logo

बुधबार, ७ असोज २०८३

बुधबार, असोज ७ २०८३

बर्दियामा २६ महिनामा घरेलु हिंसाका ५२४ उजुरी

बर्दियामा २६ महिनामा घरेलु हिंसाका ५२४ उजुरी


  • बुधबार, असोज ७ २०८३
  • 52
    SHARES

    लोकसारथि संवाददाता, बर्दिया ।
    बर्दियामा पछिल्लो २६ महिनाको अवधिमा ५ सय २४ जना महिला घरेलु हिंसाबाट पीडित भएको भन्दै प्रहरीमा उजुरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय बर्दियामा रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा आर्थिक वर्ष २०८१/०८२ देखि चालू आर्थिक वर्ष २०८३/०८४ को भदौसम्म उक्त संख्यामा घरेलु हिंसासम्बन्धी उजुरी दर्ता भएको हो।

    प्रहरीका अनुसार सेवा केन्द्रमा दर्ता भएका घरेलु हिंसाका उजुरीमा घरायसी झै–झगडा, घरमा खानबस्न नदिएको, कुटपिट गरेको, विवाह दर्ता नगरिदिएको तथा नागरिकता नबनाइदिएको लगायतका विषय रहेका छन्।

    घरेलु हिंसासम्बन्धी उजुरी परेपछि पीडित र आरोपित दुवै पक्षलाई राखेर सम्भव भएसम्म आपसी समझदारीका आधारमा मिलापत्र गराउने गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी रेशम बोहराले जानकारी दिनुभयो। मिलापत्र हुन नसकेका उजुरीलाई भने सम्बन्धित निकायमा पठाउने गरिएको उहाँले बताउनुभयो।

    डिएसपी बोहराका अनुसार चालू आर्थिक वर्ष २०८३/०८४ मा हालसम्म घरेलु हिंसासम्बन्धी ७० वटा उजुरी प्रहरीमा आएका छन्। तीमध्ये ६० वटा उजुरीमा मिलापत्र भएको छ भने ८ वटा उजुरी मिलापत्र हुन नसकेपछि सम्बन्धित निकायमा पठाइएको छ। बाँकी २ वटा उजुरी अनुसन्धानको क्रममा रहेको प्रहरीले जनाएको छ।

    त्यसैगरी, गत आर्थिक वर्ष २०८२/०८३ मा २ सय ५ वटा घरेलु हिंसासम्बन्धी उजुरी दर्ता भएका थिए। तीमध्ये १ सय ७३ वटा उजुरीमा मिलापत्र भएको र ३३ वटा उजुरी सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ।

    आर्थिक वर्ष २०८१/०८२ मा भने घरेलु हिंसासम्बन्धी २ सय ४९ वटा उजुरी परेको थियो। ती सबै उजुरी टुंगो लगाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

    मिलापत्रमार्फत विवाद समाधानको प्रयास

    प्रहरीका अनुसार घरेलु हिंसाका उजुरी आएपछि तत्काल कानुनी प्रक्रियामा जानुअघि पीडितको अवस्था तथा घटनाको प्रकृति हेरी दुवै पक्षलाई बोलाएर समस्या समाधानको प्रयास गर्ने गरिएको छ। तर मिलापत्रबाट समाधान हुन नसक्ने वा थप कानुनी प्रक्रिया आवश्यक पर्ने प्रकृतिका उजुरीलाई सम्बन्धित निकायमा पठाउने गरिएको छ।

    घरेलु हिंसाका घटनामा पीडितले समयमै सम्बन्धित निकायमा उजुरी तथा सहायता माग्न सक्ने वातावरण आवश्यक रहेको प्रहरीको भनाइ छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमार्फत हिंसाबाट प्रभावित व्यक्तिलाई आवश्यक परामर्श तथा सहजीकरणसमेत उपलब्ध गराउने गरिएको प्रहरीले जनाएको छ।

    बर्दियामा पछिल्लो अवधिमा प्रहरीमा दर्ता भएका घरेलु हिंसाका उजुरीले परिवारभित्र हुने झै–झगडा, कुटपिट, आर्थिक तथा सामाजिक अधिकारबाट वञ्चित गराउनेजस्ता विषयलाई समेत उजुरीको माध्यमबाट बाहिर ल्याइरहेको देखिन्छ।

    प्रकाशित : बुधबार, ७ असोज २०८३ , ०७:५८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend