लोकसारथि संवाददाता, काठमाडौं ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सहिद भएका परिवारहरूले आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ राजनीतिक दल गठनको तयारी थालेका छन्। सहिद श्रेयम चौलागाईँका बुबा तथा सहिद परिवार वार्ता टोलीका संयोजक गणेश चौलागाईँका अनुसार दल गठनको गृहकार्य तीव्र गतिमा अघि बढिरहेको छ।
उनका अनुसार संगठन विस्तारका लागि उपसमिति गठन भइसकेको छ र सहिद परिवारका प्रतिनिधिहरू मिलेर दलको एजेन्डा र मस्यौदा तयार गर्ने काम भइरहेको छ।
“यो दल नितान्त सहिद परिवारबाट नै निर्माण हुन्छ,” चौलागाईँले बताए।
“यस दलमा कुनै पनि घाइते जेनजी वा जेनजीका प्रतिनिधिहरू रहने छैनन्,” उनले स्पष्ट पारे।
उनका अनुसार सहिद परिवारले दल गठनका लागि वार्ता टोली र अनुगमन समिति समेत गठन गरिसकेको छ। उनले भने, “यदि कोही संघसंस्था, बुद्धिजीवी वा नागरिक हामीसँग सहकार्य गर्न चाहनुहुन्छ भने त्यसका लागि औपचारिक आह्वान एक–दुई दिनमै गर्नेछौं।”
दलको नेतृत्व कसले गर्ने भन्ने विषयमा छलफल जारी रहेको र नेतृत्व पनि सहिद परिवारकै सदस्यबाट हुने सम्भावना रहेको चौलागाईँले बताए।
उनका अनुसार, जेनजी आन्दोलनले माग गरेको प्रत्यक्ष कार्यकारी प्रणाली दलको मुख्य एजेन्डामा रहनेछ। उनले भने, “भविष्यमा कस्तो राजनीतिक परिस्थिति आउँछ, त्यस अनुसार अघि बढ्नेछौं। तर चुनावमा जाँदा संविधानलाई नै आधार मान्नेछौं।”
चौलागाईँले हिजो राष्ट्रपतिको कार्यालयमा भएको छलफलबारे सहिद परिवारलाई जानकारी नदिइएको गुनासो पनि गरे।
विश्लेषकहरूका अनुसार सहिद परिवारको यो कदम जेनजी आन्दोलनपछिको नयाँ राजनीतिक चेत र संगठनात्मक रूपान्तरणको प्रारम्भिक संकेतका रूपमा हेरिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
