लोकसारथि संवाददाता, काठमाडौं ।
अमेरिकाको टेक्सास राज्यको हिल कन्ट्री क्षेत्रमा अत्याधिक वर्षाका कारण आएको भीषण बाढीले कम्तीमा १३ जनाको ज्यान गएको छ भने २० जना बालिकाहरू अझै हराइरहेका छन्। रातारात खसेको महिनौं बराबरको भारी वर्षाले ग्वाडालूप नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।
बाढी प्रभावित क्षेत्रहरूमा उद्धार टोलीहरूले डुंगा र हेलिकप्टरमार्फत उद्धार कार्य जारी राखिरहेका छन्। करिब १० इन्च (२५ सेन्टिमिटर) पानी केही घण्टामै खस्दा क्यार काउन्टीमा आकस्मिक बाढी आएको हो।
बेपत्ताहरूमा बालबालिका पनि
टेक्सासका उपराज्यपाल ड्यान प्याट्रिकका अनुसार हालसम्म ६ देखि १० शवहरू फेला परिसकेको र मृतकहरूको संख्या अझै बढ्न सक्नेछ। क्यार काउन्टीका शेरिफ लेरी लिथाका अनुसार १३ जनाको मृत्यु पुष्टि भइसकेको छ।
“मृतकहरूमा केहि वयस्क छन् भने केहि बालबालिका पनि छन्,” प्याट्रिकले पत्रकार सम्मेलनमा जानकारी दिए।
अझै उद्धार कार्य जारी रहेकाले कति मानिसहरू बेपत्ता छन् भन्ने यकिन भइसकेको छैन। क्याम्प मिस्टिक नामक ग्रीष्मकालीन शिविरमा सहभागी करिब ७५० बालिकामध्ये २३ जना अझै सम्पर्कविहीन रहेको बताइएको छ।
गहिरो पीडा र आक्रोश
क्यार काउन्टीको शेरिफ कार्यालयको फेसबुक पेजमा आफन्तहरूले हराएकाहरूको फोटो पोस्ट गर्दै उद्धारको अपील गरिरहेका छन्। स्थानीय मौसमविद् बब फोगार्टीका अनुसार हन्टमा रहेको नदीको गेज दुई घण्टामै २२ फिट बढेको थियो।
“पानीको बहाव यति तीव्र छ कि स्थिति बुझ्न नपाउँदै विनाश तपाईँमाथि आइपुग्छ,” फोगार्टीले भने।
उद्धारमा ४०० भन्दा बढी व्यक्ति परिचालन गरिएको छ। ९ वटा विशेष उद्धार टोली, १४ हेलिकप्टर र १२ ड्रोनहरू प्रयोग गरिएको उपराज्यपाल प्याट्रिकले जानकारी दिए।
“कालो मृत्युको पर्खाल”
इन्ग्राममा बसोबास गर्ने एरिन बर्गेसले राति ३:३० बजे चट्याङ र पानीको गर्जनले ब्युँझिएको बताइन्। २० मिनेटमै पानी उनको घरभित्र पसिसकेको थियो। उनले र उनका छोरा रूख समातेर ज्यान जोगाउनुपरेको अनुभव सुनाइन्।
“मेरो छोरा ६ फिटभन्दा अग्लो छ, त्यसैले उहाँलाई समाएर बाँच्न सकेँ,” उनले भनिन्।
केरभिलका म्याथ्यु स्टोनले भने : “हामीलाई कुनै चेतावनी सन्देश फोनमा आएको थिएन, केवल बिहान ५:३० बजे प्रहरी ढोका ठटाउँदै आएका थिए। त्यसपछि एक ‘कालो मृत्युको पर्खाल’ आयो।”
आतङ्क, आँसु र आशा
इन्ग्राममा बनाइएको पुनर्मिलन केन्द्रमा आफन्तहरूसँग भेट हुँदा परिवारका सदस्यहरू रोए, अँगालो हाले, चिच्याए र चुपचाप रहन सकेनन्। क्याम्प मिस्टिक लेखिएको टीशर्टमा एक किशोरी आमाको काखमा रुँदै थिई।
ब्यारी एडेलम्यानले भने, “हामी सबैलाई घरको अटिक (छानाको माथिल्लो भाग) मा जानुपर्यो। ९४ वर्षीया हजुरआमा र ९ वर्षे नातिलाई लिएर त्यहाँ पुग्दा त्यहीँबाट पनि पानी आउन थालिसकेको थियो। म त्रसित थिएँ।”
“हामीसँग चेतावनी प्रणाली नै छैन”
पूर्वानुमान अनुसार भारी वर्षा र बाढीको चेतावनी दिइएको थियो तर कति ठाउँमा वर्षा अत्याधिक भयो। तर, क्यार काउन्टीका प्रमुख प्रशासक न्यायाधीश रोब केलीले भने, “हामीसँग कुनै औपचारिक चेतावनी प्रणाली छैन।”
पत्रकारहरूले थप सतर्कता किन अपनाइएन भनेर प्रश्न गर्दा उनले भने, “कसैलाई थाहा थिएन यति ठूलो बाढी आउँछ भनेर।”
“यो अमेरिका कै सबैभन्दा खतरनाक नदी उपत्यका हो”, उनले थपे।
पर्यटन क्षेत्र बाढीको उच्च जोखिममा
टेक्सास हिल कन्ट्रीको पहाडमा माटोको तह पातलो भएकोले वर्षा हुँदा पानी भिज्न नपाई सिधै बग्छ। यही कारण यो क्षेत्र “फ्ल्यास फ्लड एली” भनेर चिनिन्छ।
यहाँका नदी, क्याम्प र रिसोर्टहरू पर्यटकहरूको मुख्य आकर्षण हुन्। तर शान्त देखिने ग्वाडालूप नदीले केही घण्टामै विध्वंस ल्याएको छ।
न्यू जर्सीमा पनि तीनको मृत्यु
टेक्सास जस्तै न्यू जर्सीमा आएको आँधीबेहरीले कम्तीमा तीन जनाको ज्यान गएको छ। प्लेनफिल्डमा रूख खस्दा दुई व्यक्ति सवार गाडीमा मृत्यु भएको पुष्टि भएको छ।
त्यस क्षेत्रको जुलाई ४ को परेड, कन्सर्ट र आतिशबाजी कार्यक्रम रद्द गरिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
