logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

पाल्पामा तीन दिन अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक

पाल्पामा तीन दिन अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक


  • शनिबार, असोज १८ २०८२
  • 1.9K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    पाल्पा जिल्लामा लगातारको वर्षा र त्यससँगैको बाढी–पहिरो जोखिमका कारण तीन दिनका लागि अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

    जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले असोज १८ गतेदेखि २० गतेसम्म अत्यावश्यक सेवाबाहेकका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको हो।

    जिल्लाका प्रमुख जिल्ला अधिकारी बनु बज्राचार्य कुँवरका अनुसार वर्षासँगै पहिरोको जोखिम बढेकाले जनधनको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गर्नुपरेको हो।

    उनका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउँ गाउँपालिका–३ को सिद्धबाबा सडकखण्ड, बिसमाइल फुलस्थित सडक, तिनाउँ–५ चरचरे र हिउँदे खोला क्षेत्र, पाल्पा–गुल्मी सडकखण्ड तथा कालीगण्डकी करिडोरमा ठूलो जोखिम देखिएको छ।

    यसका कारण असोज १८, १९ र २० गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सवारी साधन चलाउन पूर्ण प्रतिबन्ध लगाइएको हो।

    त्यसैगरी, समितिको बैठकले लामो तथा छोटो दुरीका सवारी साधन नचलाउन यातायात व्यवसायीहरूलाई आग्रह गर्ने निर्णय गरेको छ। साथै, सम्भावित विपद् व्यवस्थापनका लागि स्थानीय तहहरूलाई उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

    लगातारको वर्षाले जिल्लाका विभिन्न स्थानमा पहिरो खस्ने, बाटो अबरुद्ध हुने र दुर्घटनाको जोखिम बढेकाले प्रशासनले नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन समेत अनुरोध गरेको छ।

    प्रकाशित : शनिबार, १८ असोज २०८२ , ०३:४२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend