logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

नागरिक निगरानी समूह बुटवल खण्ड गठन

नागरिक निगरानी समूह बुटवल खण्ड गठन


  • मंगलबार, चैत्र ५ २०८१
  • 832
    SHARES

    लोकसारथि, ५ चैत । बुटवल चन्द्रौटा सडक परियोजना अन्तर्गत पर्ने क्षेत्रका टोल संस्थाका अध्यक्षहरू, जनप्रतिनिधिहरू र नागरिक अगुवाहरूको भेलाले नागरिक निगरानी समूह बुटवल खण्ड गठन गरेको छ। जेष्ठ नागरिक पुरुषोत्तम बस्यालको आतिथ्यतामा आयोजित भेलामा सडक निर्माणसँग सम्बन्धित विभिन्न समस्या तथा सम्भावनाहरूबारे छलफल गरिएको थियो।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर २, १२, र १३ का टोल विकास संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। भेलामा सडक योजना इन्जिनियरहरू सचिन बैदार, अनिष थापा, र हेमचन्द्र पोखरेलको सहभागितामा सडक र बस्तीबीचको वाल, खानेपानी आपूर्तिको सम्भावित समस्या, कुलो व्यवस्थापन, विद्युत् आपूर्ति, चुरे पहाड क्षेत्र विशेष गरी पाखापानी क्षेत्रमा पर्ने प्रभाव, रुख कटान, सडक अवरोध, सडक व्यापारीहरूको समस्या, लेन व्यवस्थापन, डिभाइडर, अन्डरपास, ओभरहेड ब्रिज र सडक पेटी व्यवस्थापन जस्ता विषयमा विस्तृत छलफल गरियो।

    इन्जिनियरहरूले उपस्थित व्यक्तिहरूको जिज्ञासाहरू सुन्दै, सुधारका आवश्यक पक्षहरू पहिचान गर्न टोल विकास संस्था, वडा कार्यालय तथा नागरिक निगरानी समूहसँग सहकार्य गर्दै अगाडि बढ्ने सुझाव दिए। भेलाले लालबहादुर गुरुङलाई संयोजक र गंगादत्त पौडेललाई सह-संयोजक नियुक्त गर्दै सबै टोल अध्यक्षहरू सदस्य रहने गरी नागरिक निगरानी समूह बुटवल खण्ड गठन गरेको छ। साथै वडा नम्बर २, १२, र १३ का अध्यक्षहरू सल्लाहकार रहने निर्णय गरियो।

    कार्यक्रममा जेष्ठ नागरिक पुरुषोत्तम बस्याल, दलबहादुर पुन, हेमबहादुर रानालगायतले विभिन्न समस्या तथा समाधानका उपायहरू प्रस्तुत गरे। नागरिक निगरानी समूहका उपसंयोजक महेन्द्र श्रेष्ठ, सदस्य रुद्रलाल उपाध्याय, तथा वातावरणविद् गंगा पोखरेलले पनि छलफलमा भाग लिएका थिए। भेलामा उपस्थित विभिन्न व्यक्तिहरूले आफ्ना सुझाव प्रस्तुत गर्दै योजनाको छिटो कार्यान्वयनको माग गरेका थिए।

    समूहले स्थानीय समस्या समाधानका लागि सहजीकरण गर्ने, आवश्यक सुझाव प्रदान गर्ने तथा निर्माण कार्यको अनुगमन गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा कुल ४९ जना सहभागी भएका थिए।

    प्रकाशित : मंगलबार, ५ चैत्र २०८१ , ०२:०५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend