– लोकसारथि समाचार, गुल्मी
मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन तम्घास–रिडी सडक खण्ड एक महिनाका लागि पूर्णरूपमा बन्द गरिने भएको छ। रुरुक्षेत्र गाउँपालिका अन्तर्गतको ठूलढुङ्गा भिर क्षेत्रमा पहरो फोर्ने र सडक चौडाइको काम गर्नुपर्ने भएकाले आज (चैत २४) देखि वैशाख २२ गतेसम्म सवारी आवागमन पूर्णरूपमा बन्द गरिने जानकारी दिइएको छ।
राजमार्ग आयोजना कार्यालयका प्रमुख इञ्जिनीयर रमेश चौधरीका अनुसार, निर्माण व्यवसायीको मागअनुसार सडक बन्द गर्नुपरेको हो। उनले भने, “कामको प्रकृति जोखिमपूर्ण भएकाले यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यान दिँदै एक महिनाका लागि वैकल्पिक व्यवस्थासहित सडक बन्द गरिएको हो।”
यात्रुका लागि वैकल्पिक मार्गको व्यवस्था
सडक बन्द अवधिमा यात्रु तथा सवारीसाधनका लागि वैकल्पिक मार्गहरू तोकिएको छ। वैकल्पिक मार्गहरू यसप्रकार छन्:
-
पानीटङ्की–थोर्गा–स्यालपोखरी–स्याल बिसौँना–रातामाटा सडक हुँदै रिडी
-
छत्रकोटको पिपलनेटा–दिगाम हुँदै रिडी
-
लुम्छा–धरमपानी–दिगाम हुँदै रिडी
-
गुल्मीदरबारको घुम्टी–चारपाला–खज्र्याङ हुँदै रिडी
इञ्जिनीयर चौधरीले सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय भइसकेको र यात्रुहरूले सूचना अनुसार वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्।
झिरबाँस–काभ्रेपोखरी खण्ड पनि दुई साता बन्द
यस्तै, सडक पूर्वाधार विकास कार्यालय गुल्मीले गुल्मीदरबार गाउँपालिका–२ स्थित झिरबाँसदेखि काभ्रेपोखरीसम्मको सडक खण्ड दुई साताका लागि बन्द गरिएको जनाएको छ।
आरसिसी ढलानसहितको सडक स्तरोन्नतिको काम भएकाले यो खण्डमा पनि सवारी आवागमन निषेध गरिएको हो। यस क्षेत्रका यात्रुहरूका लागि पनि जुभुङ–सिस्ने–भट्टेचौर हुँदै बिरबाँस सडक र मजुवा–बलिथुम–झिरबाँस मार्ग वैकल्पिक रूपमा प्रयोग गर्न भनिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
