logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

युद्ध जारी रहनेछ! रूस–युक्रेन युद्धबारे पुटिनले ट्रम्पलाई दिए कडा सन्देश

युद्ध जारी रहनेछ! रूस–युक्रेन युद्धबारे पुटिनले ट्रम्पलाई दिए कडा सन्देश


  • शुक्रबार, असार २० २०८२
  • 1K
    SHARES

    – लोकसारथि संवाददाता, काठमाडौं ।

    मस्को, रूस । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हालैको टेलिफोन वार्ताले रुस–युक्रेन युद्धको अन्त्य चाँडै नहुने संकेत दिएको छ। बिहीबार भएको फोन संवादमा पुटिनले स्पष्ट रूपमा भनेका छन् कि जबसम्म रूसले आफ्ना लक्ष्य हासिल गर्दैन, तबसम्म युद्ध रोकिदैन।

    पछिल्ला तीन वर्षभन्दा लामो समयदेखि जारी यो संघर्ष अन्त्य गर्न ट्रम्पले विगत केही महिनायता सक्रिय पहल गर्दै आएका छन्। तर हालसम्म कुनै ठोस सफलता हात परेको छैन। राष्ट्रपति पद सम्हालेपछि ट्रम्प र पुटिनबीच भएको यो छैठौं संवाद हो।

    पुटिनको कडा सन्देश

    क्रेमलिनका प्रवक्ता युरी उशाकोभका अनुसार, दुबै नेताबीच विस्तृत वार्ता भएको हो। वार्तामा ट्रम्पले युद्ध चाँडै अन्त्य हुनु आवश्यक रहेकोमा जोड दिएका थिए। जवाफमा पुटिनले शान्तिपूर्ण संवादमा विश्वास राख्ने बताएका भए पनि युद्ध रोक्नका लागि पहिलो सर्त भनेका छन् — रूसका मुख्य उद्देश्यहरू पूरा हुनु।

    रूसको दाबी अनुसार, युक्रेनलाई NATO (नाटो) मा सामेल हुन रोक्नु नै युद्धको मूल कारण हो। किनकि यदि युक्रेन नाटोमा पुग्यो भने पश्चिमी देशहरूले युक्रेनको भूमिबाट रूसमाथि हमला गर्न सक्ने सम्भावना रहेको बताइन्छ।

    हतियार आपूर्तिबारे पनि छलफल

    शुक्रबार डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेंस्कीबीच पनि संवाद हुने सम्भावना छ। यो संवादमा अमेरिकाले हालै युक्रेनलाई दिन लागिएको हतियार आपूर्ति रोकेको निर्णयको विषयमा प्रमुख रुपमा छलफल हुने बताइएको छ।

    जेलेंस्कीले यसबारे ट्रम्पसँग खुल्ला संवाद गर्न चाहेको पहिले नै बताएका थिए। अमेरिकी प्रशासनले सुरक्षा रणनीतिअनुसार आफ्नो हतियार भण्डारको समीक्षापछि आपूर्ति रोकेको स्पष्टीकरण दिएको छ।

    कुन–कुन हतियार रोकियो?

    अहिलेका लागि १५५ मिमी आर्टिलरी सेल र प्याट्रियट एयर डिफेन्स सिस्टमको आपूर्ति रोकिने निर्णय भएको छ। यी दुवै रुसी ड्रोन र मिसाइल आक्रमणबाट युक्रेनलाई जोगाउन अत्यन्तै महत्त्वपूर्ण हतियार मानिन्छन्।

    यो निर्णयपछि युक्रेन र अमेरिका सम्बन्धमा थप तनाव देखिन सक्ने अड्कल गर्न थालिएको छ।

    प्रकाशित : शुक्रबार, २० असार २०८२ , ०६:४७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend