logo

शुक्रबार, २९ साउन २०८३

शुक्रबार, साउन २९ २०८३

झापामा जापानिज इन्सेफ्लाइटिसबाट पाँच जनाको मृत्यु, ९ जनामा संक्रमण पुष्टि

झापामा जापानिज इन्सेफ्लाइटिसबाट पाँच जनाको मृत्यु, ९ जनामा संक्रमण पुष्टि


  • शुक्रबार, साउन २९ २०८३
  • 65
    SHARES

    झापा । जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमणका कारण झापामा पाँच जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा संक्रमण पुष्टि भएका नौ जनामध्ये पाँच जनाको मृत्यु भएको हो।

    मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन्। जिल्लाका विभिन्न स्थानीय तहका नौ जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको थियो। संक्रमितमध्ये पाँच जनाको मृत्यु, एक जना उपचाररत र तीन जना उपचारपछि डिस्चार्ज भएका छन्।

    स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार पछिल्लो चार महिनामा जिल्लामा जेई संक्रमणका कारण पाँच जनाको मृत्यु भएको हो।

    स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार २०८३ वैशाखदेखि हालसम्म देशका २१ जिल्लामा जापानिज इन्सेफ्लाइटिस संक्रमण पुष्टि भएको छ। संक्रमणका कारण झापामा पाँच जनासहित धनुषा, सुनसरी, मोरङ, इलाम, रौतहट, पर्सा, काभ्रे र दाङमा एक–एक जनाको मृत्यु भएको जनाइएको छ।

    कोशी प्रदेशमा सबैभन्दा बढी २४२ जनामा जेई संक्रमण पुष्टि भएको छ। त्यस्तै बागमती प्रदेशमा १५७, लुम्बिनीमा १०४, मधेशमा ९६, सुदूरपश्चिममा ८७ र कर्णालीमा ६४ जनामा संक्रमण पुष्टि भएको छ।

    जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातका संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो। संक्रमण गम्भीर अवस्थामा पुगेमा मस्तिष्कमा असर पार्न सक्छ।

    विश्व स्वास्थ्य संगठनका अनुसार जेईका कारण गम्भीर बिरामी भएका व्यक्तिमध्ये करिब एकतिहाइको मृत्यु हुन सक्छ। संक्रमणबाट बाँचेकामध्ये पनि करिब आधामा दीर्घकालीन तथा गम्भीर स्नायुसम्बन्धी समस्या वा अपांगता देखिन सक्ने जोखिम हुन्छ।

    जापानिज इन्सेफ्लाइटिसबाट कसरी बच्ने ?

    स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको टोकाइबाट जोगिनुका साथै नियमित खोप कार्यक्रममा सहभागी भएर जेईविरुद्धको खोप लगाउन आग्रह गरेका छन्। जोखिम कम गर्न निम्न सावधानी अपनाउन सकिन्छ:

    • जेईविरुद्धको खोप लगाउने र बालबालिकाको नियमित खोप तालिका पूरा गर्ने।
    • साँझदेखि बिहानसम्म लामखुट्टेको टोकाइबाट विशेष सावधानी अपनाउने।
    • सुत्दा झुल प्रयोग गर्ने, विशेषगरी बालबालिकालाई झुलभित्र सुताउने।
    • लामखुट्टे भगाउने रिपेलेन्ट, क्रीम वा अन्य सुरक्षित साधन प्रयोग गर्ने।
    • घरका झ्याल–ढोकामा जाली लगाउने र सम्भव भएसम्म शरीर ढाकिने कपडा लगाउने।
    • घरवरिपरि पानी जम्ने ठाउँ हटाई लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने।
    • पशुपन्छी तथा घरपालुवा जनावरको बसोबास क्षेत्र वरिपरि सरसफाइमा विशेष ध्यान दिने।
    • ज्वरोसँगै टाउको दुख्ने, बान्ता हुने, झट्का आउने, बेहोस हुने, अलमलिने वा चेतनामा परिवर्तन आउने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।

    स्वास्थ्य अधिकारीहरूले जेईबाट बच्न व्यक्तिगत सावधानीसँगै समुदायस्तरमा लामखुट्टे नियन्त्रण र सरसफाइमा ध्यान दिन तथा सरकारले सञ्चालन गर्ने खोप अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन्।

    प्रकाशित : शुक्रबार, २९ साउन २०८३ , ०६:३५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend