logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको आयोजनामा बहुभाषिक अन्तराष्ट्रिय साहित्यिक सङ्गोष्ठी सम्पन्न

सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको आयोजनामा बहुभाषिक अन्तराष्ट्रिय साहित्यिक सङ्गोष्ठी सम्पन्न


  • शनिबार, माघ १९ २०८१
  • 897
    SHARES

    धनगढी: सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको आयोजनामा डोटीको सिलगढीमा बहुभाषिक अन्तराष्ट्रिय साहित्यिक सङ्गोष्ठी भव्य रूपमा सम्पन्न भएको छ। नेपाल र भारतका दुई सयभन्दा बढी लेखक, साहित्यकार, भाषाविद् तथा कलाकारहरूको सहभागिता रहेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले उद्घाटन गरेका थिए।

    प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम प्रदेश भाषा, साहित्य र संस्कृतिका दृष्टिले सम्पन्न रहेको उल्लेख गर्दै यसलाई ‘सुदूर’ नभनी ‘सुन्दर पश्चिम’ भन्नु पर्ने धारणा व्यक्त गरे। उनले जनप्रतिनिधिहरूको इच्छाशक्ति भए सुदूरपश्चिमको विकास गर्न पर्याप्त आधारहरू रहेको बताए।

    सङ्गोष्ठीमा सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले भाषिक र सांस्कृतिक आन्दोलनको सुरुवात डोटीबाट भएको बताए। उनले प्रदेशको मानक भाषा निर्धारणका लागि प्राज्ञिक बहसको थालनी गरिएको जानकारी दिए। प्रदेश सभा सदस्य शिवसिंह ओलीले डोटीलाई प्रदेश राजधानीका रूपमा उपयुक्त ठहर गर्दै कला, संस्कृति र सभ्यताको विकासमा प्रतिष्ठानको योगदान प्रशंसनीय रहेको बताए।

    प्रदेश सभा सदस्य चक्र मल्लले प्रज्ञा-प्रतिष्ठानलाई स्वायत्त र अधिकार सम्पन्न बनाउने उद्देश्यले प्रदेश सभाले प्रतिष्ठानको ऐन संशोधन गरेको जानकारी दिए। कार्यक्रममा पूर्व सांसद यज्ञराज पाठक, नगरप्रमुख बाजिसिंह खड्का, संस्कृतिविद् डा. तुलसीराम खनाल, महाकाली साहित्य संगमका अध्यक्ष हरिश प्रसाद जोशी, साहित्यकार वीरबहादुर चन्द लगायतका विशिष्ट व्यक्तिहरूले रचना वाचन र समसामयिक विषयमा धारणा राखे।

    सङ्गोष्ठीमा रामहरि ओझाले ‘सुदूरपश्चिममा साहित्यिक पत्रकारिताको अवस्था र चुनौती’ विषयमा कार्यपत्र प्रस्तुत गरे भने फणेन्द्र साउदले ‘सुदूरपश्चिमको भाषिक स्थिति’ विषयमा कार्यपत्र प्रस्तुत गरे। यी कार्यपत्रहरूमा साहित्यकार एनके जोशी, वीरबहादुर चन्द, र हरिश जोशीले टिप्पणी प्रस्तुत गरेका थिए।

    कार्यक्रममा लोक संस्कृतिको झल्को दिने विविध नृत्य तथा झाँकीहरू प्रस्तुत गरिनुका साथै प्रमुख अतिथि नजिर मियाँ र उपकुलपति डा. टीएन जोशीले स्रष्टा, साहित्यिक पत्रकार, र भारतीय अतिथिहरूलाई सम्मान गरेका थिए। कार्यक्रमको स्वागत युवा साहित्यकार फणेन्द्र साउदले र सञ्चालन कवि तोयानाथ भट्टले गरेका थिए।

    सङ्गोष्ठी नेपाली लेखक संघ डोटीको सहकार्य र दिपायल सिलगढी नगरपालिकाको सहयोगमा सम्पन्न भएको हो।

    प्रकाशित : शनिबार, १९ माघ २०८१ , ०१:५४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend