logo

सोमबार, १ भाद्र २०८३

सोमबार, भाद्र १ २०८३

बुटवलका वरिष्ठ संगीत गुरु सुरेश सेन्चुरी अष्ट्रेलियाको सिड्नीमा 

बुटवलका वरिष्ठ संगीत गुरु सुरेश सेन्चुरी अष्ट्रेलियाको सिड्नीमा 


  • सोमबार, भाद्र १ २०८३
  • 195
    SHARES

    राधाचाकर, बुटवल । बुटवलका वरिष्ठ संगीतकार, गायक तथा संगीत गुरु सुरेश सेन्चुरी अष्ट्रेलियाको सिड्नीमा यी दिनहरुमा व्यस्त देखिन्छन् । सांगीतिक कार्यक्रमका सिलसिलामा सेन्चुरी आजेभोलि सिडनीमा समय बिताइरहेका छन् । गत १ अगस्त शनिबारका दिन भजन–कीर्तन सङ्कीर्तन कार्यक्रम भव्यसभ्य रुपमा सम्पन्न गरेपछि अब उनी आफ्नो टिमसँग अर्काे सांगीतिक कार्यक्रमको तयारीमा जुटेको जानकारी प्राप्त भएको छ।

    उक्त भजन कीर्तन संकीर्तन श्री पशुपतिनाथ मन्दिर सिड्नीको आयोजनामा सम्पन्न भएको थियो । उक्त धार्मिक तथा सांगीतिक कार्यक्रममा अस्ट्रेलिया बस्दैआएका करिब ७०० जना नेपालीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सिड्नीको श्री कृष्ण मन्दिर, अस्ट्रलमा आयोजना भएको थियो।

    आयोजकका अनुसार भगवान शिवको महिमामा आधारित भजन–कीर्तन मार्फत भक्तिभाव, आध्यात्मिक शान्ति र सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रम नेपाली समुदाय, भक्तजन तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

    बुटवलस्थित बागेश्वरी संगीतालय का संस्थापक सुरेश सेन्चुरी विगत तीन दशकभन्दा बढी समयदेखि नेपाली संगीत क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका वरिष्ठ संगीत साधक हुन्। उनले सयौँ गायक–गायिका, वाद्यवादक, नर्तक तथा संगीतप्रेमीलाई प्रशिक्षण प्रदान गर्नुका साथै दर्जनौँ भजन, आधुनिक, लोक तथा सांस्कृतिक गीतमा संगीत संयोजन र निर्देशन गर्दै नेपाली संगीत क्षेत्रलाई महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

    सिड्नीमा हुने कार्यक्रममा उनले भगवान शिवको आराधनासँग सम्बन्धित भक्तिमय भजन प्रस्तुत गर्नुका साथै नेपाली मौलिक संगीत र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा समेत भूमिका निर्वाह गरेको स्थानीयहरुले प्रतिक्रिया दिएका छन्।

    कार्यक्रमका लागि नेपाली समुदायलाई परिवारसहित उपस्थित भई भक्तिमय वातावरणमा सहभागी हुन आयोजकले हार्दिक निमन्त्रणा दिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति थियो।

    कार्यक्रम सम्बन्धी कुनै पनि जानकारी वा जिज्ञासाका लागि मोहन देव भट्ट, अरुण कुमार ठाकुर, बसन्त राज ओझा, भावना पराजुली, दिपेश बिदुवाल, सुमन न्यौपाने, हिरा कँडेललगायतले सहजीकरण गरेका थिए । “त्यसैगरी, आप्रवासी नेपालीहरूको सहभागितामा गत शनिबार, अगस्त १५ का दिन ‘तीज धमाका नाइट २०२६’ भव्यताका साथ सम्पन्न भएको थियो।”

    सुरेश सेन्चुरीको यस अन्तर्राष्ट्रिय सहभागितालाई बुटवल मात्र नभई समग्र नेपाली संगीत क्षेत्रकै गौरवको विषयका रूपमा लिइएको छ। स्थानीय संगीतकर्मीहरूका अनुसार नेपाली संगीत र संस्कृतिलाई विश्वमञ्चमा परिचित गराउने अभियानमा उनको सहभागिताले नयाँ पुस्तालाई समेत प्रेरणा दिने विश्वास गरिएको छ।

    अगस्त १ मा सम्पन्न कार्यक्रमको शानदार सफलतापछि नेपाली संगीतप्रेमीहरूका लागि सिड्नीमा पुनः विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। ‘सुरेश सेन्चुरी म्युजिकल नाइट– अ गोल्डेन सेलिब्रेसन’ नाम दिइएको उक्त कार्यक्रम आगामी अगस्त १९ गते बुधबार साँझ ६ बजेदेखि आयोजना हुने आयोजकले जनाएको छ। सेन्चुरीसँगको एक संवादमा उनले उक्त सांगीतिक कार्यक्रमको व्यवस्थापनका लागि दौडधुप निकै भइरहेको बताएका छन् ।

    सिड्नीस्थित एभरेस्ट तन्दुरी फङ्सन सेन्टर, ४२२ प्रिन्सेस हाइवे, रकडेल, एनएसडब्ल्यू २२१६ मा हुने कार्यक्रममा प्रकट ब्यान्डका लिड सिङ्गर तथा संगीतकार सुरेश सेन्चुरी ले आफ्ना लोकप्रिय गीत, गजल तथा दर्शक–श्रोताका फरमाइसी गीतहरू प्रस्तुत गर्नेछन्।

    नेपाली सांगीतिक क्षेत्रका अनुभवी गायक तथा संगीतकर्मी सेन्चुरीको प्रस्तुति रहने भएकाले कार्यक्रम नेपाली संगीतप्रेमीहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ। कार्यक्रममा डीजे प्रस्तुति समेत रहनेछ भने सहभागीहरूका लागि डिनरको व्यवस्था पनि गरिएको छ।

    कार्यक्रमको टिकट मूल्य ५० अस्ट्रेलियन डलर निर्धारण गरिएको छ। टिकटमा डिनरसमेत समावेश गरिएको आयोजकले जनाएको छ।

    सिड्नीमा रहेका नेपाली समुदायलाई लक्षित गरी आयोजना हुन लागेको कार्यक्रममा सिड्नीवासी सम्पूर्ण नेपाली तथा संगीतप्रेमीहरूलाई सामाजिक सञ्जालमार्फत निमन्त्रणा गरिएको छ।

    कार्यक्रम सिड्नी केयर ट्रेनिङ, एमडीआई एजुकेसन एन्ड भिसा सर्भिसेज, अन्नपूर्णा भिजन टुर्स एन्ड ट्राभल्स लगायतका विभिन्न संस्थाको प्रायोजन तथा सहयोगमा आयोजना हुन लागेको हो।

    कार्यक्रमका लागि RSVP सम्पर्क नम्बर ०४२३ ०६५ ३४२ रहेको आयोजकले जनाएको छ।

    सेन्चुरीको संगीत यात्रा आफैँमा एक गहन साधना हो । यही साधना सुरेश सेन्चुरीका लागि जीवन-अनुभूतिको साधन बनेको छ । उहाँको व्यक्तिगत विचारअनुसार संगीत जीवनको आधार हो । श्वासप्रश्वास, रक्तप्रवाह र मुटुको धडकनको आफ्नै संगीतमय गति वा चाल छ जसका कारण मानिसको जीवनले गन्तव्यसम्म पुग्न बल पाइरहेको छ । यही बलले गर्भदेखि चिहानसम्मको यात्रालाई गतिशील तुल्याएको छ । जसरी धडकन, रक्तप्रवाह र श्वासप्रश्वासको परस्पर संगती जीवन हो, ठिक त्यसैगरि वाद्ययन्त्र, गायन र नृत्यको तालबद्ध मिलन नै संगीत हो । संगीतलाई कुनै देशको सीमाले छेक्न सक्दैन । कुनै पनि समुदायको परम्पराले संगीतलाई बाँध्ने सामर्थ्य राख्दैन । संगीतलाई उमेरले पनि छेक्दैन । जुनसुकै बेला पनि सामान्य अभ्यासद्वारा गायन, नृत्य वा वाद्यवादन कला प्रष्फुटित हुन सक्छ । यसका लागि गुरु भने असल र निपुण हुनैपर्छ भने संगीत साधकले तनमयतापूर्वक नियमित अभ्यास पनि गर्नुपर्दछ । प्राचीन समयमा संगीतलाई भक्ति र भागवतिक साधनाको प्रमुख साधन मानिन्थ्यो । शिवशिव, राधाराधा, कृष्णकृष्ण, रामराम नामको पुनरावृत्ति अर्थात् नामजाप पनि संगीतकै एक शुद्ध स्वरुप हो । संगीतको महिमा अपरम्पार छ । संगीत भक्ति र साधना मात्रै होइन, भावनालाई जीवन्त बनाउने मूल स्रोत पनि हो । श्रीकृष्णको श्वास बाँसुरीमा प्रवेश गर्दा त्यसबाट मधुर ध्वनि उत्पन्न हुन्छ, यसैगरि संगीत निरन्तर रुपमा तरङ्गित भइरहँदा सारा ब्रहमाण्डले श्वास फेरिरहेको हुन्छ । संगीत गुरु सेन्चुरी थप्दै भन्छन् “यो उमेर संगीत सिक्ने होइन भन्ने मानिसले संगीतको माध्यमले चैतन्य यात्राको बाटो खोल्ने अनन्त सम्भावनालाई नै समाप्त गरिदिन्छन् । दैनिक जीवनमा संगीतको अनिवार्यतालाई आत्मसात् गर्नु नै मानव जीवनको सार्थकता हो।”

    प्रकाशित : सोमबार, १ भाद्र २०८३ , ०५:३५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend