logo

आइतबार, ३१ साउन २०८३

आइतबार, साउन ३१ २०८३

रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको ‘तिज धमाका नाइट २०२६’ भव्य रूपमा सम्पन्न

रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको ‘तिज धमाका नाइट २०२६’ भव्य रूपमा सम्पन्न

वरिष्ठ संगीतकार सुरेश सेन्चुरी सम्मानित


  • आइतबार, साउन ३१ २०८३
  • 195
    SHARES

    राधाचाकर, बुटवल  । रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले आयोजना गरेको यस वर्षको तिज विशेष कार्यक्रम ‘तिज धमाका नाइट २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। शनिबार, अगस्ट १५ मा सिड्नीको अबर्नस्थित ग्र्याण्ड प्यालेसमा आयोजित कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

    सन् २०१५ मा सिड्नीमा स्थापना भएको रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले हरेक वर्ष तिजको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्षको कार्यक्रममा नेपालबाट आएका चर्चित पप तथा आधुनिक गायक प्रताप दास र लोकप्रिय लोकदोहोरी गायिका तथा प्रस्तोता मञ्जु पौडेलको विशेष सांगीतिक प्रस्तुति रहेको थियो। उनीहरूको प्रस्तुतिले उपस्थित दर्शक–श्रोतालाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो।

    करिब ३०० भन्दा बढी नेपाली दर्शक तथा श्रोताको सहभागिता रहेको कार्यक्रममा नेपाली मौलिक संस्कृति, संगीत र मनोरञ्जनको संयोजन देखिएको थियो। कार्यक्रममा डीजे सुरेनले समेत आकर्षक सांगीतिक प्रस्तुति दिँदै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रमको फोटोग्राफी सुरेन श्रेष्ठले गरेका थिए।

    वरिष्ठ संगीतकार सुरेश सेन्चुरी सम्मानित

    कार्यक्रमको विशेष आकर्षणका रूपमा नेपाली संगीत क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि योगदान पुर्‍याउँदै आउनुभएका वरिष्ठ संगीतकार, गायक तथा संगीत प्रशिक्षक (गुरु) सुरेश सेन्चुरीलाई विशेष सम्मान गरिएको थियो।

    नेपाली संगीत, संगीत शिक्षा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उहाँले पुर्‍याउनुभएको दीर्घकालीन योगदानको उच्च कदर गर्दै संस्थाकी अध्यक्ष रञ्जिता भण्डारी, एनआरएनए एनएसडब्ल्यु संयोजक उषाकिरण बारिया पोख्रेल तथा समाजसेवी विष्णु हमालले संयुक्त रूपमा उहाँलाई सम्मान गर्नुभएको थियो।

    सयौँ गीतमा संगीत सिर्जना गर्नुका साथै हजारौँ विद्यार्थीलाई संगीत शिक्षा प्रदान गर्दै नेपाली संगीत क्षेत्रमा नयाँ पुस्ता निर्माणमा पुर्‍याएको योगदानका लागि सेन्चुरीलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

    ‘संगीत प्रभाकर’देखि नेपाली संगीतको लामो यात्रा

    वि.सं. २०४६ सालदेखि जनचेतनामूलक गीत–संगीत तथा सांस्कृतिक कार्यक्रममार्फत आफ्नो सांगीतिक यात्रा सुरु गर्नुभएका सेन्चुरीले भारतीय शास्त्रीय संगीतको औपचारिक अध्ययनसमेत गर्नुभएको छ। भारतको प्रयाग संगीत समिति, इलाहाबादबाट उहाँले छ वर्षे ‘संगीत प्रभाकर’ तहको शास्त्रीय संगीत शिक्षा पूरा गर्नुभएको हो।

    सन् १९९५ मा प्रकट ब्याण्डका संस्थापक सदस्य बन्नुभएका सेन्चुरीले सन् १९९६ मा सार्वजनिक भएको ‘प्रकट एल्बम–१’ मार्फत नेपाली संगीत क्षेत्रमा व्यापक पहिचान बनाउनुभएको थियो।

    त्यसपछि उहाँ संगीत सिर्जना, गायन र संगीत शिक्षाका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ।

    बागेश्वरी संगीतालयमार्फत हजारौँ विद्यार्थीलाई संगीत शिक्षा

    सन् १९९९ मा बागेश्वरी संगीतालय स्थापना गरी सेन्चुरीले पश्चिम नेपालमा संगीत शिक्षाको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ। संगीतालयमार्फत उहाँले हजारौँ विद्यार्थीलाई संगीत प्रशिक्षण दिनुका साथै नेपाली संगीत क्षेत्रमा थुप्रै कलाकार उत्पादन गर्नुभएको छ। बागेश्वरी संगीतालयको व्यवस्थापन पक्ष सहकर्मीहरुलाई सुम्पिएर हाल उहाँ आफ्नै एकल स्वामित्वमा  शुक्रपथ बुटवल-८ मा रागश्री संगीतालय सञ्चालन गर्दै हुनुहुन्छ ।

    उहाँले ३० भन्दा बढी गीतमा स्वर दिनुभएको छ भने ५०० भन्दा बढी गीतमा संगीत सिर्जना गर्नुभएको छ। उहाँसँग जोडिएका चर्चित एल्बममा शुभेच्छा, सृजना, बैमानी, द पल्स, नानीमेरो हजुर लगायत रहेका छन्।

    त्यसैगरी लण्डन नेपाली, पागल प्रेम, तिम्रो मायामा, कैदीको पत्रढाक्रे दाइ लगायत चलचित्रमा उहाँले संगीत निर्देशन गर्नुभएको छ।

    स्थानीय पहिचानदेखि वातावरण संरक्षणसम्म संगीत सिर्जना

    सेन्चुरीले संगीतलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी सामाजिक चेतना र स्थानीय पहिचानसँग समेत जोड्दै आउनुभएको छ।

    उहाँले तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका, गैडहवा गाउँपालिका तथा शुद्धोधन गाउँपालिकाका नगर/गाउँपालिका गान सिर्जना गर्नुभएको छ। वातावरण संरक्षणसम्बन्धी विभिन्न चेतनामूलक गीतसमेत उहाँले सिर्जना गर्नुभएको छ।

    संगीत शिक्षाको क्षेत्रमा समेत सक्रिय उहाँले संगीतसम्बन्धी पाठ्यक्रममा आधारित पुस्तक लेख्नुभएको छ।

    स्वदेश तथा विदेशका चर्चित कलाकारसँग सहकार्य

    सेन्चुरीले नेपाल तथा भारतका थुप्रै चर्चित कलाकारसँग सांगीतिक सहकार्य गर्नुभएको छ। भारतीय कलाकार कुमार सानु, साधना सरगम र सञ्जीवनीसँगै नेपाली कलाकार राजेश पायल राई, रामकृष्ण ढकाल, कर्ण दास, प्रताप दास, अञ्जु पन्त, आनन्द कार्की, लोचन भट्टराई, मिलन नेवार, राजु परियार, विष्णु माझी, कुलेन्द्र बी.के. र प्रविशा अधिकारी लगायतसँग उहाँले काम गर्नुभएको छ।

    उहाँका शिष्यहरूमध्ये तेरिया फौन्जा मगरले Dance India Dance Little Masters Season 3 को उपाधि जितेर अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चिनाउन सफल भएकी छन्। यस उपलब्धिलाई पनि सेन्चुरीको संगीत प्रशिक्षण यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ।

    कार्यक्रममा पूर्वअध्यक्षहरूको समेत सहभागिता

    कार्यक्रममा रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाका पूर्वअध्यक्षहरू राज खनाल, ईश्वर पोख्रेल, कृष्ण गैरे, मुक्ति पोख्रेल र दिवाकर काफ्ले लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रमको औपचारिक सञ्चालन संस्थाका महासचिव कमल चापागाईंले गर्नुभएको थियो।

    कलाकारलाई मायाको चिनो

    कार्यक्रमको समापनमा आयोजक रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दर्शक, श्रोता, समाजसेवी, सहयोगी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको थियो।

    साथै नेपालबाट कार्यक्रममा सहभागी कलाकार प्रताप दास र मञ्जु पौडेललाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

    रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले प्रवासमा रहेर पनि नेपाली मौलिक संस्कृति, चाडपर्व र संगीतको संरक्षण तथा नयाँ पुस्तासम्म नेपाली सांस्कृतिक पहिचान पुर्‍याउने उद्देश्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

    सुरेश सेन्चुरीलाई गरिएको सम्मानले नेपाली संगीतमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका स्रष्टा तथा संगीत शिक्षकमध्ये उहाँको योगदानलाई प्रवासमा समेत उच्च मूल्याङ्कन गरिएको सन्देश दिएको छ। सेन्चुरी बिगत १८ दिनदेखि विविध सांगेतिक कार्यक्रमको सिलसिलामा अष्ट्रेलियामा हुनुहुन्छ ।

    प्रकाशित : आइतबार, ३१ साउन २०८३ , ०३:४४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend