logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

दुर्गा प्रसाईं पक्राउ: नेपाल र भारतको संयुक्त समन्वय, राष्ट्रद्रोहसहितका गम्भीर अभियोगमा अनुसन्धान सुरु

दुर्गा प्रसाईं पक्राउ: नेपाल र भारतको संयुक्त समन्वय, राष्ट्रद्रोहसहितका गम्भीर अभियोगमा अनुसन्धान सुरु


  • शनिबार, चैत्र ३० २०८१
  • 1.2K
    SHARES

    लोकसारथि, ३० चैत । विवादास्पद पात्र तथा पूर्वराजतन्त्र पक्षधर अभियन्ता दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले भारतको सहयोगमा पक्राउ गरी काठमाडौं ल्याएको छ। चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि फरार रहेका प्रसाईंलाई नेपाल प्रहरीको विशेष ब्यूरो र भारतीय गुप्तचर संस्था इन्टेलिजेन्स ब्यूरो (आईबी) को संयुक्त सहकार्यमा भारतको आसामबाट पक्राउ गरिएको हो।

    भारतको सहयोगमा विशेष ब्यूरोको सफल अपरेशन

    नेपाल प्रहरीको विशेष ब्यूरोले प्रसाईंको खोजीका लागि करिब १० दिनअघिदेखि भारतको तामुलपुर, वास्का धनसिरीपुर ठाडा लाइन क्षेत्रमा आफ्ना अधिकारीहरू विभिन्न भेषमा परिचालन गरेको थियो। प्रसाईंको पछिल्लो गतिविधि ट्र्याक गर्न सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडिओ र त्यहाँ देखिएको मन्दिरले ठेगाना पत्ता लगाउन मद्दत पुर्‍याएको थियो। त्यसपछि विशेष ब्यूरोले आईबीलाई समन्वय गर्दै निगरानी सुरु गरेको हो।

    दिल्ली, लखनउ हुँदै प्रयागराजसम्म पुगेका थिए प्रसाईं

    विशेष ब्यूरोका एक अधिकारीका अनुसार प्रसाईं आसाम पुगिसकेपछि दिल्ली, लखनउ, राजस्थान र प्रयागराज पुगेका थिए। त्यहाँ उनले भारतीय नेताहरू, विशेषगरी उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट्ने प्रयास गरेका थिए। तर, कुनै पनि नेतासँग उनले भेट गर्न वा संवाद गर्न सक्ने वातावरण पाएनन्। आरएसएसलगायत हिन्दुवादी समूहहरूले पनि उनलाई साथ नदिएको देखिएपछि उनी मानसिक रूपमा आत्तिएका थिए र अन्ततः घरबाट बाहिर निस्कनै सकेनन्।

    पाठकको घरबाट नियन्त्रणमा

    प्रसाईं नेपाली भाषी र हिन्दुवादी विचारधारा भएका अभिचन्द्र पाठकको घरमा लुकेर बसेका थिए। त्यही स्थानबाट भारतीय प्रहरी र आईबीको टोलीले उनलाई चैत २८ गते नियन्त्रणमा लिएको थियो। त्यसपछि नेपाल प्रहरीको टोलीले उनलाई सुरक्षित रूपमा भद्रपुर ल्याएको थियो। विराटनगरबाट लिएर गएको पासधारी स्कोर्पियो गाडी प्रयोग गरिएको थियो।

    प्रारम्भमा प्रहरीको अस्वीकार, पछि पुष्टि

    प्रसाईं पक्राउ परेको खबर बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले मध्यरातमा प्रेस विज्ञप्ति जारी गर्दै “पक्राउ परेको छैन” भनेको थियो। तर शुक्रबार बिहान नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश कुमार आचार्यले झापाबाट औपचारिक रूपमा प्रसाईं पक्राउ परेको पुष्टि गरे।

    आरोप: राष्ट्रद्रोह, संगठित अपराध, आपराधिक उपद्रव

    काठमाडौं प्रहरी परिसरले प्रसाईंमाथि राष्ट्रद्रोह, संगठित अपराधआपराधिक उपद्रवको अभियोगमा अनुसन्धान गरिरहेको छ। प्रहरीको गोली लागेर सर्वसाधारण सविन महर्जनको मृत्यु र आगजनीमा पत्रकार सुरेश रजकको ज्यान गएको घटनामा प्रसाईंको भूमिकाबारे अनुसन्धान भइरहेको जनाइएको छ। प्रहरी स्रोतका अनुसार आन्दोलन रोक्न प्रहरीले ११० राउन्ड गोली प्रहार गरेको भए पनि प्रहरीको आधिकारिक विवरणमा ५८ राउन्ड गोली चलाइएको उल्लेख छ।

    सुपुर्दगी सन्धिको सन्दर्भ

    नेपाल र भारतबीच २०१० साल (सन् १९५३) मा भएको सुपुर्दगी सन्धिअनुसार अपराधमा संलग्न व्यक्तिहरूको आदानप्रदानको व्यवस्था छ। यद्यपि व्यवहारमा सुरक्षाकर्मीहरूबीच आपसी ‘बरबुझारथ’ को अभ्यास चल्दै आएको छ। प्रसाईं पछिल्लो उदाहरण हुन्, जसलाई सोही प्रकृयाअन्तर्गत नेपाल ल्याइएको हो।

    राजतन्त्र समर्थक कमान्डर?

    प्रसाईंलाई पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था पुनःस्थापनाको अभियानमा “कमान्डर” तोकेको चर्चा भए पनि यसबारे पूर्वराजाको तर्फबाट कुनै आधिकारिक अभिव्यक्ति आएको छैन। चैत १५ को आन्दोलनमा हिंसा फैलिएपछि प्रहरीको गोलीबाट सविन महर्जनको मृत्यु र आगजनीबाट पत्रकार सुरेश रजकको निधन भएको थियो। त्यो आन्दोलनको नेतृत्व प्रसाईंले गरेका थिए।

    भिडिओ नै बन्यो गिरफ्तारीको आधार

    चैत १८ मा प्रसाईंले फेसबुकमार्फत “म काठमाडौंमै छु” भन्दै मन्दिर देखिने भिडिओ पोस्ट गरेका थिए। सोही भिडिओको दृश्य विश्लेषणका आधारमा नेपाल प्रहरीको विशेष ब्यूरो भारत पुगेर उनलाई पत्ता लगाउन सफल भयो।

    सचिवालयको दाबी

    यसबीच, प्रसाईंको सचिवालयले भने उनी भारतमा आफैं आत्मसमर्पण गरेको दाबी गरेको छ। “हिजो मात्र हामीले सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं भनेका थियौं र आज उपस्थित भयौं”, सचिवालयले फेसबुकमा उल्लेख गरेको छ।

    प्रकाशित : शनिबार, ३० चैत्र २०८१ , ०४:०२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend