logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा


  • मंगलबार, माघ २९ २०८१
  • 1K
    SHARES

    मुस्ताङ – लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने ऐतिहासिक लुरी गुम्बा प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ। करिब आठ सय वर्ष पुरानो गुफाभित्र रहेको यस गुम्बा संरक्षणको पर्खाइमा रहेको छ।

    समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा रहेको लुरी गुम्बा तान्त्रिक बौद्ध धर्मसँग सम्बन्धित निङ्मापा सम्प्रदायअन्तर्गत १२औँ शताब्दीमा निर्मित भएको बताइन्छ। गुम्बाका भित्तेचित्रहरू पन्ध्रौँ शताब्दीमा बनेका हुन्। गुम्बाका प्रमुख आकर्षणमा प्राकृतिक रूपमा बनेको छोर्तेन, भित्तेचित्र, पुराना थाङ्का, धार्मिक पुस्तकहरू, र पद्मसम्भवको मूर्ति रहेका छन्।

    गुम्बामा पुग्न गोरेटो र सिँढी हुँदै पहाडको बीच भागमा रहेका तीनवटा गुफाहरू पार गर्नुपर्छ। प्रवेशमार्गमा काठको भर्याङ राखिएको छ भने गुम्बाको मुख्य भाग पहराभित्रको गुफामा अवस्थित छ। स्थानीय किंवदन्तीअनुसार गुम्बा तत्कालीन ल्होका राजाले आफ्नी भुटानी रानीलाई खुसी पार्न बनाएको मानिन्छ। अर्को किंवदन्तीअनुसार यारागाउँका कुन्छाङ झलु लामाले यहीँ तपस्या गरेर ज्ञान आर्जन गरेको विश्वास गरिन्छ।

    लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको चराङबाट ध्यखोला, ध्ये, सुर्खाङ, यारा हुँदै एक घण्टाको सवारी यात्रापछि घारागाउँ पुगिन्छ। त्यहाँबाट करिब २० मिनेट पैदलयात्रा गरेपछि लुरी गुम्बा पुग्न सकिन्छ। लोमान्थाङबाट लुरी सर्किट पदमार्ग प्रयोग गरेर पनि यहाँ जान सकिन्छ।

    गाउँपालिका र गण्डकी प्रदेश सरकारले गुम्बा पुग्ने बाटो सुधार गर्न पहल गरेका छन्। करिब ३० लाख रुपैयाँको बजेटमा तीन सय मिटर पक्की पदमार्ग निर्माण गरिएको छ। यस वर्ष सार्वजनिक शौचालय निर्माणका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ। स्थानीयवासीहरू गुम्बाको प्रचारप्रसार र संरक्षणका लागि सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छन्।

    प्रकाशित : मंगलबार, २९ माघ २०८१ , ०१:२३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend