logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

तनहुँमा पाँच दिनदेखि बेपत्ता गोरखाका युवा मृत फेला

तनहुँमा पाँच दिनदेखि बेपत्ता गोरखाका युवा मृत फेला


  • शनिबार, चैत्र ९ २०८१
  • 442
    SHARES

    लोकसारथि, ९ चैत । तनहुँमा पाँच दिनदेखि बेपत्ता रहेका गोरखाका एक युवकको शव फेला परेको छ। मर्स्याङ्दी नदीमा आइतबार बिहान ती युवक मृत अवस्थामा फेला परेका हुन्। मृत फेला परेका व्यक्ति गोरखा जिल्लाको नौ किलो घर भएका ३० वर्षीय राहुल कुमाल भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) अशोक थापाले पुष्टि गरेका छन्।

    पाँच दिनदेखि बेपत्ता थिए

    राहुल कुमाल तनहुँको आबुखैरेनी गाउँपालिका–२ स्थित एक्लेफोट क्षेत्रमा रहेको ऐना होटल मा कार्यरत थिए। उनी यही चैत ५ गतेदेखि बेपत्ता भएका थिए। परिवार र सहकर्मीहरूले खोजी गरे पनि कतै फेला नपरेपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो।

    मर्स्याङ्दी नदीमा शव फेला

    बेपत्ता भएको पाँच दिनपछि आइतबार बिहान सशस्त्र प्रहरी बल मनकामना गण भानु को टोलीले खोजीकार्यको क्रममा मर्स्याङ्दी नदीमा कुमालको शव फेला पारेको हो। शव फेला परेको खबर पाएपछि प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ।

    मृत्युको कारण खुल्न बाँकी

    प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ। शवको प्रकृति र घटनास्थलको अवस्थालाई आधार मान्दै घटनाका विभिन्न कोणबाट अनुसन्धान भइरहेको डीएसपी थापाले बताएका छन्। कुमालको मृत्युको कारण खुल्न बाँकी रहेकाले पोस्टमार्टमका लागि शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

    स्थानीयहरूमा त्रास र शंका

    यस घटनाले स्थानीयबासीहरूलाई स्तब्ध बनाएको छ। एक्लेफोट क्षेत्रमा यसअघि पनि यस्ता घटनाहरू घटिसकेकाले स्थानीयहरूले घटनाबारे गहिरो अनुसन्धान गर्न माग गरेका छन्। प्रहरीले प्रारम्भिक रुपमा कुमालको मृत्यु रहस्यमयी हुनसक्ने संकेत गरेको छ।

    प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्नेछ। हालसम्म कुनै संदिग्ध व्यक्तिको संलग्नता रहेको प्रमाण नभेटिए पनि प्रहरीले घटना गम्भीर भएको भन्दै थप अनुसन्धान गरिरहेको छ।

    प्रकाशित : शनिबार, ९ चैत्र २०८१ , ०५:२१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend