाले त आफ्नो सम्झनाहरूसँगै नलैजानु नि, तर लैजाँदैनन् ।

    गीतले मृत्युको अटल सत्यलाई स्वीकार गर्दै पनि प्रेमको गहिरो संवेदनालाई उजागर गर्छ। जीवन र मृत्यु त प्रकृतिको नियम हो, तर बिछोडले मनलाई पिरोल्ने कुरा स्वाभाविक छ। प्रिय व्यक्ति गुमाउँदाको पीडाले मन थलिन्छ, तर नियतिले अटेरी गरी यो बियोग भोग्न बाध्य बनाउँछ।

    गीतकारले कर्म र भाग्यको सम्बन्धलाई पनि व्याख्या गरेका छन्। जीवनमा जसले दुःख दिएको छ, त्यो कर्मकै प्रतिफल हुन सक्छ। सत्कर्म नगरे जीवनमा दुखाइ मात्र थपिन्छ भन्ने विचार व्यक्त गरिएको छ। आफ्ना कर्महरू नै आफ्नो पीडाको कारण हुन् कि भन्ने प्रश्नले मनमा द्वन्द्व सिर्जना गर्छ।

    साथीविहीन जीवनको एकलोपन अत्यन्त पीडादायक हुने कुरा गीतमा झल्किएको छ। सँगै हुँदा जसलाई सस्तो लाग्थ्यो, त्यो व्यक्ति गुमेपछि मात्र उसको महत्व बुझ्न सकिन्छ। गीतको अन्त्यमा आँसुको झरीले मनका गहिरा भावनाहरू पोखिएका छन्, जसले विछोडको असह्य पीडालाई स्पष्ट रूपमा व्यक्त गर्छ।

    समग्रमा, यो गीत जीवन, माया, विछोड, र अस्तित्वका गहिरा पक्षहरूको भावनात्मक चित्रण हो, जसले श्रोतालाई आफ्नै अनुभवहरूसँग जोडिन बाध्य पार्छ।

    प्रकाशित : मंगलबार, २७ फाल्गुन २०८१ , ०१:१७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend