logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

गुरुको पाठः आफूलाई चिन्नु र आफ्नो मूल्य पहिल्याउनु

गुरुको पाठः आफूलाई चिन्नु र आफ्नो मूल्य पहिल्याउनु


  • आइतबार, पुष २८ २०८१
  • 728
    SHARES

    एकदिन एकजना व्यक्ति आफ्नो गुरुकहाँ गएर गुनासो गरे,
    “गुरु, म हजुरलाई सम्मान गर्छु, तर मेरा धेरै साथीहरूले हजुरलाई केही नजान्ने, गफाडी, र पागल भन्छन्। मलाई आज यो कुरा प्रमाणित गरिदिनुहोस् कि हजुर गफाडी वा पागल होइन।“

    गुरु मुस्कुराउँदै उठे र आफ्नो कोठाभित्र पसे। फर्किँदा हातमा एउटा चम्किलो ढुंगा ल्याएर ती व्यक्तिलाई दिए र भने,
    “बाबु, यो ढुंगा लिएर तरकारी बजारमा जा र बुझ, यसको बदलामा कति मुठा साग दिन्छन्। तर, याद गर, यो ढुंगा बेचेको होइन, केवल मूल्य पत्ता लगाउन जानेको हो।“

    त्यो व्यक्ति बजारमा गयो र धेरै तरकारीवाला भेट्यो। कसैले एक मुठा साग दिने भने, त कसैले बढीमा पाँच मुठा। यो कुरा लिएर ऊ गुरुकहाँ फर्कियो र जानकारी दियो,
    “गुरु, बढीमा पाँच मुठा साग दिन तयार भए।“

    गुरुले मुस्कुराउँदै भने,
    “अब सुन पसलमा जाऊ र त्यहाँका पसलेसँग बुझ, यो ढुंगाको कति मूल्य दिन तयार हुन्छन्।“

    त्यो व्यक्ति सुन पसल गयो र धेरै पसलेसँग सोध्दा थाहा भयो, एकजनाले यो ढुंगाको मूल्य दस लाख रुपैयाँसम्म तिर्ने प्रस्ताव गरे।
    उनी उत्साहित हुँदै फर्किए र भने,
    “गुरु, यो ढुंगाको मूल्य दस लाख छ। अब यसलाई बेचेर फाइदा उठाऔं।“

    गुरुले हाँस्दै जवाफ दिए,
    “नहतार बाबु, अब यो ढुंगा लिएर हीरा पसलेहरुसँग जाऊ र बुझ, उनीहरू यसलाई कति दिन्छन्।“

    त्यसपछि त्यो व्यक्ति हीरा पसल गयो। एक जना हीरा व्यापारीले त्यो ढुंगालाई हे¥यो र भने,
    “यो अद्वितीय छ। म यसको लागि एक करोड रुपैयाँ तिर्न तयार छु।“

    यो कुरा सुनेर ती व्यक्ति अचम्ममा परे। उनी हस्याङफस्याङ गर्दै गुरुका अघि आए र भने,
    “गुरु, एक करोड दिन तयार भएको व्यापारी भेटेँ। अब भने यो ढुंगा बेचौं।“

    गुरुले मुस्कुराउँदै भने,
    “बाबु, म सन्यासीलाई यो एक करोडको के काम? तर तिमीले बुझ्यौ त?“

    गुरुले गहिरो स्वरमा थपे,
    “यो ढुंगा र म उस्तै हौं। तरकारीवाले यसको मूल्य पाँच मुठा सागसम्म देखे। सुन पसलेले दस लाखसम्म, र हीरा व्यापारीले एक करोडसम्म। सबैले आफ्नो दृष्टिकोण र क्षमताअनुसार यसको मूल्य आंकलन गरे। म पनि त्यस्तै हुँ। कसैले मलाई गफाडी भन्छ, कसैले पागल। कसैले विद्वान ठान्छ, कसैले मुर्ख। तर यसले मेरो वास्तविक मूल्य परिवर्तन गर्दैन।“

    गुरुले थपे,
    “जसरी यो ढुंगाको वास्तविक मूल्यलाई साग पसलेले बुझ्न सकेन, त्यस्तै धेरै मानिसहरूले अरूको मूल्य बुझ्न सक्दैनन्। संसारले के भन्छ भन्ने कुरा तिनकै स्तरमा निर्भर छ। हाम्रो मूल्य हाम्रो कर्म, गुण, र ज्ञानले निर्धारण गर्छ। आफूलाई चिन, सुधार, र आफ्नै मार्गमा दृढ रह। अरूको नजरमा परजीवी बन्ने होइन।“

    गुरुका शब्दले ती व्यक्ति आँसुमा डुब्न पुगे। उनले अनुभव गरे, “दृष्टि आफ्नै हुन्छ, मूल्य आफ्नै हुन्छ। संसारलाई होइन, आफ्नै कर्म र सच्चाइलाई आधार मान्नुपर्छ।“

    गुरुको सन्देशः
    जीवनमा मानिसहरूले कसरी हेर्छन् भन्ने चिन्ता नगर। आफ्नो मूल्य आफूले नै निर्धारण गर। आफ्नो सोच र कर्मलाई सही मार्गमा राख। संसारको भनाइ त अस्थायी हो, तर तिम्रो वास्तविकता सधैं अटल।

    प्रकाशित : आइतबार, २८ पुष २०८१ , ०८:४२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend