बुटवल । लघुकथालाई केन्द्रमा राखेर आयोजना गरिएको महत्त्वपूर्ण साहित्यिक कार्यक्रम मणिमुकुन्द कलेज, बुटवलमा सम्पन्न भएको छ। प्रश्रित प्रतिष्ठान नेपाल, रूपन्देहीद्वारा आयोजित कृति लोकार्पण, परिचर्चा, लघुकथा वाचन तथा सम्मान कार्यक्रमले नेपाली लघुकथाको समालोचनात्मक यात्रामा नयाँ आयाम थपेको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार डा. तिलक आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डा. शालिकराम पौड्यालद्वारा सम्पादित लेखक कपिल लामिछानेको कृति लघुकथा साधनाको लोकार्पण तथा परिचर्चा गरिएको थियो। एउटै स्रष्टाका लघुकथामाथि केन्द्रित समालोचनात्मक कृतिको रूपमा यस पुस्तकलाई लघुकथाको इतिहासमै पहिलो प्रयासका रूपमा समीक्षकहरूले उल्लेख गरे।
कृतिमाथि ऋषिराम भुसाल, वनमाली निराकार, रुद्र ज्ञवाली र डा. अजित खनालले समीक्षा गर्दै कृतिले स्रष्टा र सम्पादक दुवैको साहित्यिक उचाइलाई स्थापित गरेको धारणा राखे। लेखक,पाठकबिच सेतुको भूमिका निर्वाह गर्ने प्रकाशकको योगदानको कदरस्वरूप भुँडीपुराण प्रकाशन, काठमाडौंका प्रबन्धक केशवप्रसाद पराजुलीलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरियो। साथै सम्पादक डा. शालिकराम पौड्याललाई पनि सम्मान गरिएको थियो। प्रमुख अतिथि डा. तिलक आचार्यले साहित्य समाज परिवर्तनको संवाहक भएकाले यसको संरक्षण र प्रवर्द्धन अपरिहार्य रहेको बताउँदै लेखक, सम्पादक र प्रकाशकबीचको सहकार्यलाई समयको आवश्यकता भएको उल्लेख गर्नुभयो।
सम्मानित व्यक्ति केशव पराजुलीले रुपन्देहीका स्रष्टाका गुणात्मक कृति प्रकाशनमा भुँडीपुराण प्रकाशन सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। विशिष्ट अतिथि मदन पुरस्कार विजेता नीलम कार्की निहारिकाले सम्पादकको मिहिनेत र सम्पादन कलाको प्रशंसा गर्नुभयो भने बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. अरुणकुमार क्षेत्रीले प्रतिष्ठानका कार्यक्रमहरूले साहित्यिक चेतनाको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको बताए। कार्यक्रममा डा. नारायणप्रसाद पन्थले सम्मानित व्यक्तित्व केशव पराजुलीको व्यक्तित्वमाथि र ईश्वरीप्रसाद पोखरेलले सम्पादक डा. शालिकराम पौड्यालको सम्पादन शैलीमाथि चर्चा गर्नुभएको थियो। लघुकथाको सृजनात्मक उर्जा प्रस्तुत गर्दै १५ जना स्रष्टाहरूले लघुकथा वाचन गरेका थिए। कार्यक्रम प्रश्रित प्रतिष्ठान नेपालका अध्यक्ष डा. कपिल लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष डा. गीता गिरीको स्वागत मन्तव्य, मणिमुकुन्द कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीको शुभकामना मन्तव्य तथा कार्यक्रम सञ्चालन महासचिव डा. शालिकराम पौड्यालले गर्नुभएको थियो। लघुकथा, समालोचना र सम्मानको त्रिवेणी बनेको यो कार्यक्रम माेफसलबाहिरकाेे सहभागीहरूका लागि प्रेरणादायी साहित्यिक भेटघाटका रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
