घरका धेरै सदस्य अझै निद्रामै छन्। कसैले आज अलि ढिलो उठ्ने योजना बनाएको छ। कसैले साथीभाइसँग घुम्न जाने। कसैले मोबाइल चलाउँदै आरामसँग चिया पिउने। तर घरको एउटा कोठामा भने दिन निकै अघि नै सुरु भइसकेको हुन्छ। भान्साको चुलो बलिसकेको हुन्छ, चियाको बाफ उठिरहेको हुन्छ र एउटी महिला आफ्नै थकानलाई केही बेरका लागि फेरि एकपटक थन्क्याउँदै परिवारको दिन सुन्दर बनाउन व्यस्त हुन्छिन्।
पात्रोले आजलाई बिदा भन्यो। तर उनको जिम्मेवारीले कहिल्यै बिदा मान्न सिकेन। बरु साताभरि गर्न नभ्याएका कामहरू सार्वजनिक विदाकै दिन पूरा गर्नुपर्ने हुन्छ। धुनुपर्ने लुगा, मिलाउनुपर्ने घर, बजारबाट ल्याउनुपर्ने सामान, बच्चाको गृहकार्य, भोलिको टिफिनको तयारी, घरका ज्येष्ठ सदस्यको हेरचाह इत्यादि । शनिबार र आइतबार सार्वजनिक बिदाका दिन हुन्। तर धेरै महिलाका लागि यी बिदा होइनन्, बरु हप्ताभरि गर्न नभ्याएका, अधुरा रहेका वा थाती रहेका घरायसी काम पूरा गर्ने दिन हुन्।
सायद त्यसैले महिलाको छुट्टी पात्रोमा मात्र हुन्छ, जिम्मेवारीले त कहिल्यै बिदा लिँदैन।
उनी शिक्षिका हुन सक्छिन्। नर्स, बैंककर्मी, कर्मचारी, पत्रकार, उद्यमी वा कुनै पनि क्षेत्रमा आफ्नो क्षमता प्रमाणित गरिरहेकी एक सफल महिला हुन सक्छिन्। कार्यस्थलमा उनी समयसँगै दौडिन्छिन्, लक्ष्य पूरा गर्छिन् र आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउँछिन्। तर घर फर्किनेबित्तिकै उनको अर्को भूमिका सुरु हुन्छ। त्यहाँ उनको पद, तलब वा व्यावसायिक उपलब्धिभन्दा पहिले भान्साको चुलो, बच्चाको गृहकार्य र परिवारका दैनिक आवश्यकताले उनलाई पर्खिरहेका हुन्छन्। धेरै महिलाका लागि कार्यालयको काम सकिनु दिनको अन्त्य होइन, घरको अर्को जिम्मेवारीको सुरुआत हो।
कतिपय दिन शरीरले विश्राम मागिरहेको हुन्छ। टाउको दुखिरहेको हुन्छ। ज्वरोले शरीर कमजोर बनाइरहेको हुन्छ। महिनावारीजन्य पीडाले केही समय शान्त बस्न आग्रह गरिरहेको हुन्छ। तर उनले आफ्नो असहजतालाई मुस्कानभित्र लुकाउन सिकेकी हुन्छिन्। किनकि उनलाई लाग्छ “मैले घरको काम नगरे कसले गर्छ?”
उनको कार्यालय–समय साँझ समाप्त हुन्छ, घरको जिम्मेवारी सकियो भन्न मिल्ने कुनै निश्चित समय हुँदैन।
धेरै महिलाको आफ्नै चाहना पनि हुन्छ। नयाँ साडी लगाउने रहर हुन्छ। मन परेको जुत्ता किन्ने इच्छा हुन्छ। कहिलेकाहीँ एउटा दिन केही नगरी आरामसँग पुस्तक पढ्ने, साथीसँग कफी पिउने वा आफ्नै लागि केही घण्टा बाँच्ने चाहना पनि हुन्छ। तर प्रायः बच्चाको विद्यालय शुल्क, घरको खर्च, औषधि, दैनिक आवश्यकतासँग सम्झौता गर्दै त्यो चाहना पछि सर्दै जान्छ। पसलबाट फर्किँदा उनको हातमा आफ्ना लागि होइन, परिवारका लागि आवश्यक सामान हुन्छ।
पारिवारिक दिनचर्यासँग जोडिएको यो मनोविज्ञान त्यागको प्रदर्शन होइन अपितु धेरै महिलाको मौन जीवनशैली बनिसकेको छ।
विडम्बना त त्यतिबेला हुन्छ, जब यति धेरै जिम्मेवारी पूरा गरिसकेपछि पनि घरको कुनै कुनामा धुलो देखियो भने औँला उनीतिरै उठ्छ। “घर मिलाउन सकिनन्”, “आज के गरिन्?”, “यस्तो घरमा त लक्ष्मी बस्दिनन्” भन्ने टिप्पणी गर्न समाजलाई समय लाग्दैन। तर कसैले उनको अनुहार पढ्ने प्रयास गर्दैन। कसैले सोध्दैन “ आज धेरै थाकेकी छौ कि?”
साँचो कुरा के हो भने, महिलालाई सधैँ महँगो उपहार चाहिएको हुँदैन। धेरै पटक उनी केवल यति चाहन्छिन् कि, उनको थकान कसैले बुझिदियोस्, उनको मौनता सुनिदियोस् र कहिलेकाहीँ भनिदियोस्, “आज तिमी आराम गर, बाँकी काम हामी मिलेर गर्छौँ।”
यही कारणले आज महिलाको भूमिकालाई केवल ‘त्याग’ शब्दमा सीमित गर्न मिल्दैन। किनकि उनी केवल घर सम्हालिरहेकी व्यक्ति होइनन्, एउटै समयमा दुई फरक संसारलाई सन्तुलनमा राखिरहेकी असाधारण व्यक्तित्व हुन्। बिहान घरलाई व्यवस्थित बनाएर कार्यस्थलमा आफ्नो क्षमता प्रमाणित गर्ने र साँझ फेरि परिवारको न्यानोपन जोगाउने महिलाले हरेक दिन समय, जिम्मेवारी र सम्बन्धबीच अद्भूत सन्तुलन कायम गरिरहेकी हुन्छिन्।
हामीले धेरै पटक महिलाको सहनशीलताको प्रशंसा गर्यौँ। अब उनको क्षमताको पनि सम्मान गरौँ। किनकि उनीहरू केवल परिवारका लागि खाना पकाउने हात होइनन्, समाजका लागि भविष्य निर्माण गर्ने सर्जक पनि हुन्। उनीहरूले पढाएका विद्यार्थी, उपचार गरेका बिरामी, सेवा दिएका नागरिक, नेतृत्व गरेका संस्था र हुर्काएका सन्तान सबै उनीहरूको योगदानका जीवन्त प्रमाण हुन्।
घरमा एउटी महिलाले गरेको कामलाई ‘सामान्य’ भनेर हेर्ने बानी परिवर्तन हुनुपर्छ। किनकि घर आफैँ व्यवस्थित हुँदैन, परिवार आफैँ सन्तुलित हुँदैन, र सफल पुस्ता पनि आफैँ तयार हुँदैन। यी सबैको पछाडि कुनै न कुनै महिलाको समय, श्रम, धैर्य र प्रेम जोडिएको हुन्छ।
साँचो सशक्तीकरण महिलाले सबै कुरा एक्लै सहनु होइन। साँचो सशक्तीकरण तब हुन्छ, जब उनको सपना पनि परिवारको सपनाजत्तिकै महत्त्वपूर्ण हुन्छ, उनको स्वास्थ्यलाई पनि प्राथमिकता दिइन्छ, उनको थकानलाई पनि सुन्ने कान हुन्छ, र घरको जिम्मेवारीलाई ‘महिलाको काम’ होइन, ‘हाम्रो काम’ भन्ने संस्कार विकास हुन्छ।
आजका पेशागत महिलाहरू केवल आफ्ना छोराछोरीका लागि मात्र होइनन्, सम्पूर्ण समाजका लागि प्रेरणाका जीवित उदाहरण हुन्। उनीहरूले हरेक दिन सिकाइरहेका छन् कि जिम्मेवारीले मानिसलाई कमजोर बनाउँदैन, अझ परिपक्व बनाउँछ। उनीहरूले देखाइरहेका छन् कि परिवारलाई माया गर्दै आफ्ना सपना पनि बाँच्न सकिन्छ। उनीहरूले प्रमाणित गरिरहेका छन् कि आत्मसम्मान, क्षमता, संवेदनशीलता र नेतृत्व बगैचाका विभिन्न फूल जस्तै एउटै व्यक्तित्वमा सुन्दर रूप बनेर बाँच्न सक्छ।
त्यसैले आजको समाजलाई त्यागकी देवी होइन, आत्मविश्वासले भरिएकी, आफ्ना सपनालाई जोगाउँदै परिवार र पेशा दुवैलाई समान जिम्मेवारीका साथ अघि बढाउने महिलाहरू चाहिएका छन्। यिनै महिलाहरू भोलिको पुस्ताले पछ्याउने वास्तविक Role Model हुन्।
अन्त्यमा, महिलालाई केवल धन्यवाद भनेर पुग्दैन। उनको जिम्मेवारी बाँड्ने संस्कार विकास गर्नुपर्छ। उनको समयको सम्मान गर्नुपर्छ। नारीलाई पनि विश्राम चाहिन्छ भन्ने विचारले मान्यता पाउनु आवश्यक छ। किनभने एउटी सशक्त महिला केवल एउटा सफल परिवारको आधार होइनन्, उनी एउटा सभ्य, संवेदनशील र समतामूलक समाजको सबैभन्दा बलियो जग हुन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
