logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

ग्वार्को फ्लाइओभरको मापदण्ड नपुगेपछि भत्काइयो

ग्वार्को फ्लाइओभरको मापदण्ड नपुगेपछि भत्काइयो


  • शुक्रबार, चैत्र १ २०८१
  • 1.1K
    SHARES

    १ चैत, काठमाडौं । निर्माण अन्तिम चरणमा पुगेको ललितपुरस्थित ग्वार्को फ्लाइओभरको केही भाग भत्काइएको छ। सडक विभागको निरीक्षणका क्रममा मापदण्ड नपुगेको पाइएपछि भत्काउन निर्देशन दिइएको हो।

    सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार प्रिकास्ट प्यानलतर्फको केही भाग मापदण्ड अनुरूप नभएकाले भत्काउन लगाइएको छ। उनले भने, “निर्माण कम्पनीले पुनः मापदण्ड पूरा गरी निर्माण गर्नेछ।”

    निर्माण पुनः गर्दा पनि निर्माण कम्पनीले तोकेको समयमै आयोजनाको काम सम्पन्न गर्नुपर्नेछ। सडक विभागका अनुसार सुरुमा पर्खाल खडा गरी माटो भरेर काम गर्दा पर्खाल चर्किन थालेको थियो। जसका कारण सातदोबाटोतर्फको पर्खाल भत्काउनु परेको हो। करिब ३० देखि ४० मिटर पर्खाल पुनर्निर्माण गर्नुपर्ने देखिएको छ।

    पटक–पटक अवरुद्ध हुँदै आएको फ्लाइओभरको काम हालसम्म ८० प्रतिशतभन्दा माथि पुगेको छ। निर्माण कम्पनीले पाएको समयसीमा गत मंसिरमै सकिएको थियो। त्यसयता कम्पनीले जरिबाना तिरेर निर्माण कार्यलाई निरन्तरता दिएको छ। चैतसम्म काम सक्ने लक्ष्य राखिएको थियो, तर पुनर्निर्माण आवश्यक परेपछि अवधि लम्बिन सक्ने देखिएको छ।

    ग्वार्को फ्लाइओभर ‘इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्ट्रक्सन’ (ईपीसी) मोडेलमा निर्माण भइरहेको छ। यसको ठेक्का आशिष/समानान्तर/रेलिगेर जेभीले लिएको छ। यसअघि सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले परीक्षण गर्दा निर्माण कम्पनी असन्तुष्ट रहेको थियो। तर, अनुगमन र परीक्षणपछि पर्खाल चर्किन थालेपछि फ्लाइओभरको केही भाग भत्काउनुपर्ने अवस्था आएको हो।

    प्रकाशित : शुक्रबार, १ चैत्र २०८१ , ०१:३८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend