बुटवल । क्रिमसन कलेज अफ टेक्नोलोजी (CCT) को अनुसन्धान व्यवस्थापन केन्द्र (Research Management Cell–RMC) को आयोजनामा “Research in the Digital Era: IT Tools, Research Writing & Scholarly Communication” विषयक एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कलेजको आफ्नै सेमिनार हलमा आयोजित कार्यक्रममा CCT अन्तर्गतका IT, Management तथा Health Sciences संकायका ४२ जना प्राध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो। प्रशिक्षणमा अनुसन्धान लेखन, वैज्ञानिक प्रकाशन, शैक्षिक सञ्चार, सन्दर्भ व्यवस्थापन (Reference Management), LaTeX तथा अनुसन्धानमा प्रयोग हुने विभिन्न डिजिटल उपकरणका विषयमा सैद्धान्तिक तथा व्यावहारिक जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा डा. तिलक भुसालले अनुसन्धान लेखन, वैज्ञानिक प्रकाशन तथा शैक्षिक सञ्चारसम्बन्धी प्रशिक्षण दिनुभएको थियो भने सञ्जीव थापाले सन्दर्भ व्यवस्थापन, LaTeX तथा अनुसन्धानमा प्रयोग हुने विभिन्न डिजिटल उपकरणसम्बन्धी प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षकहरूले विषयगत प्रस्तुतीकरणसँगै सहभागीहरूलाई डिजिटल उपकरणको व्यावहारिक प्रयोग तथा अनुसन्धान सामग्री व्यवस्थापनका विषयमा जानकारी गराउनुभएको थियो। प्रशिक्षणका क्रममा सहभागीहरूले प्रश्नोत्तर, छलफल तथा प्रयोगात्मक अभ्यासमा सक्रिय सहभागिता जनाएका थिए।
कार्यक्रमको उद्घाटन क्रिमसन कलेज अफ टेक्नोलोजीका प्राचार्य देवीप्रसाद भण्डारीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन बलराम न्यौपानेले गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य भण्डारीले CCT बाट आगामी दिनमा अनुसन्धान तथा शैक्षिक गतिविधिलाई अझ व्यापक बनाउने उद्देश्य रहेको बताउनुभयो। उहाँले IT, Management तथा Health Sciences का प्राध्यापक तथा शिक्षकहरूबीच सहकार्य र समन्वय बढाउँदै अनुसन्धानका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
प्राचार्य भण्डारीले प्राध्यापक तथा शिक्षकहरूको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्दै अनुसन्धान, प्रकाशन तथा अन्य शैक्षिक गतिविधिका लागि कलेजबाट आवश्यक सहयोग र सहजीकरण उपलब्ध गराइने बताउनुभयो। साथै, आगामी पुस महिनाको अन्त्यतिर राष्ट्रिय सम्मेलन (National Conference) आयोजना गरी विभिन्न विधा तथा विषयका अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीहरूको व्यापक सहभागिता गराउने योजना रहेको जानकारी दिनुभयो। उहाँले CCT बाट अधिकभन्दा अधिक अनुसन्धान तथा नवप्रवर्तनसम्बन्धी गतिविधि सञ्चालन गर्दै कलेजको अनुसन्धान संस्कृतिलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
खड्काले आगामी दिनमा Mini Research कार्यक्रम तथा CJOST को दोस्रो Volume प्रकाशनलगायत अनुसन्धान तथा प्रकाशनसम्बन्धी गतिविधिलाई अघि बढाइने जानकारी दिनुभयो। साथै, सबै विभागका प्राध्यापक तथा शिक्षकहरू एकजुट भएर अनुसन्धानमा सक्रिय सहभागिता जनाएमा CCT बाट गुणस्तरीय अनुसन्धान, नवप्रवर्तन र उपयोगी शैक्षिक परिणाम हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
प्रशिक्षण कार्यक्रमले विभिन्न संकायका प्राध्यापक तथा शिक्षकहरूलाई अनुसन्धान लेखन, वैज्ञानिक प्रकाशन तथा डिजिटल अनुसन्धान उपकरणको प्रयोगसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्न सहयोग पुर्याएको आयोजकले जनाएको छ। साथै, कार्यक्रमले CCT मा अनुसन्धानमुखी, सहकार्यात्मक तथा नवप्रवर्तनमा आधारित शैक्षिक वातावरण निर्माण गर्ने आधार तयार गरेको बताइएको छ।
कार्यक्रमको समापन अनुसन्धान व्यवस्थापन केन्द्रका प्रमुख रामबहादुर खड्काले गर्नुभएको थियो। समापन मन्तव्यका क्रममा अनुसन्धान व्यवस्थापन केन्द्रका प्रमुख खड्काले अनुसन्धान तथा नवप्रवर्तनलाई प्रभावकारी बनाउन सम्पूर्ण प्राध्यापक तथा शिक्षकहरूको सामूहिक प्रयास, सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले अनुसन्धान कुनै एक व्यक्ति वा विभागको मात्र जिम्मेवारी नभई संस्थागत प्रयासबाट गुणस्तरीय परिणाम हासिल गर्न सकिने उल्लेख गर्नुभयो।
CCT को अनुसन्धान व्यवस्थापन केन्द्र (RMC) ले अनुसन्धान तथा नवप्रवर्तनसम्बन्धी गतिविधि प्रवर्द्धन, प्रशिक्षण, कार्यशाला, सम्मेलन तथा प्रकाशनमा सहजीकरण गर्ने उद्देश्य राखेको छ। कलेजको RMC सम्बन्धी आधिकारिक विवरणअनुसार यस्ता गतिविधि संस्थागत अनुसन्धान संस्कृतिलाई विकास गर्ने तथा प्राध्यापक, विद्यार्थी र अनुसन्धानकर्ताको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यसँग जोडिएका छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
