राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ मूल समारोह समिति गठन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा गृह मन्त्रालयको प्रस्तावअनुसार मूल समारोह समिति र विभिन्न उपसमिति गठन गरिएको हो। बैठकले विभिन्न कार्यक्रमहरूलाई छलफल गरी भव्य रूपमा प्रजातन्त्र दिवस मनाउने निर्णय पनि गरेको छ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री एवं राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिवहरू, विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा काठमाडौं उपत्यकाभित्रका नगरप्रमुखहरू सदस्य रहनेछन्। प्रधानमन्त्रीको सचिवालयले यस जानकारी दिएको छ।

यसैगरी, प्रचारप्रसार, मञ्च सजावट, ग्राउण्ड कवाज तथा व्यायाम व्यवस्थापन, सांस्कृतिक झाँकी व्यवस्थापन, सांस्कृतिक विविधता प्रदर्शन व्यवस्थापन जस्ता उपसमिति गठन गरिएको छ। साथै, सातै प्रदेशमा मुख्यमन्त्रीहरूको अध्यक्षतामा प्रदेशस्तरीय समारोह समिति गठन गरी विभिन्न कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरिएको छ।

वि.सं. २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष फागुन ७ गते यो दिवस मनाइन्छ। यस वर्ष फागुन ६, ७ र ८ गते तीन दिनसम्म नेपाल र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा दीपावली गर्ने तथा फागुन ७ गते नेपाली सैनिक मञ्च टुँडिखेलमा मुख्य कार्यक्रम आयोजना गरिनेछ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतामाथि दमन गर्ने, हेपाहा प्रवृत्ति देखाउने निरङ्कुशता र प्रतिगमनलाई नेपाली जनताको बलिदानी संघर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तरमा समेत व्यापक रूपमा मनाउन आग्रह गरे।

“यो दिवसलाई केवल माथिबाट आएको आदेश–निर्देशका भरमा औपचारिक रूपमा मात्र मनाउनु हुँदैन। यसलाई जनताको कार्यक्रम बनाउँदै तयारी गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “मुलुकमा सबैभन्दा ठूलो परिवर्तन ल्याउने यो दिवसलाई भव्य रूपमा मनाउनुपर्छ। प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक व्यवहार हुन सक्दैन।”

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.