logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

सङ्खुवासभाको सिलिचोङमा पहिरोको कहर : स्वास्थ्य केन्द्रसहित २८ घरधुरी विस्थापित

सङ्खुवासभाको सिलिचोङमा पहिरोको कहर : स्वास्थ्य केन्द्रसहित २८ घरधुरी विस्थापित


  • बुधबार, असार १७ २०८३
  • 572
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    लगातारको वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ तेन्छोङ क्षेत्रमा सामुदायिक स्वास्थ्य इकाईसहित २८ घरधुरी विस्थापित भएका छन्। पहिरोका कारण बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ।

    सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङका अनुसार वडा नं. १ अन्तर्गत तल्लो तथा माथिल्लो तेन्छोङका २८ घरपरिवार पहिरोको उच्च जोखिममा परेपछि विस्थापित भएका हुन्।

    जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका इन्स्पेक्टर धनबहादुर राजवंशीका अनुसार तेन्छोङस्थित सामुदायिक स्वास्थ्य इकाई रहेको जमिन पहिरोले तान्न थालेपछि स्वास्थ्य केन्द्रसमेत जोखिममा परेको छ। स्वास्थ्य सेवा प्रभावित हुन सक्ने अवस्था देखिएपछि सम्बन्धित निकायले आवश्यक सतर्कता अपनाएको जनाएको छ।

    पहिरोबाट तल्लो तेन्छोङका मनकुमार राई, नौबहादुर राई, मनबहादुर राई, धानराम राई, तिलकप्रसाद राई, नरेश कुलुङ, योगेन्द्र राई, विजय राई, मणिधन राई, सन्तोष राई, नन्दु राई, धनबहादुर राई, कल्पना राई, आश्रम राई, प्रविसुक राई, अग्रज राई, पूर्णमान राई, फगेन्द्र राई, बाबुराम राई तथा विन्दुर राईका परिवार विस्थापित भएका छन्।

    त्यसैगरी कुन्ती राईको पाँच सदस्यीय, धनपूर्ण राईको सात सदस्यीय, मङ्गलबहादुर राईको छ सदस्यीय, सुकप्रसाद राईको चार सदस्यीय, मिरा राईको पाँच सदस्यीय, धनमान राईको तीन सदस्यीय तथा अरुण सङ्गम राईको परिवार पनि पहिरोका कारण घर छाड्न बाध्य भएका छन्।

    स्थानीय बस्तीमाथिको जमिनमा ठूलो चिरा परेपछि सिसुवा प्रहरी चौकी, स्थानीय जनप्रतिनिधि तथा गाउँपालिकाको समन्वयमा सबै प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।

    पहिरो प्रभावित क्षेत्रमा सोमबार जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल भुजेलको नेतृत्वमा १० सदस्यीय प्रहरी टोली परिचालन गरिएको छ। टोलीले प्रभावित क्षेत्रको निरीक्षण गर्नुका साथै स्थानीयको सुरक्षा तथा उद्धारमा सहयोग गरिरहेको छ।

    यसैबीच सिलिचोङ गाउँपालिकाले विज्ञप्ति जारी गर्दै पहिरोको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन तथा आवश्यक परे तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

    गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले बाढी तथा पहिरोबाट प्रभावित बस्तीको तत्काल अनुगमन, सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण तथा दीर्घकालीन पुनर्स्थापनाका लागि कोशी प्रदेश सरकार र संघीय सरकारसँग आवश्यक सहयोग यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेका छन्।

    प्रकाशित : बुधबार, १७ असार २०८३ , ०७:११ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend