logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

उत्तरकाशीको धरालीमा विनाशकारी बाढी : घर र होटल बगाए, चार जनाको ज्यान गयो (with Video)

उत्तरकाशीको धरालीमा विनाशकारी बाढी : घर र होटल बगाए, चार जनाको ज्यान गयो (with Video)


  • मंगलबार, साउन २० २०८२
  • 2K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशी जिल्लाको धराली गाउँमा खीरगङ्गा खोलामा आएको विनाशकारी बाढीले दर्जनौँ घर, होटल र संरचनाहरू तहसनहस बनाएको छ। मंगलबार अचानक बादल फट्दा आएको भीषण बाढीले गाउँमा यस्तो भयावह दृश्य सिर्जना गर्‍यो कि जुन देखेर हरेकको हृदय काँप्न बाध्य हुन्छ।

    केही सेकेन्डमै तबाही

    बाढीको त्रासदीको एक भिडियोमा देखिन्छ — कसरी मानिसहरू होटल र गेस्टहाउसबाट ज्यान जोगाउन आतंकित हुँदै भागिरहेका छन्। केही सेकेन्डमै ती मानिसहरूमाथि पानी र माटो-पत्थरको ठुलो बहाव खसिरहेको देखिन्छ। भिडियो खिच्ने व्यक्तिको आवाज पनि सुनिन्छ, जो भाग्दै गरेका मानिसहरूलाई चिच्याएर सावधान गराइरहेका छन्। तर, तबसम्म धेरै मानिसहरू बाढीको तीव्र बहावमा फसिसकेका थिए।

    चार जनाको मृत्यु, दर्जनौँ बेपत्ता

    उत्तरकाशीका जिलाधिकारी प्रशान्त आर्यका अनुसार अहिलेसम्म ४ जनाको मृत्यु पुष्टि भएको छ भने १० देखि १२ जना मानिस मलबामा पुरिएको आशंका गरिएको छ। उनले भने, “इलाकामा नेटवर्क अवरुद्ध भएकाले यथार्थ विवरण संकलनमा कठिनाइ भइरहेको छ।”

    राहत तथा उद्धार कार्यमा सेना, ITBP (भारतीय तिब्बत सीमा प्रहरी), SDRF (राज्य आपदा प्रतिक्रिया बल) र NDRF (राष्ट्रिय आपदा प्रतिक्रिया बल) का टोलीहरू खटिएका छन्। एनडीआरएफका तीन अतिरिक्त टोलीहरू पनि मनैरा, बडकोट र देहरादूनबाट उत्तरकाशीतर्फ पठाइएको छ।

    मुख्यमन्त्रीको प्रतिक्रिया

    उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जाल “एक्स” मा पोस्ट गर्दै लेखेका छन्,
    “धराली (उत्तरकाशी) क्षेत्रमा बादल फट्दा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु। सबै राहत र उद्धार कार्यमा SDRF, NDRF, जिल्ला प्रशासन र अन्य सम्वद्ध टोलीहरू युद्धस्तरमा खटिएका छन्। वरिष्ठ अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छु र अवस्था गहन रुपमा निगरानी गर्दैछु। ईश्वरसँग सबैको कुशलताको कामना गर्दछु।”

    प्रहरीको चेतावनी

    उत्तरकाशी प्रहरीले भनेको छ, “हर्षिल क्षेत्रमा खीरगङ्गा खोलाको जलस्तर अत्यधिक बढेको छ। त्यसका कारण धराली क्षेत्रमा ठूलो क्षति भएको छ। अहिले प्रहरी, SDRF, आर्मी र अन्य आपदा टोलीहरू घटनास्थलमा पुगेर उद्धारमा खटिएका छन्।”
    प्रहरीले नदी किनाराबाट टाढा रहन, बालबालिका तथा पशुचौपायालाई सुरक्षित स्थानमा सार्न अनुरोध गरेको छ।

    धरालीमा घटेको यो प्राकृतिक प्रकोपले स्थानीयवासीलाई मात्र होइन, पुरै देशलाई स्तब्ध बनाएको छ। विनाशको यो दृश्यले फेरि एक पटक मानव जीवन कति असुरक्षित छ भन्ने यथार्थलाई उजागर गरेको छ। राहत र उद्धार कार्य तीव्र रूपमा अघि बढिरहेको छ भने बेपत्ता नागरिकहरूको खोजी जारी छ।

    प्रकाशित : मंगलबार, २० साउन २०८२ , ०८:०३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend