सम्पादकीय
‘पशु’ शब्दलाई केवल घरपालुवा जनावरको अर्थमा सीमित गर्न मिल्दैन। चराचर जगत्का जीवात्मालाई व्यापक अर्थमा ‘पशु’का रूपमा बुझिन्छ। ‘पति’ अर्थात् स्वामी र ‘नाथ’ अर्थात् अधिपति वा संरक्षक। त्यसैले पशुपतिनाथ—समस्त जीवजगत्का नाथ भन्ने सनातन भाव आफैंमा गहन छ।
सनातन परम्परामा भगवान् महादेवलाई श्रीकृष्णका आराध्यदेवका रूपमा पनि स्मरण गरिन्छ। महादेवको ‘पशुपति’ स्वरूपले मानिस मात्र होइन, सम्पूर्ण जीवजगत्प्रतिको संरक्षण र करुणाको सन्देश दिन्छ।
आस्थाको परीक्षा पूजा होइन, व्यवहारले गर्छ । हामी पशुपतिनाथको दर्शन गर्छौं। व्रत बस्छौं। पूजा गर्छौं। घण्टी बजाउँछौं। फूल, अक्षता र जल अर्पण गर्छौं। ‘हर हर महादेव’ उच्चारण गर्छौं तर प्रश्न यहाँबाट सुरु हुन्छ—पशुपतिनाथको आराधना गर्ने हामीले पशुपतिनाथकै सृष्टिका जीवप्रति कस्तो व्यवहार गरिरहेका छौं ?
आमाबुवाको काखमा रहेको सन्तानले आफूलाई सुरक्षित ठान्छ। ठान्न पाउनु पनि पर्छ । सन्तानमाथि संकट आइपर्दा पहिले आमाबुवाको हृदय दुख्छ। त्यस्तै, सनातन दर्शनले समस्त जीवलाई एउटै विराट् सृष्टि–व्यवस्थाका अंगका रूपमा हेर्छ। यदि हामी पशुपतिनाथलाई चराचर जगत्का नाथ मान्छौं भने पशुपक्षीप्रतिको हाम्रो व्यवहार पनि त्यही आस्थाको परीक्षाको विषय बन्नुपर्छ।
मन्दिरमा महादेवलाई पूजा गर्ने हातले निर्दोष प्राणीको घाँटी रेट्दा त्यो विरोधाभासबारे हामीले कहिल्यै गम्भीर भएर सोचेका छौं? स्वादका लागि कसैको जीवन समाप्त गर्नु कति न्यायसंगत हुनै सक्दैन । मानिसलाई जीवन प्रिय छ। उसलाई पीडा हुन्छ। उसलाई भय हुन्छ। ऊ बाँच्न चाहन्छ। त्यसैगरी पशुपक्षी पनि जीवन चाहन्छन्। उनीहरू मानिसजस्तो आफ्नो पीडा शब्दमा व्यक्त गर्न सक्दैनन् भन्दैमा उनीहरूलाई पीडा हुँदैन भन्ने निष्कर्ष निकाल्न सकिँदैन। उनीहरूको जीवनको मूल्य मानिसको जिब्रोले निर्धारण गर्ने विषय होइन।
राँगा, पाडा, भैंसी, गाई, बोका, खसी, बाख्रा, कुखुरा, माछा—यी सबै जीवित प्राणी हुन्। उनीहरूलाई केवल ‘खाने वस्तु’का रूपमा हेर्नु हाम्रो चेतनाको सीमितता हो। केवल स्वादका लागि एउटा जीवन समाप्त गर्नु मानिसको आवश्यक जिम्मेवारी हो र? यो प्रश्न अरूलाई होइन, प्रत्येक व्यक्तिले आफैंलाई सोध्नुपर्ने प्रश्न हो।
हामीमध्ये धेरैले भन्छौं—“मैले कहाँ मारेको छु र? बजारबाट किनेर ल्याएको हुँ।” तर कर्मको नैतिक जिम्मेवारीलाई यति सजिलै छुट्याउन सकिन्छ?
कसैले हत्या गर्छ, अर्कोले किन्छ, अर्कोले पकाउँछ र अर्कोले खान्छ भने ती सबै कर्म–शृंखलाका सहभागी हुन्। जसरी घुस लिने र दिने दुवै गलत कर्मका भागीदार हुन्छन्, त्यसैगरी हिंसाबाट प्राप्त भोजनको सम्पूर्ण प्रक्रियामा आफ्नो भूमिका के छ भन्ने प्रश्नबाट मानिस भाग्न मिल्दैन।
यौन दुराचार र तामसिक आहारमा तन, मन, कर्म वचनले आधुनिक मासिनहरु लागी परेका छन् । ‘थुतुनो र मुतुनो’—मानव पतनका दुई द्वार हुन् भन्ने यथार्थमाथि स्थार्थको पर्दा हालिएको छ । सनातन चिन्तनले इन्द्रिय–निग्रहलाई अत्यन्त महत्त्व दिएको छ। मानिसको पतन बाहिरबाट मात्र हुँदैन । त्यसको सुरुवात आफ्नै इन्द्रियहरूमाथिको नियन्त्रण गुमेपछि हुन्छ।
थुतुनो अर्थात् जिब्रो—स्वादको आकर्षण। मुतुनो अर्थात् जननेन्द्रिय—कामवासनाको आकर्षण। यी दुई शक्तिशाली इन्द्रियलाई विवेक र संयमले नियमन गर्न नसक्दा मानिस क्रमशः तामसिक जीवनशैली, असंयम र हिंसातर्फ धकेलिन सक्छ। खानाले शरीर मात्र बनाउँदैन । हाम्रो जीवनशैली, विचार र व्यवहारसँग पनि यसको सम्बन्ध हुन्छ। त्यसैले सनातन परम्पराले सात्त्विक आहारलाई केवल भोजनको विषय नबनाई चेतनाको शुद्धीकरणसँग जोडेको छ।
प्रश्न मांसाहारी वा शाकाहारी भनेर मानिसलाई विभाजन गर्ने होइन। प्रश्न हो—के हामी आफ्नो जिब्रोका लागि अर्को प्राणीको जीवन समाप्त गर्नैपर्ने अवस्थामा पुगेका छौं? गीताको ज्ञान केवल उच्चारण गर्नका लागि होइन । हामी श्रीमद्भगवद्गीताका श्लोक पढ्छौं। कृष्णका उपदेश सुनाउँछौं। कर्मफलको सिद्धान्तबारे चर्चा गर्छौं तर कर्मफललाई जीवनमा कति उतार्छौं?
यदि कर्मको फल हुन्छ भन्ने विश्वास गर्छौं भने हाम्रो कर्मप्रति जिम्मेवार हुनैपर्छ। धर्म केवल मन्दिरको ढोकाभित्र सीमित हुँदैन। धर्म हाम्रो व्यवहार, भोजन, विचार, सम्बन्ध, संयम र कर्ममा देखिनुपर्छ। गीताको ज्ञान केवल प्रवचनको विषय बनेर रह्यो भने त्यसले जीवन परिवर्तन गर्दैन। ज्ञान सुन्ने कुरा होइन, जिउने कुरा हो। यही ठाउँमा हाम्रो चेतनाको वास्तविक परीक्षा हुन्छ।
कतिपय मानिसको तर्क हुन्छ—“मरेपछि के हुन्छ कसैलाई थाहा छैन। कर्मफल हुन्छ भन्ने प्रमाण के छ? त्यसैले जीवन जसरी इच्छा लाग्छ त्यसरी जिउनुपर्छ।”
तर अलिकति गहिरिएर सोचौं। तपाईंले संसारका सबै देश देख्नुभएको छ? देख्नुभएको छैन भने ती देश अस्तित्वमै छैनन् भन्न मिल्छ?
हामी आफ्नै शरीरभित्रका अधिकांश अंग प्रत्यक्ष आँखाले देख्दैनौं। रक्तनली, आन्द्रा, फोक्सो, मिर्गौला, फियो, विभिन्न ग्रन्थि, प्रजननसम्बन्धी भित्रीअंग—यीमध्ये अधिकांशलाई मानिसले आफ्नो जीवनभर प्रत्यक्ष देखेको हुँदैन। तर तिनको अस्तित्वमा हामी शंका गर्दैनौं।
मन देखेका छौं ? चित्त देखेका छौं ? तर “मन पर्यो”, “चित्त बुझ्यो” भन्ने शब्द हामी दिनहुँ प्रयोग गर्छौं। यसको अर्थ के हो? प्रत्यक्ष आँखाले नदेखिनु अस्तित्व नहुनुको प्रमाण होइन। त्यसैगरी सनातन दर्शनले वर्णन गरेको सूक्ष्म जगत्, कर्मको विधान र कर्मफलको व्यवस्था हाम्रो आँखाले प्रत्यक्ष नदेखिए पनि त्यसलाई तत्कालै अस्वीकार गरिहाल्नु विवेकसम्मत निष्कर्ष हुन सक्दैन।
प्रकृतिलाई बल, बुद्धि, विवेक र प्रविधिको दुरुपयोगबाट चुनौती दिँदा त्यसको परिणाम जीवमैत्री हुँदैन । मानिसले आफूलाई प्रकृतिको मालिक ठान्न थालेको छ। तर वास्तवमा मानिस प्रकृतिको एउटा सानो अंश मात्र हो। अग्नि, जल, वायु, आकाश र पृथ्वी—पञ्चमहाभूतसँग खेल्ने अधिकार मानिसलाई छैन। वन विनाश, नदी अतिक्रमण, प्रदूषण, जीव हिंसा, अनियन्त्रित उपभोग र प्रकृतिमाथिको निरन्तर दबाबले मानव सभ्यतालाई आफ्नै कर्मको परिणामतर्फ धकेलिरहेको छ।
विभिन्न प्राकृतिक विपत्तिहरूबारे वैज्ञानिक र वातावरणीय विश्लेषणहरूले बारम्बार चेतावनी दिइरहेका छन्। बाढी, पहिरो, अतिवृष्टि, खडेरी, तापक्रम वृद्धि र अन्य विपत्तिलाई केवल दैवी दण्ड भनेर बुझेर वैज्ञानिक कारणहरूलाई बेवास्ता गर्नु पनि उचित होइन। सनातन दृष्टिबाट हेर्दा यसलाई कर्म र प्रकृतिप्रतिको हाम्रो व्यवहारबारे आत्मपरीक्षण गर्ने अवसरका रूपमा अवश्य लिन सकिन्छ। प्रकृतिको सन्तुलन भत्काएर मानिसले सुरक्षित भविष्य खोज्न सक्दैन।
विनाशकालमा मानिसको बुद्धिले विपरीत मार्ग अपनाउन थाल्छ रे । आचरणमा देखिएका समस्यालाई कलियुगको प्रभाव भनेर व्याख्या गर्नुको सट्टा मानिसको विचार र व्यवहारमा आएको विचलनले निम्तिएको प्रतिफल हो भनी बुझ्नु आवश्यक छ । सनातन ग्रन्थहरूले कलियुगको चर्चा गरेका छन्। आज समाजमा हिंसा, असंयम, लोभ, काम, क्रोध र उपभोगवादी मानसिकता बढ्दै गएको देखिन्छ। यो सारा कलिले गरायो नभनौँ । सच्चा सन्तहरु कलिको प्रभावमा किन आउँदैनन? त्यो पनि विचार गरौँ । यो आचरण र आहारको शुद्धिका कारणले सम्भव भएको हो ।
सोधनी गरौँ । हामीले आफ्नो चेतना कहाँ पुर्याएका छौं? मानिस भएर जन्मिएपछि पनि यदि हाम्रो जीवन केवल स्वाद, वासना, लोभ र स्वार्थको पछाडि दौडिरह्यो भने मानव जन्मको उच्च सम्भावनालाई हामीले कति उपयोग गर्यौं?
दीयो निभ्नुअघि एकपटक अझ बढी चम्किन्छ भनिन्छ। त्यसैगरी संकट गहिरिनुअघि चेतना पनि सुप्तावस्थामा जान्छ रे । के आज यही भएको हो ? अवसरलाई हामीले समात्ने कि गुमाउने? पशुपक्षी पनि वसुन्धराका सन्तान हुन् । वसुन्धरा केवल मानिसकी आमा होइनन्। उनको काखमा मानिससँगै पशुपक्षी, कीटपतङ्ग, वनस्पति र असंख्य जीवले जीवन पाएका छन्। हामीले आफूलाई पृथ्वीको सर्वोच्च प्राणी ठानेका छौं। त्यसैले हाम्रो जिम्मेवारी पनि अरूभन्दा ठूलो हुनुपर्ने होइन र? तर आज अवस्था उल्टो हुँदैछ। जसले बोल्न सक्दैन, उसको जीवनमाथि हामी निर्णय गर्छौं। जसले आफ्नो अधिकार माग्न सक्दैन, उसको शरीरलाई आफ्नो स्वादका लागि प्रयोग गर्छौं। जसले प्रतिकार गर्न सक्दैन, उसैमाथि शक्ति प्रयोग गर्छौं। के यही मानवता हो? क्रूरताको पनि सीमा हुन्छ ।
दशैं, तिहार आउँदैछ । चाडपर्वको नाममा हिंसा होइन, करुणाको उत्सव गरौं । धर्म र संस्कृतिका नाममा पुस्तौंदेखि चलिआएका अभ्यासमाथि पनि समयअनुसार पुनर्विचार गर्न सकिन्छ। परम्परा सम्मानयोग्य हुन्छ, तर हरेक परम्पराको नैतिक परीक्षण गर्न सकिन्छ। यदि कुनै परम्पराले हामीलाई करुणा, संयम, सत्य, सेवा र सहअस्तित्व सिकाउँछ भने त्यसलाई जीवनमा अझ गहिरो बनाऔं।
यदि कुनै अभ्यासले केवल हिंसा, भय र पीडा बढाउँछ भने त्यसमाथि प्रश्न उठाऔँ । चाडपर्व भनेको हर्ष, मिलन, भक्ति र सद्भावको अवसर हो। त्यसलाई निर्दोष प्राणीको जीवन समाप्त गर्ने अवसरमा परिणत नगरौं। दिवालमा बल बजार्दा त्यो ठोक्किएर आफैतिर हुत्तिन्छ । यसैगरी अरुलाई दिइएको पीडारुपी बल पनि उनीहरुको हृदयमा ठोक्किएर आफैतिर आउँछ ।
हामी पशुपतिनाथसँग सुरक्षा माग्छौं। रोगबाट बचाइदिनुहोस् भन्छौं। सन्तानको रक्षा गरिदिनुहोस् भन्छौं। घरपरिवारमा सुख–शान्ति माग्छौं। देशको रक्षा गरिदिनुहोस् भन्छौं। यही भावना पशुपतिनाथको सृष्टिका अन्य सन्तानप्रति राख्नु मानवजातिका लागि कल्याणकारी हुन्छ ।
पशुपतिनाथलाई फूल चढाउने हातले एउटा जीवलाई बचाउन सक्यो भने त्यो पूजा अझ अर्थपूर्ण हुँदैन? ‘हर हर महादेव’ उच्चारण गर्ने जिब्रोले हिंसा त्याग्ने प्रण गर्न सक्यो भने त्यो भक्ति अझ पवित्र हुँदैन?
अबैदेखि संकल्प गरौं— पशुपक्षीलाई सहयोग गछौँ। उनीहरूको जीवन बचाउँछौँ। केवल स्वादका लागि हिंसा गर्दैनौँ। निर्दाेष पशुपक्षीको हत्यालाई रोक्छौँ ।
बालबालिकालाई करुणा सिकाउँछौँ। आहारमा संयम अपनाउँछौँ । आफ्ना इन्द्रियमाथि नियन्त्रण राख्छौँ। प्रकृतिको संरक्षक बन्छौँ र आफ्नो कर्मप्रति स्वयं जिम्मेवार बन्छौँ। किनकि धर्म अरूलाई उपदेश दिने विषय मात्र होइन । आफूले हिँड्ने बाटो हो। पशुपतिनाथको आराधना गर्ने हो भने पशुपतिका सन्तानलाई पनि माया गर्न सिकौं। महादेवलाई जल चढाउने हो भने पृथ्वीको जलस्रोत बचाऔं। मन्दिर सफा राख्ने हो भने प्रकृति सफा राखौं। शिवलाई प्रसन्न पार्न खोज्ने हो भने हिंसा, लोभ र असंयम घटाऔं। पशुपतिनाथलाई पुजेर पशुपतिका सन्तानमाथि अत्याचार गर्ने विरोधाभासबाट अब बाहिर निस्कौं।
हाम्रो चेतना अब पनि जागेन भने प्रलयको चोटबाट बच्न हामी सक्दैनौँ । अझै समय छ। हो, आफूलाई बदल्ने समय छ। आहार बदल्ने समय छ। व्यवहार बदल्ने समय छ। हिंसा त्याग्ने समय छ। प्रकृतिसँग सम्बन्ध सुधार्ने समय छ।
पशुपक्षीलाई बचाऔं। प्रकृतिलाई बचाऔं। आफ्नो चेतनालाई बचाऔं। किनकि अन्ततः हामीले बचाउने पृथ्वी अरू कसैको होइन—हाम्रै सन्तानको भविष्य हो। स्मरण रहोस्— पशुपतिनाथका सन्तानलाई माया गर्नु नै पशुपतिनाथप्रतिको हाम्रो आस्थाको एउटा जीवन्त प्रमाण हो।
जय श्रीकृष्ण ! जय राधे !
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
