लोकसारथि संवाददाता, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको तत्काल राजीनामा माग गरेको छ। पार्टीको केन्द्रीय सचिवालयले सोमबार आकस्मिक बैठक बस्दै जेनजेड (Gen Z) पुस्ताका युवाहरूको आन्दोलनको सन्दर्भमा विशेष प्रस्ताव पारित गरेको हो।
पार्टी प्रवक्ता प्रकाश ज्वालाले भने,
“यो हद भयो। अहिले नै तत्कालै आन्दोलनकारीका माग सम्बोधन गर सरकार! सामाजिक सञ्जाल खुला गर। यति धेरै जनताको ज्यान लिने प्रधानमन्त्री र गृहमन्त्री अब पदमा बसिरहन मिल्दैन। तत्काल राजीनामा देऊ!”
सरकारको निर्णयको निन्दा
एकीकृत समाजवादीले सामाजिक सञ्जाल बन्द गर्ने, बोल्ने र प्रश्न गर्ने अधिकार नियन्त्रण गर्ने सरकारको निर्णयलाई अभिव्यक्ति स्वतन्त्रता विरोधी र गलत भन्दै विरोध गरेको छ। बैठकले सरकारको दमनकारी कदम र हिंसात्मक व्यवहारको निन्दा गरेको छ।
आन्दोलनप्रति ऐक्यबद्धता
पार्टीका अनुसार जेनजेड आन्दोलन युवा पुस्तामा उत्पन्न असन्तुष्टि र आक्रोशको न्यायसंगत प्रतिक्रिया हो। भ्रष्टाचार, कुशासन र सरकारको बेथितिविरुद्धको आन्दोलनलाई जायज र लोकतान्त्रिक मानिएको छ। ज्वालाले भने,
“सरकार हिंसात्मक दमनमा उत्रिएको छ। केही युवाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्। मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्काल उपचारको व्यवस्था गरियोस्।”
अपील र चेतावनी
एकीकृत समाजवादीले आन्दोलनलाई उत्तेजना वा मुठभेडतर्फ नलगाउन युवा आन्दोलनकारीहरूलाई सचेत गराउँदै सरकारसँग वार्ता र संवादमार्फत समस्या समाधान गर्न माग गरेको छ। पार्टीले सरकारलाई चेतावनी दिंदै भनेको छ कि जनताको समर्थन प्राप्त आन्दोलनको गरिमा र यसले हासिल गरेको नीतिगत उपलब्धि दमन र हिंसामा खोसिँदैन।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
