logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

म्याग्दीमा ४७ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविका नै स्वास्थ्य बीमाबाहिर

म्याग्दीमा ४७ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविका नै स्वास्थ्य बीमाबाहिर


  • शनिबार, चैत्र ३० २०८१
  • 975
    SHARES

    स्वास्थ्यकर्मीहरू स्वयं नै बीमाको पहुँचबाहिर, सेवाको प्रभावकारितामै प्रश्न उठ्दै

    लोकसारथि, ३० चैत । स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच सुनिश्चित गर्न सञ्चालन गरिएको स्वास्थ्य बीमा कार्यक्रममा म्याग्दी जिल्लामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय संख्या नै सहभागी नभएको तथ्यांक सार्वजनिक भएको छ।

    स्वास्थ्य बीमा बोर्ड म्याग्दीका प्रमुख उपेन्द्र बरालका अनुसार जिल्लाभर कार्यरत ३७२ जना महिला स्वास्थ्य स्वयंसेविकामध्ये १९८ जना मात्र स्वास्थ्य बीमामा आवद्ध छन्। यो संख्या कुलको करिब ४७ प्रतिशत हो, जसले बीमा सेवा लिइसकेका छैनन्। सरकारले स्वयंसेविकाको परिवारलाई निःशुल्क बीमा सुविधा उपलब्ध गराउने व्यवस्था गरेको भए पनि सेवा पहुँचमा चुनौती देखिएको विश्लेषण गरिएको छ।

    हालसम्म म्याग्दी जिल्लामा १४ हजार ६२४ परिवारका ४० हजार ६४८ जनाले स्वास्थ्य बीमा गरेका छन्। यिनले मुख्यत: प्रदेश अस्पताल बेनी र आधारभूत अस्पताल दरबाङबाट सेवा लिइरहेका छन्। चालु आर्थिक वर्ष २०८१/०८२ को चैत २४ गतेसम्मको तथ्यांकअनुसार जिल्लाको बीमा नवीकरण दर ७२ प्रतिशत रहेको छ।

    विशेष समूहतर्फ हेर्दा अति गरिब २२ जना, ज्येष्ठ नागरिक ६ हजार ३९६ जना, एचआईभी संक्रमित ५३ जना, अति अशक्त अपाङ्गता भएका १५१ जना, कुष्ठरोग संक्रमित २ जना र जटिल टिबी (एमडिआर टिबी) भएका २ जना बीमा सेवाबाट लाभान्वित भएका छन्।

    प्रदेश अस्पताल बेनीका मेडिकल सुपरिटेन्डेन्ट डा. रविरञ्जन प्रधानका अनुसार आर्थिक कारणले कोही पनि उपचारबाट बञ्चित नहोस् भनेर बेनी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ।

    नेपालमा स्वास्थ्य बीमा कार्यक्रम वि.सं. २०७२ सालमा सुदूरपश्चिमको कैलाली जिल्लाबाट सुरु गरिएको हो। हाल पाँच सदस्यसम्मको परिवारले ३५ सय रुपैयाँमा बीमा गर्न सक्ने तथा थप सदस्यका लागि प्रतिव्यक्ति ७ सय रुपैयाँ थप गर्नुपर्ने व्यवस्था छ।

    महिला स्वयंसेविकाहरू स्वयं बीमाबाहिर रहनु, स्वास्थ्य चेतनाको अभाव, सूचनाको पहुँच तथा प्रशासनिक कमजोरीका कारण हुनसक्ने भन्दै यसबारे सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

    प्रकाशित : शनिबार, ३० चैत्र २०८१ , ०७:५८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend