logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीय: किशोरी हत्याकाण्ड र हाम्रो समाजको प्रतिविम्ब

सम्पादकीय: किशोरी हत्याकाण्ड र हाम्रो समाजको प्रतिविम्ब


  • आइतबार, माघ २० २०८१
  • 520
    SHARES

    ‘‘अहिले म ताक्छु मुडो, बन्चरो ताक्छ घुडो’’ को अवस्था छ सर्वत्र । हर कुरा नियन्त्रणभन्दा बाहिर जाँदैछ । अहिलेका पुस्ताहरु स्वतन्त्रता मन पराउँछन् । उनीहरु साथी बनाउन स्वतन्त्र छन्, जे मन लायो खान स्वतन्त्र छन्, जहाँ जान मन लायो त्यहाँ जान स्वतन्त्र छन् । उनीहरुलाई गाडी, मोबाइल, बाइक, नयाँ नयाँ फेशनका तडकभडक लुगा लगायतका सबै सुविधा चाहिन्छ । उनीहरु भोगवादको प्रतिस्पर्धामा समर्पित देखिन्छन् । रसेन्द्रिय भोग (स्वादिलो तामसिक भोजन Junk, over fried, over spicy and non-veg foods), जनेन्द्रिय भोग (यौन इच्छा जुन सानै उमेरदेखि सक्रिय बन्न शुरु भयो), श्रवणेन्द्रिय भोग (प्रशंसा, they do not like to be scolded), घ्राणेन्द्रिय भोग (इत्र, अत्तर, विपरीत लिङ्ग–शरीर आदिको बासना, Smell, Malodor), चर्मेन्द्रिय भोग (शरीर स्पर्श , Physical Touch) आदिले आजभोलि प्राथमिकता पाइरहेको देखिन्छ । भोगेच्छामा कोइ बाधक बन्छ भने उसको जीवनसमेत समाप्त पार्न पछि नपर्ने रोगी मानसिकताको पुस्ता पाएको छ आजको समाजले । नैतिक चरित्रको दृष्टिकोणले मानव समाज आज बेसरी समस्याग्रस्त छ, संकटमा छ । यो अवस्था तामसिक आहार र कलुषित विचारको चरमोत्कर्ष हो । समाजरुपी सिंगो प्रणालीमा आहार र विचार रुपी अंगहरु बिग्रिएका छन् जसको भयावह परिणाम समाजले नै भोग्नुपरिरहेको छ । खसी, बोका, कुखुरा, हाँस, राँगा, गाइगोरु आदिलाई जसले मार्न सक्छ आफ्नो स्वार्थका लागि त्यसले मानिसलाई किन बाँकी राख्दो हो भन्ने कुरा हामीले बिर्सिँदै छौँ । हामी आज मानवरुपी दानवहरुका बिचमा छौँ । जुनसुकै बेला हिंसाको शिकार बन्न सक्छौँ । यस्तै फेरि अर्काे घटना दोहोरिएको छ ।

    अछाम जिल्लाको ढकारी गाउँपालिका–८ पल्सातामा घटेको दुःखद र विभत्स घटनाले सम्पूर्ण समाजलाई गहिरो सोचमा डुबाएको छ। दुई निर्दोष किशोरी, सरस्वती र इशराको नृशंस हत्या केवल व्यक्तिगत क्रोध र अस्वीकारको परिणाम होइन, यो हाम्रो समाजमा गहिरिएर बसेको संस्कार, परवरिश, र सामाजिक व्यवस्थाको विकृत प्रतिबिम्ब हो। ढकारी गाउँपालिकामा घटेको दुःखद र विभत्स घटनाले समाजको मौलिक संरचना र संस्कारप्रतिको गम्भीर प्रश्न उठाएको छ। दुई किशोरीको नृशंस हत्याले हाम्रो सामाजिक, पारिवारिक, र नैतिक मूल्यमान्यताको अवस्थालाई प्रकट गरिरहेको छ। यस्तो घटनाले केवल एक परिवारलाई होइन, सम्पूर्ण समाजलाई नै झक्झक्याएको छ।

    यस घटनामा प्रेम प्रस्ताव अस्वीकार गर्दा एक किशोरीको हत्या हुनु र त्यसको साक्षी बनेकी अर्की किशोरीको हत्या गर्नु, किशोर मनोविज्ञानमा छरिएका हिंसा, अधिकारहीनता, र असहिष्णुताका घातक बीजको उपज हो। किशोर अवस्थामा देखिने आवेग, स्वभाविक रूपमा नियन्त्रण गर्न सकिने हुनुपर्छ, तर जब समाजले आक्रोश र स्वार्थलाई व्यवस्थापन गर्न असफल हुन्छ, तब यस्ता क्रूर घटनाहरू घट्छन्।

    इन्टरनेटको गलत प्रयोग, तामसिक भोजन, अभिभावकीय लापरवाही, र किशोर-किशोरीबीचको असावधानीपूर्वक सम्बन्ध जस्ता कारणलाई मात्र दोष दिएर समाधान सम्भव छैन। यसको मूल जरा सामाजिक शिक्षा, नैतिक मूल्य, र संवादहीनताको गहिरो अभावमा छ। अभिभावकहरू आफ्ना सन्तानसँग खुला संवाद राख्न असफल हुँदा, किशोरहरू अनियन्त्रित मनोवृत्तिमा प्रवेश गर्छन्। समाजमा इन्टरनेटको पहुँच, तामसिक भोजन, अभिभावकहरूको गैरजिम्मेवार व्यवहार, र किशोर–किशोरीहरूको अनियन्त्रित सम्बन्ध जस्ता कुराहरूले यस्तो हिंसात्मक प्रवृत्ति बढाउँदै छन्।

    यस्ता घटनाहरूले हामीलाई के सिकाउँछ भने, हाम्रो शिक्षा प्रणालीमा नैतिकता र सहिष्णुताको पाठ अझ गहिरो गरिनुपर्छ। अभिभावकहरूले सन्तानप्रतिको उत्तरदायित्वलाई केवल आर्थिक सुविधा पुर्‍याउनुमा सीमित नराखी, उनीहरूको भावनात्मक विकासमा पनि ध्यान दिनुपर्छ। समाजले किशोर-युवकहरूलाई सही दिशामा लैजान सक्ने वातावरण तयार गर्नु अनिवार्य छ।

    हाम्रो समाजलाई मानवता, प्रेम, र समझदारीको बाटोमा डोर्याउन यस्तो हृदयविदारक घटनाबाट पाठ सिकेर सचेत हुन आवश्यक छ। यो घटना केवल एक अपराध मात्र होइन, चेतावनी पनि हो कि यदि हामीले अहिले पनि आफ्ना सामाजिक र पारिवारिक जीवनशैलीमा सुधार गरेनौं भने यस्ता घटनाहरू फेरि दोहोरिन सक्छन्।

    इन्टरनेटसँग जोडिनु, अश्लील सामग्रीको उपभोग, फिल्म र मिडियाको नकारात्मक प्रभाव, र आवश्यकता भन्दा बढी भोग विलासमा रमाउनुले किशोरहरूमा असंयमित मानसिकता विकास गराएको देखिन्छ। अभिभावकहरू आफ्ना सन्तानप्रति सतर्क नभएसम्म यस्तो घटनाहरू दोहोरिरहने सम्भावना रहन्छ।

    यस्ता घटनाको निवारण र निराकरण केवल कानूनी कारबाही वा सामाजिक चेतना मात्र होइन, आहार परिवर्तनबाट समेत सम्भव छ। आहार जबसम्म सात्विक हुँदैन, तबसम्म व्यक्तिको विचार वा सोच्ने तरिकामा परिवर्तन आउँदैन। कलुषित विचारका कारण व्यवहारमा सकारात्मक परिवर्तन सम्भव हुँदैन र सकारात्मकता बिनाको व्यवहारले संस्कारमा आवश्यक रुपान्तरण ल्याउँदैन। अभिभावकहरूले मांसाहार, मदिरापान, र नकारात्मक व्यवहारमा अंकुश लगाउनका लागि सर्वप्रथम आफ्नै आहारमा परिवर्तन ल्याउनु आवश्यक छ। किनकि आहार, विचार, व्यवहार र संस्कार यी तत्वहरु एक अर्कामा नङ र मासुझैँ आश्रित छन् । व्यक्तित्व विकास र नैतिकवान जीवनशैली निर्माणको यो एक चक्र हो । यसको शुद्धिकरण अपरिहार्य छ ।

    व्यक्तिको आहारले नैतिकता, संयम, र विवेकलाई निर्माण गर्छ। सात्विक आहारले शान्त, स्थिर, र सकारात्मक विचारधारा विकास गर्छ, जसले संस्कारमा गहिरो प्रभाव पार्छ। यदि हामी यस्ता जघन्य अपराधहरू रोक्न चाहन्छौँ भने हाम्रो प्राथमिक कर्तव्य नै हाम्रो आहार र विचारमा शुद्धता ल्याउनु हो।

    अन्ततः, समाज सुधारका लागि व्यक्तिगत परिवर्तन अनिवार्य छ। चेतना र आत्मनियन्त्रणका साथै सही आहार र संस्कारले मात्रै यस्ता घटनाहरूको रोकथाम सम्भव छ। यस्तो भयावह घटना पुनः नदोहरियोस् भन्ने कामना गर्दै, हामी सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार बन्नु आवश्यक छ।

    प्रकाशित : आइतबार, २० माघ २०८१ , ०२:०९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend