logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

सरकारद्वारा यस वर्ष पनि बालिका तथा किशोरीलाई एचपीभी खोप अभियान सञ्चालन हुने

सरकारद्वारा यस वर्ष पनि बालिका तथा किशोरीलाई एचपीभी खोप अभियान सञ्चालन हुने


  • बिहिबार, माघ १५ २०८२
  • 897
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    सरकारले यस वर्ष पनि बालिका तथा किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप लगाउने राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाले देशभर खोप अभियानको तयारी तीव्र पारेको छ ।

    बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार, खोप अभियान यही महिनाको तेस्रो सातादेखि देशभर सुरु हुनेछ । उहाँले फागुनको पहिलो सातासम्म सबै लक्षित बालिकालाई खोप दिइसक्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
    “अहिले स्वास्थ्यकर्मीहरूलाई आवश्यक तालिम दिइरहेका छौं । सबै तयारी समयमै पूरा हुन्छ,” डा. गौतमले भन्नुभयो ।

    गत वर्ष सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख बालिकालाई एचपीभी खोप लगाएको थियो । सो अभियानमा छुटेका बालिकाहरूलाई यस वर्ष समेटिने जनाइएको छ । चालु वर्षमा करिब ३ लाख ५० हजार बालिकालाई खोप उपलब्ध गराउने लक्ष्य सरकारले लिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार, यस अभियानमा प्रयोग हुने खोप चीनबाट आयात गरिएको हो र यसमा भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी) को सहयोग रहेको छ ।

    नेपालमा पाठेघरको मुखको क्यान्सर महिलामा देखिने प्रमुख क्यान्सरमध्ये एक हो । तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष औसतमा चार महिलाको मृत्यु यसै क्यान्सरका कारण हुने गर्दछ । यसको मुख्य कारण ह्युमन पापिलोमा भाइरस संक्रमण भएकाले एचपीभी खोपलाई अत्यन्त प्रभावकारी र आवश्यक मानिएको छ ।

    यस वर्षको अभियानअन्तर्गत कक्षा ६ मा भर्ना भएका छात्रा, विद्यालयमा नपरेका १० वर्ष उमेर समूहका बालिका, साथै कक्षा ६ मा अध्ययनरत ११ देखि १२ वर्ष उमेरका छात्राहरूले पनि खोप प्राप्त गर्नेछन् ।

    स्वास्थ्य विज्ञहरूका अनुसार समयमै एचपीभी खोप लगाउन सके पाठेघरको मुखको क्यान्सरको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने भएकाले अभिभावकलाई आफ्ना छोरीहरूलाई खोप कार्यक्रममा अनिवार्य सहभागी गराउन आग्रह गरिएको छ ।

    प्रकाशित : बिहिबार, १५ माघ २०८२ , १०:०८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend