‘यदन्नं तद् मनः’ —जस्तो अन्न, त्यस्तै मन। सनातन धर्मको यो गहन दर्शनलाई आयुर्वेदले शरीर र स्वास्थ्यसँग जोडेर अझ व्यावहारिक बनाएको छ। आज संसारभर ‘सुपरफुड’ को खोजी भइरहेको छ। तर करिब डेढ हजार वर्षअघि आयुर्वेदाचार्य वाग्भटले अष्टाङ्गहृदयमा एउटा साधारण देखिने दाललाई सबैभन्दा श्रेष्ठ खाद्य पदार्थमध्ये एकको रूपमा वर्णन गरिसकेका थिए। त्यो दाल हो— हरियो मूङ।
आजको समाजमा मानिसले खानाको मूल्य त्यसमा कति प्रोटिन, क्यालोरी वा स्वाद छ भन्ने आधारमा मापन गर्छ। तर आयुर्वेदले एउटा फरक प्रश्न सोध्छ—‘‘के त्यो भोजन तपाईंले सजिलै पचाउन सक्नुहुन्छ?’’ किनकि आयुर्वेदका अनुसार रोगको पहिलो कारण नपचेको भोजन नै हो ।
मूङ सर्वश्रेष्ठ
वाग्भटाचार्य स्पष्ट व्याख्या गर्छन्— दालहरूमध्ये मूङ सबैभन्दा उत्कृष्ट हो। यसले धेरै वात बढाउँदैन। केराउ अत्यधिक वातकारक हुन्छ। राजमा वात बढाउने, रूक्ष तथा पचाउन गाह्रो हुन्छ। यसरी एउटै श्लोकले आयुर्वेदले भोजनको मूल्याङ्कन कसरी गर्छ भन्ने स्पष्ट पार्छ।
अष्टाङ्गहृदय तथा यसका प्राचीन टीकाकार अरुणदत्त र हेमाद्रिले शिम्बीधान्यका गुणलाई विस्तारपूर्वक वर्णन गरेका छन् जुन यस प्रकार छ :
१) मूङ
सजिलै पच्ने, पित्त र कफलाई सन्तुलित राख्ने, ज्वरो, रोगपछिको कमजोरी तथा वृद्धावस्थामा उपयोगी, अपचित विषाक्त पदार्थ अर्थात् मल (दिसा) कम बनाउने ।
यसैले आयुर्वेदमा मूङको झोललाई औषधिसरह महत्व दिइएको छ।
२) मसुर
पखला रोक्ने, केही रूक्ष, कफ कम गर्ने, पचाउन मूङभन्दा केही कठिन ।
३) उडद (माष)
बलवर्धक, शुक्र (वीर्य) वर्धक, स्निग्ध तर अत्यन्त गुरु अर्थात् पचाउन भारी, कफ र वात बढाउने । त्यसैले उडदको अत्यधिक सेवन सबैका लागि उपयुक्त मानिएको छैन।
४) चना
पौष्टिक, बलदायक, पचाउन भारी, वात बढाउने सम्भावना धेरै ।
५) कुल्थी
मूत्रल अर्थात् पिसाब धेरै गराउने, अश्मरी अर्थात् मृगौलाको पत्थरी गलाउन उपयोगी, कफ घटाउने, उष्ण गुण भएको आदि ।
६) केराउ
वाग्भटले नै स्पष्ट शब्दमा भनेका छन्— अतिवातलः अर्थात् पेट फुल्ने, ग्यास बन्ने तथा वातसम्बन्धी समस्या उत्पन्न गर्ने सम्भावना धेरै हुन्छ।
७) राजमा
राजमालाई आयुर्वेदले तीन शब्दमा चिनाएको छ—अनिलकर अर्थात् वात बढाउने, रूक्ष (सुख्खा) र गुरु (सजिलै नपच्ने) । यी तीन शब्दले नै राजमाको सम्पूर्ण स्वभाव बताउँछन्।
यस सम्बन्धमा आधुनिक विज्ञानको पनि आफ्नै धारणा छ । अचम्मको कुरा के छ भने आधुनिक पोषण विज्ञानले पनि धेरै हदसम्म वाग्भटाचार्यको निष्कर्षलाई समर्थन गर्छ।
मूङः आधुनिक अनुसन्धानले देखाउँछ—उच्च गुणस्तरको वनस्पति प्रोटिन, प्रशस्त फोलेट, म्याग्नेसियम, पोटासियम, एन्टिअक्सिडेन्ट, सजिलै पच्ने । अंकुरित मूङमा भिटामिन ‘सी’ समेत बढ्छ।
राजमा: राजमामा पाइने ओलिगोसाकाराइड, लेक्टिन, फाइटेट जस्ता पदार्थका कारण राम्रोसँग भिजाएर नपकाएसम्म ग्यास बढाउने, पेट फुल्ने र अपच हुन सक्छ।
केराउ: केराउमा पनि किण्वन हुने कार्बोहाइड्रेट बढी हुने भएकाले धेरै मानिसलाई पेट फुल्ने अनुभव हुन्छ।
राजमा र केराउमा राफिनोज, स्टाकियोजजस्ता ओलिगोसाकाराइड बढी हुन्छन्। मानिसको शरीरले यी शर्करालाई पूर्ण रूपमा पचाउन नसक्ने भएकाले ठूलो आन्द्रामा ब्याक्टेरियाले किण्वन गर्छन्। त्यसबाट ग्यास उत्पन्न हुन्छ, जसलाई आयुर्वेदले वातवृद्धिु भनेको छ। यसरी करिब १५ सय वर्षअघिको आयुर्वेदीय अवलोकन आधुनिक विज्ञानसँग उल्लेखनीय रूपमा मेल खान्छ। चना, केराउ, राजमा जस्ता गुरु प्रकृतिका दाल कम्तिमा ८ देखि १२ घण्टा भिजाएर अर्काे सफा पानीमा पकाउन आयुर्वेदमा निर्देशन छ ।
कल्पना गरौँ त, यदि दाल नै गुरु छ भने मांसाहार पचाउन कति भारी होला ! अब एउटा गम्भीर प्रश्न उठ्छ। जब आयुर्वेदले राजमा र केराउ जस्ता वनस्पति आधारित दाललाई नै पचाउन कठिन भनेको छ भने मांसाहारको अवस्था कस्तो होला ?
आधुनिक शरीरक्रियाविज्ञानका अनुसार भोजन पेटमा बस्ने समय त्यसको संरचनामा निर्भर हुन्छ। यद्यपि आयुर्वेदिक सिद्धान्त अनुसार आमाशयमा जति थोरै समयका लागि भोजन बस्छ, शरीरले त्यति राम्रो परिणाम प्राप्त गर्छ ।
सामान्यतः— फलफूल ३० मिनेटदेखि १ घण्टामा पच्छ । हल्का भोजन (मर्मसला, तेल, खुर्सानी बढी प्रयोग नभएको) २–३ घण्टामा, मूङको खिचडी करिब २–३ घण्टा, राजमा वा उडदजस्ता दाल ४–६ घण्टा वा केही बढी समय लाग्छ पच्न । बोसोयुक्त सेतो मासु ८–१० घण्टा र अत्यधिक बोसोयुक्त रातो मासु चाहिँ १० घण्टाभन्दा बढी समयसम्म पेटमै बस्छ। सानो आन्द्रामा जाँदैन । मांसाहारको सम्पूर्ण पाचन प्रक्रिया भने २४–७२ घण्टासम्म पनि पुग्न सक्छ। अर्थात् शरीरले यस्तो भोजन पचाउन अत्यधिक ऊर्जा खर्च गर्नुपर्छ। यही कारणले भारी भोजन गरेपछि आलस्य, निद्रा, भारीपन र अपचको अनुभव हुने गर्छ।
सात्त्विक भोजनको वैज्ञानिक आधार
सनातन धर्मले सात्त्विक भोजनलाई आध्यात्मिक मात्र होइन, जैविक दृष्टिले पनि उत्कृष्ट मानेको छ। हल्का, ताजा, सुपाच्य भोजनले पाचन सुधार्छ
आन्द्राको सूक्ष्मजीव सन्तुलित राख्न मद्दत गर्छ, सूजन कम गर्न सहयोग पुर्याउँछ, मानसिक स्पष्टता बढाउँछ त्यसैले भगवान् श्रीकृष्णले पनि श्रीमद्भगवद्गीता (१७.८) मा आयु, बल, आरोग्य, सुख र प्रीति बढाउने सात्त्विक आहारको प्रशंसा गर्नुभएको छ।
अष्टाङ्गहृदयले मांसाहारलाई सर्वथा निषेध गरेको छैन। विशेष रोगावस्था र चिकित्सकीय आवश्यकतामा मांसरसको पनि उल्लेख छ। तर यसको मूल शिक्षा अत्यन्त सन्तुलित छ— जुन भोजन शरीरले सजिलै पचाउँछ, त्यही भोजन स्वास्थ्यको आधार हो।
आज हामी स्वादका पछि दौडिरहेका छौँ। प्रोटिनका पछि दौडिरहेका छौँ। महँगा खानाका पछि दौडिरहेका छौँ। तर शरीरले एउटा मात्र प्रश्न सोधिरहेको छ— ‘‘मलाई पचाउन सक्ने भोजन किन नदिएको?’’
वाग्भटाचार्यको उत्तर आज पनि उस्तै सान्दर्भिक छ— मूङलाई रोज, भोजनलाई औषधि बनाऊ, पाचनलाई सम्मान गर। आज संसार आधुनिक औषधिको खोजीमा अरबौँ डलर खर्च गरिरहेको छ। तर सम्भवतः स्वास्थ्यको पहिलो सूत्र हाम्रो आफ्नै भान्सामा लुकेको छ। जब हामी भोजनलाई जिब्रोको सुख होइन, शरीरको आवश्यकता मानेर खान थाल्छौँ, तब औषधिको आवश्यकता आफैँ घट्न थाल्छ।
सजिलै पच्ने भोजनले मात्र शरीरलाई पोषण दिन्छ । अपच हुने भोजनले रोगको बीउ रोप्छ। यही अष्टाङ्गहृदयको कालजयी सन्देश हो, र यही आधुनिक विज्ञानले पनि क्रमशः स्वीकार्दै गएको सत्य हो। याद राख्नुहोस्, सजिलै पच्ने भोजन गलत समयमा गरे पनि परिणाम उही अपचकै हुने हो । त्यसैले घाम अस्ताएपछि भोजन नगरौँ । बिहान आठ बजेदेखि १० बजेको बिचमा खाना खाऔँ । किनकि यो वेलामा चिनीको मात्रा नियन्त्रण गर्ने इन्सुलिन अत्यधिक बन्नेहुनाले शुगर जस्तो समस्या झेल्नुपर्ने बाध्यता सिर्जना हुँदैन ।