Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

स्वाभिमानी कवि रूद्र ज्ञवालीको “सीमान्त स्वर” कविता संग्रहमा विचरण गर्दा

स्वाभिमानी कवि रूद्र ज्ञवालीको “सीमान्त स्वर” कविता संग्रहमा विचरण गर्दा


  • आइतबार, भाद्र १० २०८०
  • 741
    SHARES

    — लक्ष्मण ज्ञवाली

    २०२० कार्तिक १ का दिन बुबा रूक्मांगतआमा टिकादेवी ज्ञवालीको कोखबाट रूरूक्षेत्र–२ ग्वादीमा कवि रूद्र ज्ञवालीको जन्म भएको हो । लामो समय निजामति सेवामा सेवारत रही सेवा निवृत्त हुनुभएका उहाँ साहित्य सिर्जनामा लीन हुनुहुन्छ । नेपाली भाषा, साहित्य , कला, सँस्कृतिको माध्यमबाट देश सेवा गर्ने कुरामा कटिबद्ध हुनुहुन्छ ।

    कवि रूद्र ज्ञवाली, साहित्य क्षेत्रमा रूचि राख्नेहरूका लागि कुनै नयाँ नौलो नाम होइन । खास गरी गुल्मी जिल्लाको ग्वादीमा जन्मेता पनि रूपन्देहीलाई कर्मथलो बनाउनु भएका उहाँको वासस्थान भैरहवा हो । यहाँको साहित्यिक क्षेत्रमा उहाँ स्थापित सर्जकहरू मध्ये पर्नुहुन्छ । हाल आएर उहाँ जिल्ला, प्रदेश, हुँदै राजधानीको साहित्य वृत्तमा पनि चर्चित हुनुहुन्छ । आजका दिनसम्म आईपुग्दा उहाँ आफ्ना कृतिहरू मार्फत संसारभर सुन्न सकिने बन्नु भएको छ ।

    उहाँ वहुविधामा सशक्त कलम चलाउन सक्ने स्रष्टा हुनुहुन्छ । उहाँका सृजनाले पाठकलाई  मन्त्रमुग्ध बनाउँछ, कतै रूवाउँछ, कतै हसाउँछ, कतै जोशले मुठ्ठी कँसेर सडकमा उतार्छ, कतै झण्डा बोकेर सीमा सुरक्षा खातिर दौडाउँछ । के बालबालिका, के युवायुवती, के प्रौढ, के वृद्ध सबैलाई रक्त प्रवाह भर्नसक्ने खुबी उहाँमा छ । उहाँको जीवन शैली अत्यन्तै सरल छ । ‘‘सादा जीवन उच्च विचार’’ का अनुयायी उहाँ अन्याय–अत्याचारका विरुद्ध आफ्ना विद्रोही कविता जस्तै कडा बनेर पेश हुनुहुन्छ ।

    अब लागौँ कृति भित्रका कुरातर्फ । कुल ११९ पृष्ठमा समेटिएको “सीमान्त स्वर’’ कविता सङ्ग्रहमा ४७ वटा कविताहरु सङ्ग्रहित छन् । जीवन–जगतका हरेक पहलुहरूमा, न्याय समानताका पक्षमा, अन्याय अत्यचारका विरूद्धमा, राष्ट्र–राष्ट्रियताको पक्षमा रचिएका कविता उच्च कोटीका छन् । म कुनै विश्लेषकको रूपमा नभै विशुद्ध पाठकको हैसियतले आफ्ना भनाइ राख्न खोजेको मात्र हुँ । शास्त्रीय छन्दमा रचिएका यी कविताहरूमा यहाँनिर यो खोँट छ भन्ने हैसियत म राख्दिन । मलाई कवि रूद्रका सबै कविताहरूले आकर्षित गरेका छन् । भाखा हालेर घोर पारेर गाउने गराएका छन् । ति मध्ये ५/६ वटा शीर्षकका कविताले अझ बढी धित् मर्नेगरी च्वास्स च्वास्स घोँचेकाले तिनै श्लोकहरुलाई उद्धृत गर्न चाहन्छु ।
    अनावश्यक रूपमा देशमा संघीयता लादिएकोमा चिन्तित हुँदै कवि लेख्छन –

    गोटी बनेर अर्काको फोर्न सद्भावको घर
    घुस्यो संघीयता जप्दै डरलाग्दो अजिङगर ।
    घोली विग्रहका वीज जातजाति सबैतिर ।
    निल्ने छ देश सर्लक्कै हामीले नउठे अब । (सीमान्त स्वरः अभेद्य दुर्ग हो ! उठ, पृः२५)

    देशको लथालिङ्ग अवस्था देखेर कविले देशप्रतिको चिन्ता यसरी पोख्छन् जुन अहिलेको अवस्थामा अतिनै सान्दर्भिक बनेको छ —

    बनूँ म पहरेदार सुरक्षा देशको गरुँ ।
    बाँचू म देशकै निम्ति देश खातिर मै मरुँ ।
    मांटोले जसरी ढुंगा जोड्छ पर्खाल लाउँदा ।
    जोडूँ म देश माटो भै कुनै विग्रह आउँदा । (सीमान्त स्वरः इच्छापत्र बाट, पृः २९)
    त्यसरी नै दिनहुँ हजारौँ युवा युवतीहरू विदेशिएका छन् । यता उर्वर भूमिहरू बाँझो पल्टी रहेका छन् । जोडीहरू छुट्टिन बाध्य छन् । यिनैका अन्तरमनले बोलेका, फर्केर घरमा आउन पुकार गरेका, याचनाका परिदृश्यहरूलाई कवितामा कविले यसरी पोखेका छन् —

    बाँझो छैन छ उर्वरा जमिन यो उब्जाउ छन् कन्दरा ।
    रोपौं सिर्जनशीलता लगनले कोरेर आफ्नै धरा ।
    जे हो यै मन हो विशाल मनझैं अर्को कुरा के छ र ?
    बोकी कन्तुर प्रेमको अब सखे फर्केर आउ घर । (सीमान्त स्वरः फर्केर आउ घर, पृः७९)

    त्यसैगरी ३०/३५ वर्षसम्म पार्टीहरूका झोले कार्यकर्ता भएर हिँड्दा र जनता जनार्दनको अवस्था सप्रिएला भन्दा अझ कष्टकर हुँदै गएको पीडालाई उजागर गर्दै कविले नेताहरूलाई प्रश्न गर्दै यसो भन्छन् –
    ताली ठोक्न भन्यौ र अर्थ नबुझी ताली वृहत् ठोकियो ।
    झण्डा बोक्न भन्यौ र प्रश्न नगरी झण्डा सयौं बोकियो ।
    आगो झोस्न भन्यौ र विचार नगरी झोस्यौँ भएको जल्यो ।
    रोप्यौँ अम्मृतको भनेर बिरूवा खै के फल्यो के फल्यो? (सीमान्त स्वरः विषवृक्ष, पृः १००)

    विदेशी संस्कृतिको चपेटामा दिनानुदिन जकडिँदै गएको अवस्थामा हाम्रो मौलिक संस्कृतिलाई जोगाउनु पर्छ, कला संस्कृति देशको पहिचान हो, यो बिना देश बाँच्न सक्दैन भन्दै कवि लेख्छन् —
    कला संस्कृति त्यो हाम्रो देशको पहिचान हो।
    संस्कृति शून्यता भन्नु मृत्यु हो अवसान हो ।
    राष्ट्र राष्ट्रियताको म विम्ब प्रतीक सार हुं।
    नेपाली मनको प्यारो सारंगीको म तार हुँं । (सीमान्त स्वरः सारंगी, पृः१०५)

    त्यसरीनै देश र जन्मभूमिप्रति आफ्नो जीवन समर्पण गर्ने इच्क्षा जाहेर गर्दै कवि लेख्छन् –
    इच्छा यत्ति छ यो गरौं मुलुकको अभ्यर्थना अर्चना ।
    त्यागौं देह यसै पवित्र स्थलमा यै मात्र हो तिर्सना ।
    जे जे गर्न म सक्छु त्यो सब कुरा नेपाल भित्रै गरुँ ।
    मेरो भन्नु समस्त यै मुलुक हो नेपाल जप्दै मरूं । (सीमान्त स्वरः नेपाल जप्दै मरुँ, पृः१११)

    यस्तै यस्तै सारगर्भित श्लोकहरूले यो कृति भरिएको छ । देश र जन्मभूमिप्रति अगाध प्रेम छ । जातजाति, धर्म, सम्प्रदाय, लिङ्ग, वर्ण, क्षेत्र सबै सबैप्रति सद्भाव, सम्मान छ । जनतालाई सधैभरी दास बनाएर राज गर्न खोज्नेहरुप्रति रोष छ । घृणा छ । विद्रोहको शंखनाद छ ।

    यो कृतिमा भूमिका लेख्नुहुने आदरणीय व्यक्तित्व प्रा. डा. रामप्रसाद ज्ञवालीका नजरमा यो कृति के हो कस्तो हो उहाँकै शब्दमा –

    “माफ गर्नुहोला रुद्र जी ! तपाईँका कविता पढेर मैले थोरै थोरै बुझेको कुरा हलुका तालले लेखेँ । मलाई थाहा छ– तपाईँको कवि मैले बुझेभन्दा माथि छ ; तपाईँको कवित्व मैले लेखेभन्दा उत्तम छ । नेपाल राष्ट्र, श्रमजीवी नेपाली जनता, नेपालको अस्तित्व र नेपाली राष्ट्रिय स्वाधीनता तथा लेखकीय स्वाभिमानका पक्षमा लेखिएका यी विचारप्रधान सुन्दर कविताहरूको सङ्ग्रह ‘सिमान्त स्वर’ का निम्ति म तपाईँलाई हार्दिक बधाई दिन्छु । साथै आगामी दिनहरुमा तपाईँलाई यस्तै र यीभन्दा पनि गतिला वैचारिक तथा कलात्मक कविताहरुका अन्य सङ्ग्रहहरु लेखन र प्रकाशन गर्नमा सफलता मिलोस् ; हार्दिक शुभकामना !

    यिनै भनाईले पुष्टि गर्छ कि यो कृति अत्यन्तै उच्च कोटीको कृति पाठकका माझ ल्याउन कवि रुद्र ज्ञवाली सफल हुनुभएको छ । २०४६ सालदेखि साहित्य सिर्जनामा लाग्नुभएका उहाँ कथा विधामा रमाउँदै पछि अन्य विधामा प्रवेश गरी आफ्नो काव्यिक कौशलता प्रदर्शनबाट अव्वल सावित हुनुभएको छ । उहाँ कथाकार, मुक्तककार, गजलकार, एवं प्रखर कवि हुनुहुन्छ । विभिन्न संघ–संस्थामा आबद्ध उहाँले विभिन्न संघ–संस्थाबाट दर्जनौं पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नु भएको छ । हालसम्म उहाँका सात वटा कृतिहरु प्रकाशित छन् ।

    यस कृतिमा सबै कुराहरू उच्च कोटीका भैकन पनि पाठकका दृष्टिले अप्ठ्यारो महसुस भएका एक दुई वटा कुराहरू राख्न चाहन्छु । साथै अन्यथा नमान्न पनि अनुरोध गर्दछु । यो संस्करण त छापिईनै सक्यो ; आगामी संस्करणका लागि सुझाव बन्न सक्छन् भन्ने मलाई लागेको छ ।
    १) विषय सूची नराखिँदा पाठकले आफ्नो रोजाईको पाठ खोज्न पटक–पटक पुरै पाना पल्टाउनु पर्ने भएको छ ।
    २) लेखकीय वा प्रकाशकीय मध्ये कुनै एकको भनाइ भएमा राम्रो हुने थियो ।
    ३) कभर पेज अझै आकर्षक बनाउन सकिन्थ्यो कि ?
    अन्त्यमा यिनै भनाई सहित यो मनोहर्ता मनोहर कृतिका लागि कविवर रूद्र ज्ञवाली ज्यूलाई हार्दिक बधाई भन्दै आगामी दिनमा अझै सश्क्त कृतिहरू पाठकहरूमाझ ल्याउन सफलता मिलोस् ; हार्दिक शुभकामना व्यक्त गर्दछु ।

    तिलोत्तमा १ नीलगिरि पथ शंकरनगर रूपन्देही
    २०८०/५/९

    प्रकाशित : आइतबार, १० भाद्र २०८० , ०५:२४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend