logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

बेनी नगरपालिका: १२ गौरवका आयोजना कार्यान्वयन, १२ करोड बजेट विनियोजन

बेनी नगरपालिका: १२ गौरवका आयोजना कार्यान्वयन, १२ करोड बजेट विनियोजन


  • बिहिबार, फाल्गुन ८ २०८१
  • 624
    SHARES

    लोकसारथि, ८ फागुन । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१-८२ मा १२ गौरवका आयोजनाहरू कार्यान्वयन गर्दै आएको छ। नगरपालिकाले सडक, पर्यटन, कृषि र शैक्षिक संस्थाका पूर्वाधार निर्माणका लागि नौ करोड ४७ लाख बजेट विनियोजन गरेको छ। यस वर्षका आयोजना दुई वटा सम्पन्न, चार वटा निर्माणाधीन र तीन वटा ठेक्का प्रक्रियामा रहेका छन् भने थप तीन वटा योजनाको ठेक्का आव्हानको तयारीमा छन्।

    बेनी नगरपालिकाका इन्जिनियर सुदिप गौतमका अनुसार, २५ लाख बजेटमा बेनी–लभ्लिहिल–ज्यामरुककोट सडकको स्तरोन्नति र ३० लाख ५० हजार बजेटमा कालिपुल कृषि भवनको निर्माणको ठेक्का सम्झौता भई काम सम्पन्न गरिएको छ।

    नगरपालिकाले बेनी–अर्थुङ्गे–तोरीपानी–पात्लेखेत सडकको ८० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिएको छ। यो सडक योजना बेनी नगरपालिकाको सबैभन्दा ठूलो र धेरै बजेट भएको आयोजना हो, जसमा संघीय सरकार र बेनी नगरपालिका ५०-५० प्रतिशत साझेदार छन्।

    अर्थुङ्गे–पुलाचौर र महारानीथान–छाप–डाँडाखेत सडकका लागि ठेक्का सम्झौतामा २० प्रतिशत प्रगति भएको बताइएको छ। यस्तै, रत्नेचौरको परम वैदिक सनातन धार्मिक आश्रम र श्रीलक्ष्मीहरी मन्दिरको पुर्वाधार निर्माणको ८ प्रतिशत प्रगति भएको छ।

    नगरपालिकाले १२ करोड ४३ लाख २५ हजार बजेटका लागि पूर्वाधार आयोजना कार्यान्वयन गरेको छ। यस वर्ष १० वटा वडाका २९९ वटा वडा स्तरीय योजनामा १०७ वटा सम्पन्न भई ८५ वटा सम्झौतामा छन् भने १०७ वटा कार्यान्वयनमा रहेका छन्।

    प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २१ वटा योजनामा ४ वटा सम्झौता भएका र १७ वटा सम्झौता गर्न बाँकी छन्। यसका साथै, ५ लाखसम्मका बजेटका योजनाहरू वडा कार्यालयमा सम्झौता गर्ने व्यवस्था गरिएको छ।

    नगरपालिकाले योजनाको गुणस्तर कायम गर्न नियमित अनुगमन र प्रभावकारी बनाउनेतर्फ जोड दिएको छ।

    प्रकाशित : बिहिबार, ८ फाल्गुन २०८१ , ०७:१५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend