logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

हमासको नियन्त्रणमा रहेका विपिनको परिवार रिहाइको प्रतीक्षामा

हमासको नियन्त्रणमा रहेका विपिनको परिवार रिहाइको प्रतीक्षामा


  • सोमबार, माघ ७ २०८१
  • 1.6K
    SHARES

    पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार हालैको हमास–इजरायल युद्धविरामसँगै उनको सकुशल रिहाइको आशामा छ।

    लोकसारथि, ७ माघ । विपिन इजरायलको सुदूर दक्षिण क्षेत्रमा रहेको अलिमुम किबुजमा हमासको आक्रमणको समयमा नियन्त्रणमा परेका थिए। उक्त आक्रमणमा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिनको अवस्था त्यसपछि अज्ञात छ।

    युद्धविरामको पहिलो चरणमा ३३ बन्धकको रिहाइको सूची सार्वजनिक गरिए पनि, त्यसमा विपिनको नाम समावेश थिएन। यो तथ्यले जोशी परिवारलाई निराश बनाएको छ। विपिनकी आमा पदमा जोशीले भनिन्, “पहिलो चरणमै छोरा छुट्ला भन्ने आशा थियो, तर भएन। यसपटक भने उसको रिहाइ पक्कै हुनेछ भन्ने विश्वास छ।”

    सरकारले विपिनको सकुशल अवस्थाबारे पुष्टि गरेको छ। गृहमन्त्री रमेश लेखकका अनुसार, “सरकारले विपिनको रिहाइका लागि हरसम्भव प्रयास गरिरहेको छ। युद्धविरामले आशा पलाएको छ, र हामी उनको सकुशल घर फिर्ती सुनिश्चित गर्न प्रतिबद्ध छौँ।”

    सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका ४९ विद्यार्थीमध्येका एक थिए।

    उनको परिवार अहिले पनि युद्धविराम स्थायी रहोस् र विपिन सकुशल घर फर्किऊन् भन्ने आशामा छ। “युद्धविराम त हुन्छ, तर फेरि युद्ध हुने डरले मन भरिन्छ,” पदमाले भनिन्, “यो पटक छोरोको रिहाइ होस् भन्ने सरकारलाई आग्रह गर्दछु।”

    सरकारले विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायसँग पनि समन्वय गरिरहेको बताएको छ।

    प्रकाशित : सोमबार, ७ माघ २०८१ , ०१:०९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend