logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

नेकपा (एकीकृत समाजवादी) र एकता राष्ट्रिय अभियानबीच एकता : जनताको हित कि सत्ताको लागि ?

नेकपा (एकीकृत समाजवादी) र एकता राष्ट्रिय अभियानबीच एकता : जनताको हित कि सत्ताको लागि ?


  • शुक्रबार, साउन २ २०८२
  • 663
    SHARES

    काठमाडौं ।
    नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच बहुप्रतीक्षित पार्टी एकीकरण अन्ततः शुक्रबार सम्पन्न भएको छ। काठमाडौंस्थित राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियानबीच औपचारिक रुपमा पार्टी एकीकरणको घोषणा गरिएको हो।

    एकताको घोषणा पछि नेता नेपाल र गौतमले एक अर्कालाई अँगालो हालेर ‘साँस्कृतिक एकता’ प्रदर्शन गरे भने एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग पनि गौतमले अंकमाल गरे। तर, यो दृश्यले नेपाली जनतालाई झनै यहि प्रश्न गर्न बाध्य बनाएको छ – ‘के नेताहरू एकताको सन्देश जनताको सेवा गर्न हो वा सत्ताको लिप्सामा जुट्न?’

    सत्ताको समीकरण : जनताको भरोसामाथि प्रहार?

    नेता गौतमले यसअघि नेकपा एमालेसँग एकीकरणको प्रयास गरेका थिए, तर सहमति जुट्न नसकेपछि अन्ततः एकीकृत समाजवादीसँगै मिलन भएका हुन्। यद्यपि, गौतमले पाउने पदबारे अझै टुंगो लागेको छैन। नेताहरूले निकट भविष्यमा बैठक बसेर पद बाँडफाँड टुंग्याइने बताएका छन्।

    यस प्रकारको ‘पहिले एकता, पछि पद बाँडफाँड’ शैली नेपाली राजनीतिको एक सामान्य चलन बनिसकेको छ। दलहरूको उद्देश्य देशको विकास, सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी र सार्वजनिक सेवा सुधार होइन; बरु सत्ता समीकरण मिलाएर सरकार कब्जा गर्ने योजना देखिन्छ।

    एकता जनताको हितमा कि कुर्सीको लागि?

    नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केही वर्षमै विभाजनमा परिणत भयो। विभाजनपछि एक समय निष्क्रियजस्तै देखिएका वामदेव गौतमले नयाँ पार्टी गठन गरेर ‘एकता राष्ट्रिय अभियान’ नाम दिए। तर अहिले उनी आफूले नै विभाजन गरेका नेतासँग फेरी गाभिएका छन्।

    कार्यक्रममा नेताहरूले यो एकतालाई कम्युनिस्ट आन्दोलनको लागि कोशेढुंगा भनेका छन्। तर, नेपाली जनताका लागि प्रश्न भने अर्कै छ – के यस्तो ‘आन्दोलन’ले जनताको दैनिकी, महँगी, भ्रष्टाचार, शिक्षाको अवस्था, स्वास्थ्य सेवाको पहुँच सुधार्छ?

    निष्कर्ष

    नेपालको समकालीन राजनीतिमा पार्टी फुटाउने, नयाँ दल खोल्ने, फेरि पुरानै नेतासँग एकता गर्ने, अनि सत्तामा जान खोज्ने प्रवृत्तिले जनतामा निराशा बढाएको छ। सैद्धान्तिक स्पष्टता र दीर्घकालीन दृष्टिकोणको अभावमा नेताहरूको एकता ‘जनताको लागि’ नभई ‘सत्ताको लागि’ जस्तो देखिन थालेको छ।

    यदि वास्तवमै कम्युनिस्ट आन्दोलनको ‘कोशेढुंगा’ सावित गर्न चाहने हो भने, नयाँ एकीकृत पार्टीले जनताको पक्षमा ठोस काम, नीति निर्माणमा पारदर्शिताराष्ट्रहितमा अग्रसरता देखाउन आवश्यक छ।

    प्रकाशित : शुक्रबार, २ साउन २०८२ , ०४:३२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend