logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

देवदह चरङ्गेमा विशाल र विस्वाबास पाण्डेको टोलीद्वारा दुर्लभ किङ कोब्रा उद्धार

देवदह चरङ्गेमा विशाल र विस्वाबास पाण्डेको टोलीद्वारा दुर्लभ किङ कोब्रा उद्धार


  • शुक्रबार, कार्तिक २८ २०८२
  • 1.4K
    SHARES

    लोकसारथि संवाददाता, रुपन्देही ।

    रुपन्देहीको देवदह नगरपालिका–१०, चरङ्गे क्षेत्रमा दुर्लभ सर्प प्रजाति किङ कोब्रा (राजगमन) फेला परेपछि बुटवल स्नेक रेस्क्यु टिमले सफलतापूर्वक उद्धार गरेको छ। सर्प उद्धारकर्ता बिशाल पाण्डेका अनुसार भेटिएको किङ कोब्रा १२ फिट ३ इन्च लम्बाइ र ७ किलो २ सय ग्राम तौलको अत्यन्त विशाल आकारको थियो। सामान्यतया पहाडी क्षेत्रमै पाइने यो प्रजाति तराईमा भेटिनु स्वयंमा एक असामान्य घटना मानिन्छ।

    उद्धार टोलीले किङ कोब्रालाई नियन्त्रणमा लिन करिब तीन घण्टा लामो जोखिमपूर्ण प्रयास गरेको थियो। यसअघि करिब १४ वर्षअघि बुटवलको फूलबारी क्षेत्रमा एउटा मृत किङ कोब्रा फेला परेको स्मरण गरिएको छ, जसले यस प्रजातिको दुर्लभता झनै पुष्टि गर्छ।

    उद्धार कार्यमा बिशाल पाण्डेको नेतृत्वमा नवीन पौडेल, सागर पाण्डे, विश्वास पाण्डेलगायत बुटवल स्नेक रेस्क्यु टिमका सदस्यहरूको सक्रिय भूमिका रहेको थियो। उद्धारपछि किङ कोब्रालाई वन डिभिजन कार्यालयको रोहरबरमा लगेर सर्जमिन गरिएको र त्यसपछि उसको प्राकृतिक बासस्थानमा पुनः छोडिएको वन कार्यालयले जनाएको छ।

    नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ कोब्रा अत्यन्त दुर्लभ मानिन्छ। सर्प विज्ञहरूका अनुसार किङ कोब्रा अत्यन्त विषालु भए पनि नेपालमा अहिलेसम्म मानवलाई टोकेको पुष्टि भएको घटना छैन। यसको मुख्य आहार अन्य सर्प प्रजातिहरू भएकाले यो प्रजातिले वन्यजन्तु संरक्षण र खाद्य श्रृंखलामा महत्वपूर्ण पारिस्थितिक भूमिका निर्वाह गर्छ।

    सर्प विशेषज्ञ खिमलाल पाण्डेका अनुसार पछिल्ला वर्षमा नेपालका मध्यपहाडी क्षेत्रमा किङ कोब्राको उपस्थिति बढ्दै गएको देखिन्छ। उनले यस्तो दुर्लभ प्रजातिको संरक्षणका लागि राज्यले विशेष पहल, निगरानी र अनुसन्धान थाले आवश्यक रहेको सुझाव दिएका छन्।

    देवदहमा फेला परेको यो किङ कोब्रा हालसम्म तराई क्षेत्रमा भेटिएका सबैभन्दा ठूला र दुर्लभ नमूनामध्ये एक मानिएको छ।

    प्रकाशित : शुक्रबार, २८ कार्तिक २०८२ , ०८:४९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend