लोकसारथि डेस्क, २५ फागुन । निजी कम्पनी इन्टुइटिभ मेशिन्स (IM) द्वारा चन्द्रमामा पठाइएको रोबोटिक यान ‘एथेना’ असफल भएको छ। निर्धारित स्थलभन्दा २५० मिटर पर अवतरण गरेपछि यान पल्टिएको थियो, जसका कारण मिशन असमयमै समाप्त भएको कम्पनीले शुक्रबार पुष्टि गरेको छ।
पछिल्लो महिना टेक्सास-आधारित कम्पनी IM द्वारा प्रक्षेपण गरिएको एथेना चन्द्रमाको दक्षिणी ध्रुव नजिकै बिहीबार अवतरण गरेको थियो। सुरुमा केही समयसम्म यसले पृथ्वीमा सिग्नल पठाइरहेको थियो र इन्जिनियरहरू “गलत अवस्थिति” (incorrect attitude) देखाउने डेटा अध्ययन गरिरहेका थिए।
तर, शुक्रबार IM ले एथेना मिशन औपचारिक रूपमा समाप्त भएको घोषणा गर्यो। “मिशन सम्पन्न भएको छ र टोलीहरू संकलित डाटाको मूल्यांकन गरिरहेका छन्।”
नासाले चन्द्रमामा मानव फर्काउने तयारी गरिरहेको बेला एथेना वैज्ञानिक उपकरणहरू लिएर गएको थियो। यसअघि फेब्रुअरी २०२४ मा IM द्वारा पठाइएको ओडिसियस यान पनि चन्द्रमामा अवतरण गर्दा पल्टिएको थियो। एथेना पनि उस्तै अग्लो र पातलो डिजाइनमा निर्माण गरिएको थियो, जसले दुर्घटनाको सम्भावना बढाएको विशेषज्ञहरूले चेतावनी दिएका थिए।
यस असफलतासँगै नासाको ट्राइडेन्ट रेजोलिथ ड्रिल, जसले चन्द्रमाको सतहबाट माटो खनन गरेर पानी तथा अन्य जीवन उपयोगी तत्वहरू खोज्न प्रयोग गर्ने लक्ष्य राखिएको थियो, गुमेको छ। यस्तै, एथेना ल्यान्डरले तीनवटा रोबोटिक मोबाइल प्रबन्ध पनि बोकेको थियो, जसमा कोलोराडोको लुनार आउटपोस्ट कम्पनीले बनाएको मोबाइल अटोनोमस प्रोस्पेक्टिङ्ग प्लेटफर्म (MAPP) पनि थियो। MAPP चन्द्रमामा पुग्ने पहिलो व्यावसायिक रोभर भएको बताइएको छ।
IM-2 नाम दिइएको एथेना मिशन १० देखि १४ दिनसम्म सञ्चालन गर्ने योजना थियो। यो नासाको $२.६ अर्बको कमर्सियल ल्युनार पेलोड सर्भिसेज (CLPS) कार्यक्रमअन्तर्गत सम्झौता गरिएका १० मिशनमध्ये एक थियो, जसले निजी क्षेत्रलाई चन्द्रमामा अनुसन्धान तथा अन्य उपकरणहरू पठाउन प्रेरित गर्ने उद्देश्य राखेको थियो।
यसैबीच, अर्को निजी कम्पनी फायरफ्लाइ एयरोस्पेसको ब्लु गोस्ट मिशन १ भने सफलतापूर्वक अवतरण गर्न सफल भएको छ। यो यान चन्द्रमाको उत्तर-पूर्वी भागमा रहेको मोन्स लाट्रेल क्षेत्रमा आइतबार अवतरण गरेको थियो।
यद्यपि, IM ले एथेना मिशनलाई सकारात्मक रूपमा व्याख्या गर्दै यसले चन्द्रमाको सबैभन्दा दक्षिणी क्षेत्रसम्म पुगेको इतिहास रचेको बताएको छ। “यस क्षेत्रमा कठोर सूर्यको प्रकाश र पृथ्वीबाट सीमित प्रत्यक्ष सम्पर्कका कारण अहिलेसम्म अवतरण टारिएको थियो। तर, IM-2 मिशनबाट प्राप्त उपलब्धिहरूले भविष्यमा चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा अनुसन्धानको नयाँ ढोका खोल्नेछन्।”
हाल एथेना १५ फिट (४.६ मिटर) लम्बाइको यान आफ्नो छेउमा पल्टिएको अवस्थामा रहेको छ। यस क्षेत्रको चरम चिसो तापक्रम र सौर्य प्यानलको गलत दिशा भएकाले पुन: चार्ज हुने सम्भावना नरहेको IM ले जनाएको छ।