लोकसारथि संवाददाता, काठमाडौं ।
सिंहदरबारको दक्षिण गेटअगाडि रहेको निषेधित क्षेत्रमा मोटरसाइकल पार्किङ गरी विरोध प्रदर्शन गर्ने क्रममा नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्षसहित ६ जना विद्यार्थी नेतालाई प्रहरीले मंगलबार (०८३ असार ३१ गते) गिरफ्तार गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
गिरफ्तार हुनेहरूमा अनेरास्ववियुका अध्यक्ष दीपक धामी, निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी तथा कानुन राष्ट्रिय समिति सचिव सुदीप थापा रहेका छन्।
अनेरास्ववियुले राज्यले दमन र आतंक बढाएको आरोप लगाउँदै विरोध प्रदर्शन गरेको जनाएको छ। प्रदर्शनका क्रममा सहभागीहरूले “राज्य आतंक बन्द गर”, “गरिबको आवाज दबाउन पाइँदैन” र “सिंहदरबार खबरदार” लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए।
प्रदर्शनका कारण केही समय सिंहदरबार आसपासको क्षेत्रमा सवारी आवागमनसमेत प्रभावित भएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गिरफ्तार गरिएका विद्यार्थी नेतालाई हाल सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ। उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
