लोकसारथि, २७ फागुन । राष्ट्रिय अवार्ड विजेता निर्देशक दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘महाभोज’ आगामी जेठ १५ गते गणतन्त्र दिवसको दिन प्रदर्शन हुने भएको छ। मंगलबार सार्वजनिक गरिएको फर्स्टलुक पोस्टर मार्फत प्रदर्शन मिति घोषणा गरिएको हो। नेपालसहित विदेशमा पनि फिल्म एकसाथ रिलिज गरिने जनाइएको छ।
पोस्टरमा आर्यन सिग्देल नेताको भूमिकामा
ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेको पोस्टरमा फिल्मका प्रमुख कलाकारहरू गम्भीर भावमा चित्रित छन्। आर्यन सिग्देल पोस्टरको केन्द्रमा देखिएका छन्, जसले नेपाली झन्डा अंकित लोगोसहित कालो टोपी र कोट लगाएका छन्। पोस्टरमा खगेन्द्र लामिछाने, दयाहाङ राई, अञ्जना बराइली, गौमाया गुरुङ, र मलिका महत पनि देखिन्छन्।
पोस्टरको पृष्ठभूमिमा नेपाली मुद्राको डिजाइन झल्काइएको छ, जसले आर्थिक असमानता र सत्ताको प्रभावलाई संकेत गर्छ।
भ्रष्टाचारविरुद्धको विद्रोही कथा
निर्देशक दिनेश राउतका अनुसार ‘महाभोज’ समाजमा व्याप्त भ्रष्टाचार, विश्वासघात र अन्यायविरुद्धको कथा हो। उनले भने, “सर्वसाधारणको जीवन र उनीहरूको भरोसामाथि हुने खेलबाडविरुद्ध फिल्मले विद्रोही स्वर उठाएको छ।”
‘महाभोज’ निर्देशक राउतको आठौँ फिल्म हो। यसअघि उनको निर्देशित ‘पूजार सार्की’ सुपरहिट भएको थियो।
प्राविधिक टिम र निर्माण पक्ष
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको ‘महाभोज’का निर्माता हिमाल कडरिया हुन्। उनले यसअघि ‘नाङ्गो गाउँ’ र ‘दुःखी आत्मा’ निर्माण गरेका थिए। फिल्मको स्क्रिप्ट विकास सुवेदीले लेखेका छन्, जो ‘पूजार सार्की’ र ‘प्रकाश’का लेखक पनि हुन्।
फिल्ममा राजेश श्रेष्ठको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व तथा मौसम हिमालीको कोरियोग्राफी रहेको छ।
नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक यथार्थको कथावस्तु समेटिएको ‘महाभोज’ले दर्शकमाझ कस्तो प्रभाव पार्छ भन्ने हेर्न बाँकी छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
