logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

प्रधानमन्त्री ओली आज राति तुर्कमेनिस्तान भ्रमणमा जाँदै, एलएलडिसी सम्मेलनमा सम्बोधन गर्ने

प्रधानमन्त्री ओली आज राति तुर्कमेनिस्तान भ्रमणमा जाँदै, एलएलडिसी सम्मेलनमा सम्बोधन गर्ने


  • आइतबार, साउन १८ २०८२
  • 624
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानमा यही साउन २० देखि २३ गतेसम्म (५–८ अगस्ट) आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिता जनाउन आज राति भ्रमणमा जाँदै छन्। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

    प्रधानमन्त्री ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल आज राति ११ः५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तानको अवाजा सहरतर्फ प्रस्थान गर्नेछ।
    यो भ्रमण तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा सम्पन्न हुँदैछ।

    सम्मेलनमा एलएलडिसीहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्। साथै, उनले सम्मेलन अन्तर्गत एक उच्चस्तरीय गोलमेच बैठकको सह-अध्यक्षता पनि गर्नेछन्। सम्मेलनका विविध कार्यक्रमहरूमा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट सशक्त उपस्थिति जनाउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

    नेपाल हाल एलएलडिसीहरूको अध्यक्ष रहेको हुँदा सम्मेलनमा नेपालको भूमिका विशेष रहने अपेक्षा गरिएको छ। अफ्रिका, एसिया, युरोप र दक्षिण अमेरिकामा रहेका ३२ भूपरिवेष्टित विकासशील देशहरूको सहभागिता रहने यो सम्मेलनमा समुद्रमा प्रत्यक्ष पहुँचको अभाव, विश्व बजारबाट दुर्गमता, सीमापार पारवहनका चुनौतीहरू र अपर्याप्त पूर्वाधारका समस्याबारे गहन छलफल हुनेछ।

    यस्ता मुलुकहरूको अन्तरराष्ट्रिय व्यापार अन्य देशहरूको पारवहनमा निर्भर हुने, सीमापार ढुवानी, लेनदेन लागत, यातायात जस्ता पक्षमा उच्च खर्च हुनुका कारण प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने समस्या समाधानमा सम्मेलन केन्द्रित हुनेछ।

    भ्रमणको अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखहरू, संयुक्त राष्ट्रसंघका अधिकारीहरू र अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ व्यक्तित्वहरूसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ।

    प्रधानमन्त्री ओलीसँगै भ्रमणमा सहभागी हुने टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रमुुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उच्चपदस्थ सरकारी अधिकारीहरू, अफिसियल मिडियाकर्मी र सुरक्षाकर्मीहरू छन्।

    प्रधानमन्त्री ओली यही साउन २३ गते राति स्वदेश फर्कने कार्यक्रम रहेको छ।

    प्रकाशित : आइतबार, १८ साउन २०८२ , ०८:४८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend