चितवन । बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा एकाइ, चितवन मा खकार परीक्षण तथा एचआइभी, एचसिभी र भाइरल लोड परीक्षणबाहेकका अधिकांश स्वास्थ्य परीक्षण सेवा बन्द भएका छन्।
प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा खरिद गरिएका प्रयोगशाला सामग्री सकिएको तथा चालु आर्थिक वर्षका लागि आवश्यक सामग्री हालसम्म उपलब्ध नभएपछि गत साउन २६ गतेदेखि सेवा प्रभावित भएको हो।
प्रयोगशाला सेवा बन्द भएको जानकारी सेवाग्राहीलाई दिन सूचना जारी गरिएको प्रयोगशालाका सूचना अधिकारी रमेशसिंह डोवालले बताउनुभयो। उहाँका अनुसार नयाँ सामग्री खरिदको प्रक्रिया अघि बढिरहेको भए पनि आवश्यक सामग्री समयमै उपलब्ध हुन नसकेपछि सेवा सञ्चालनमा कठिनाइ भएको हो।
दैनिक एक सयभन्दा बढी सेवाग्राही प्रभावित
चितवनस्थित उक्त प्रयोगशालाबाट विभिन्न प्रकारका स्वास्थ्य परीक्षण हुँदै आएको थियो। सूचना अधिकारी डोवालका अनुसार यहाँ दैनिक एक सयभन्दा बढी सेवाग्राहीले विभिन्न स्वास्थ्य परीक्षण सेवा लिँदै आएका थिए।
अन्य निजी तथा विभिन्न स्वास्थ्य संस्थाको तुलनामा सस्तो र विश्वसनीय सेवा उपलब्ध हुने भएकाले प्रयोगशालामा सेवाग्राहीको चाप उल्लेख्य रहने गरेको उहाँले बताउनुभयो।
“यहाँ आउने बिरामीले सेवा सस्तो र विश्वासिलो भएको बताउनुहुन्छ। अहिले सेवा बन्द हुँदा बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था आएको छ,” डोवालले भन्नुभयो।
उहाँका अनुसार प्रयोगशालामा रहेका सामग्री क्रमशः सकिँदै गएपछि केही परीक्षण सेवा पहिले नै बन्द हुँदै आएका थिए। पछिल्लो समय बाँकी सामग्रीसमेत सकिएपछि अधिकांश सेवा पूर्णरूपमा रोक्नुपर्ने अवस्था आएको हो।
खरिद प्रक्रिया अघि बढे पनि सामग्री कहिले आउने निश्चित छैन
प्रयोगशालाले आवश्यक सामग्री खरिदका लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ। तर खरिद प्रक्रिया पूरा भएर सामग्री प्रयोगशालामा नआएसम्म नियमित सेवा सञ्चालन गर्न कठिन हुने देखिएको छ।
सस्तो शुल्कमा गुणस्तरीय परीक्षण सेवा उपलब्ध गराउँदै आएको सरकारी प्रयोगशालामा सामग्री अभावका कारण सेवा रोकिँदा सर्वसाधारण सेवाग्राही निजी प्रयोगशाला वा अन्य स्वास्थ्य संस्थामा परीक्षण गराउन बाध्य भएका छन्। यसबाट आर्थिक रूपमा कमजोर बिरामीलाई थप आर्थिक भार पर्ने अवस्था सिर्जना भएको छ।
२०८० असारदेखि सञ्चालनमा आएको थियो सेवा एकाइ
चितवनमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा एकाइ २०८० असार १६ गतेदेखि सञ्चालनमा आएको थियो। बागमती प्रदेशका तत्कालीन स्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य उत्तम जोशीले सेवा एकाइको सञ्चालन शुभारम्भ गर्नुभएको थियो।
सरकारी तहबाट तुलनात्मक रूपमा सस्तो र विश्वसनीय प्रयोगशाला परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको सेवा एकाइबाट चितवन तथा आसपासका सेवाग्राही लाभान्वित हुँदै आएका थिए।
हाल सामग्री अभावका कारण सेवा प्रभावित भएपछि प्रयोगशालाले आवश्यक सामग्री शीघ्र उपलब्ध गराई नियमित परीक्षण सेवा सञ्चालनमा ल्याउनुपर्ने माग सेवाग्राहीबाट उठ्न थालेको छ।
खकार परीक्षण तथा एचआइभी, एचसिभी र भाइरल लोड परीक्षण भने सञ्चालनमा रहेको जनाइएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
