logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

दुम्किबास पुल: वैकल्पिक बाटो प्रयोगगरी आवागमन सुचारु

दुम्किबास पुल: वैकल्पिक बाटो प्रयोगगरी आवागमन सुचारु


  • शनिबार, पुष २७ २०८१
  • 390
    SHARES

    दाङ– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा आएका छन् ।

    जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबासस्थित विनयी खोलामा रहेको पुल शुक्रबार साँझ भाँचिदा यातायात सञ्चालन पूर्णरूपमा रोकिएको थियो ।

    पुल पूर्णरूपमा भाँचिएर क्षति पुगेपछि यातायात अवरूद्ध हुँदा रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा ल्याइएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरूण पोख्रेलले जानकारी दिए । रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरी गन्तव्यतर्फ पठाउने काम गरिएको उनले बताए ।

    ‘पुल तत्काल मर्मत असम्भव नभएको र डाइभर्सन निर्माणको काम नहुँदासम्मका लागि वैकल्पिक मार्गको प्रयोग गरी रोकिएका सवारीलाई गन्तव्यतर्फ पठाउने काम गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी पोख्रेलले भने, ‘डाइभर्सन निर्माणको काम पनि हुँदैछ ।’

    रोकिएका सवारीलाई विनयी त्रिवेणी–२, ज्यामिरे भित्रीबाटो प्रयोग गरी त्रिवेणी क्रसर हुँदै गुम्बाचोकस्थित राजमार्गमा निस्कने प्रबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले जानकारी दिए ।

    करिब पाँच किलोमिटर घुम्नुपर्ने यो बाटोबाट साना सवारीलाई वारपार गराइएको छ र दोस्रो बाटोको रूपमा ज्यामिरे पेट्रोलपम्प नजिकैबाट सिजी चोक–डाँडाजोर–होङ्सी गेट हुँदै करिब १८ किलोमिटर घुमेर राजमार्ग पुग्ने गरी ठूला सवारीसाधन सञ्चालनको व्यवस्था गरिएको छ ।

    विनयी खोलामा बनेको दुई सय ४६ मिटरको पुल पूर्णरूपमा क्षति पुगेको छ । कृष्णनगर भन्सारबाट छुटेको एन एल ०१ ए एच ५१६९ नम्बरको शिवम् सिमेन्टको सामान बोकेको ६० टन क्षमताको ट्रक पुल पार गर्ने क्रममा बीच भागबाट पुल भाँचिएको हो । ट्रक पुलको बीच भागमा नै फसेको छ ।

    प्रकाशित : शनिबार, २७ पुष २०८१ , ०१:५५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend