logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

स्याङ्जामा भीषण आगलागी : दुई दिनमा ३९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति

स्याङ्जामा भीषण आगलागी : दुई दिनमा ३९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति


  • मंगलबार, बैशाख २३ २०८२
  • 676
    SHARES

    – लोकसारथि संवाददाता, काठमाडौं ।

    स्याङ्जा जिल्लामा लगातार दुई दिनसम्म भएका भीषण आगलागी घटनाबाट झण्डै ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ। पुतलीबजार र वालिङ क्षेत्रमा भएका छुट्टाछुट्टै घटनाले घर, गोठ, पसल तथा उद्योगहरूमा ठूलो धनमाल नष्ट भएको हो।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गएको शुक्रवार वालिङ र शनिवार पुतलीबजारमा आगलागी भएका हुन्।
    शुक्रवार वालिङ नगरपालिका–६ मिर्दीस्थित ‘आलमदेवी सिरक डसना उद्योग’मा अचानक विद्युत सर्ट भएर आगलागी हुँदा करिब १४ लाख ५० हजार रुपैयाँको क्षति भएको छ। रमेश तामाङद्वारा सञ्चालित उक्त उद्योगमा मेसिन चलिरहेको अवस्थामा आगलागी भएको जनाइएको छ।

    उक्त उद्योगमा यसअघि पनि झण्डै १५ लाख बराबरको क्षति हुने गरी आगलागी भइसकेको प्रहरीले जनाएको छ।

    त्यसै दिन वालिङ नगरपालिका–५ बडहरेमा टेकबहादुर खड्काको धन्सार र गोठमा आगलागी हुँदा करिब ५ लाख रुपैयाँको क्षति भएको वडा अध्यक्ष छवि आलेले जानकारी दिए। आगोले गोठ र धन्सार पूर्णरूपमा नष्ट गरे पनि पशुचौपायलाई भने सुरक्षित बचाइएको छ।

    शनिवार पुतलीबजार नगरपालिका–७ मा खिमबहादुर खत्रीको दुईतले कच्ची घरमा विद्युत सर्ट भएर लागेको आगोले २० लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ। उक्त घरसहित गोठ पनि पूर्णरूपमा जलेर नष्ट भएको छ।

    प्रहरीका अनुसार घरमा रहेको ६ तोला सुनका गरगहना, ७० हजार नगद, भाँडाकुँडा, लत्ताकपडा लगायत सबै सामान जलेर नष्ट भएका हुन्।

    जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सुख्खा मौसममा यस्ता दुर्घटनाको सम्भावना बढी हुने हुँदा नागरिकलाई उच्च सतर्क रहन आग्रह गरेको छ।
    प्रशासनले विद्युत उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन, सलाई, लाइटरजस्ता आगो लाग्न सक्ने सामग्री बालबालिकाको पहुँचबाहिर राख्न र आगो लाग्ने सम्भावित स्रोतहरूप्रति सचेत हुन अनुरोध गरेको छ।

    (अझ विस्तृत विवरणका लागि लोकसारथीलाई पढिरहनुहोस्)

    प्रकाशित : मंगलबार, २३ बैशाख २०८२ , ०८:१४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend