logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

एसईईको कापी परीक्षण धमाधम सुरु, ३० हजार शिक्षक परिचालित

एसईईको कापी परीक्षण धमाधम सुरु, ३० हजार शिक्षक परिचालित


  • आइतबार, बैशाख २१ २०८२
  • 1.8K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    कक्षा १० को अन्तिम परीक्षा (एसईई) को कापी परीक्षणको कार्य देशभर तीव्र गतिमा अगाडि बढिरहेको छ। केही जिल्लामा शुक्रबारदेखि सुरु भएको परीक्षण बाँकी जिल्लामा शनिबारबाट सुरु भएको हो। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का नियन्त्रक डा. गणेश भट्टराईका अनुसार देशभरका ५० वटै केन्द्रमा हाल कापी परीक्षण भइरहेको छ।

    यस कार्यमा करिब ३० हजार शिक्षक परिचालन गरिएको छ। विषयगत रूपमा ३ हजार शिक्षक परिचालन गरेर १५ दिनभित्र परीक्षण कार्य सम्पन्न गर्ने बोर्डको योजना थियो। एक शिक्षकले प्रतिदिन १०० कापी जाँच्ने अनुमानका आधारमा समय निर्धारण गरिएको थियो।

    तर नेपाल शिक्षक महासंघको आह्वानमा भएको काठमाडौं केन्द्रित आन्दोलनका कारण कापी परीक्षण लगभग एक महिना ढिलो गरी सुरु भएको हो। १७ वैशाखमा सरकार र शिक्षकबीच सहमति भएपछि शुक्रबारदेखि शिक्षकहरूले परीक्षणको जिम्मा लिन थालेका हुन्।

    डा. भट्टराईका अनुसार, “अहिले विद्यालय सञ्चालनमा रहेकाले शिक्षकहरूले अतिरिक्त समय निकालेर कापी परीक्षण गर्नुपर्ने भएको छ। अवस्था सामान्य भएको भए यो समय विद्यालय विदामा रहने थियो।”

    यद्यपि परीक्षण ढिलो भए पनि शिक्षा विकास तथा समन्वय इकाइसँग समन्वय गरेर योग्य शिक्षकहरू थप परिचालन गर्दै परीक्षण चाँडै सक्ने प्रयास भइरहेको छ।

    कापी परीक्षण सम्पन्न भएपछि नतिजा प्रकृयाका लागि एक महिनाको समय आवश्यक पर्छ। डा. भट्टराईले नतिजा अत्यन्त गोप्य प्रकृतिको भएकाले परीक्षणपछि मात्र सार्वजनिक मिति तय हुने बताए। “नतिजा तयार पार्ने प्रक्रियामा सीमित जनशक्ति मात्र संलग्न गरिन्छ। भेरिफिकेशनका बेला मात्र जनशक्ति थप गरिन्छ,” उनले स्पष्ट पारे।

    बोर्डको प्रारम्भिक योजना अनुसार, परीक्षा सम्पन्न भएपछि तीन महिनाभित्र नतिजा सार्वजनिक गर्ने भनिएको थियो। यदि निर्धारित तालिका अनुसार काम भएको भए असार ७ गते आसपासमा नतिजा सार्वजनिक हुने सम्भावना थियो।

    परीक्षण कार्यका लागि शिक्षकहरूलाई प्रति कापी २४ रुपैयाँ पारिश्रमिक प्रदान गरिनेछ।

    प्रकाशित : आइतबार, २१ बैशाख २०८२ , ०७:४६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend