logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

सिकलसेल थालासेमियाका बिरामीको पीडा : रोगसँग संघर्ष गर्दै सचेतना अभियानमा अग्रसर

सिकलसेल थालासेमियाका बिरामीको पीडा : रोगसँग संघर्ष गर्दै सचेतना अभियानमा अग्रसर


  • सोमबार, असार ८ २०८३
  • 507
    SHARES

    लोकसारथि संवाददाता, कैलाली ।

    कैलालीको टीकापुर–७ की अनुपा चौधरी सिकलसेल थालासेमियाबाट लामो समयदेखि पीडित हुनुहुन्छ। बाल्यकालदेखि विभिन्न स्वास्थ्य समस्या भोग्दै आएकी अनुपाको रोग पहिचान हुन वर्षौं लाग्यो। भारतदेखि नेपालका विभिन्न अस्पतालमा उपचार गर्दा पनि रोग पत्ता नलागेपछि भेरी अस्पताल नेपालगन्जका विशेषज्ञ डा. राजन पाण्डेमार्फत सिकलसेल थालासेमिया भएको पुष्टि भएको थियो।

    नियमित रगत चढाउनुपर्ने, पटक–पटक अस्पताल भर्ना हुनुपर्ने तथा असह्य शारीरिक पीडाका कारण उनले मानसिक तनावसमेत झेल्नुपरेको बताउनुहुन्छ। यद्यपि परिवार र जीवनसाथीको साथले आफूलाई संघर्ष गर्न बल मिलेको उहाँको भनाइ छ। अहिले अनुपा अन्य सिकलसेल बिरामीलाई परामर्श र हौसला दिने काममा सक्रिय हुनुहुन्छ।

    यस्तै, टीकापुर नगर सिकलसेल समितिका अध्यक्ष लालबहादुर चौधरीले पनि रोग पहिचान भएपछि समाजबाट विभेद र दुव्र्यवहार भोग्नुपरेको अनुभव सुनाउनुभयो। सामाजिक बहिष्कार र मानसिक तनावका कारण उनले तीनपटकसम्म आत्महत्याको प्रयास गरेका थिए। पछि साथीहरूको सहयोगबाट सम्हालिएपछि उनी सिकलसेल अभियानमा सक्रिय बनेका हुन्।

    लालबहादुरको नेतृत्वमा गठन भएको टीकापुर सिकलसेल समितिले बिरामीलाई मनोसामाजिक परामर्श, उपचारसम्बन्धी जानकारी तथा अस्पतालसम्म पहुँच पुर्‍याउने कार्य गर्दै आएको छ।

    टीकापुर नगरपालिकाका अनुसार हाल नगर क्षेत्रमा ३०० भन्दा बढी सिकलसेल सङ्क्रमित फेला परेका छन्। तीमध्ये करिब ८० जना सिकलसेल थालासेमियाका गम्भीर बिरामी रहेका छन् भने बाँकी वाहक (क्यारियर) हुन्। हालै दुई हजार नागरिकको स्वास्थ्य परीक्षण गर्दा उक्त तथ्याङ्क प्राप्त भएको हो।

    थारू समुदायमा बढी देखिने यस रोगको निदान र उपचार सहज बनाउन टीकापुर नगरपालिकाले यसै वर्षदेखि ‘सिकलसेल सहरी स्वास्थ्य प्रवर्द्धन तथा सिकलसेल केन्द्र’ सञ्चालनमा ल्याएको छ। नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा तथा बिरामीमैत्री कार्यक्रममार्फत प्रभावित परिवारलाई सहयोग गर्दै आएको जनाएको छ।

    स्थानीय जनप्रतिनिधिहरूले सिकलसेल रोगबारे सचेतना अभिवृद्धि, समयमै परीक्षण तथा आयआर्जनमूलक कार्यक्रममार्फत बिरामी र परिवारको जीवनस्तर सुधार गर्न थप पहल गरिने बताएका छन्।

    प्रकाशित : सोमबार, ८ असार २०८३ , १२:१६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend